उपत्यकामा हर्न कारवाही : एकैदिन एक सय एकहत्तर सवारीसाधन कारवाहीमा

उपत्यकामा हर्न कारवाही : एकैदिन एक सय एकहत्तर सवारीसाधन कारवाहीमा
फाइल फोटो ।

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १३, २०७५

काठमाडौं । ट्राफिक प्रहरीले जथाभावी रूपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीर रूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको हो । महाशाखाले आइतबार मात्र १७१ सवारीसाधनलाई कारवाही गरेको छ । 

ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिएको हो । 

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरानाक घुम्तीबाहेक अन्य स्थानमा हर्न पूर्ण रूपमा निषेध गरिएको जानकारी दिनुभयो । ‘ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन अनुरोधसमेत गरेका छौँ,’ उहाँले भन्नुभयो । यसअघि उपत्यकामा विसं २०७४ वैशाख १ देखि उपत्यकालाई हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो । उक्त घोषणा धेरैमात्रामा लागू भए पनि पूर्ण रूपमा भने लागू भएको छैन । 

महाशाखाले हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने ३० हजार ४६८ सवारीसाधनलाई कारवाही गरिसकेको छ । महाशाखाले ध्वनि प्रदूषण गरेबापत एउटा सवारीसाधनबाट  ५०० रूपैयाँ कारवाहीस्वरूप लिँदै आएको खबर राससमा छ ।