खाना खान जानेका तर महत्त्व नबुझेका हामी

खाना खान जानेका तर महत्त्व नबुझेका हामी

निर्जला कक्षपति  |  दृष्टिकोण  |  पुष २९, २०७६

नेपाली खाना संसारकै उत्कृष्ट खानाभित्र पर्छ भन्दा कुनै फरक नपर्ला । दाल, भात, तरकारी, अचार नेपालीको प्रमुख भोजन हो । यसबाहेक चाडबाड र विभिन्न जातजातिअनुसार विभिन्न खाना नेपालीहरूले खाने गर्छन् ।

साँझ–बिहान खाने दाल, भात, तरकारीकै कुरा गर्ने हो भने हाम्रो शरीरलाई चाहिने कार्बोहाइड्रेट, प्रोटिन, फोसफोरस, आइरनलगायतका तत्त्वहरू हाम्रो खानामा प्रशस्त मात्रामा पाइने गर्छ । साँझ–बिहानको रूपमा खाइने खाना पौष्टिक तत्त्वले भरिपूर्ण त छँदै छन्, स्वादिस्ट पनि उत्तिकै छन् ।

रह्यो, यो खानालाई कति मिहिनेत, समय र शुद्धता अपनाएर पकाउने गरिन्छ र हामीले कति पौष्टिक खानेकुरा खान पाएका छौँ भन्ने कुरा ।

पहिले पहिले ढिकीले कुटेको चामल हाम्रो भान्सामा पाक्ने गथ्र्यो । ढिकीले कुटेको चामल स्वास्थ्यवद्र्धक र खाँदा स्वादिष्ट त हुने नै भयो, कार्बोहाइड्रेट पनि प्रशस्त पाइन्छ यसमा । अहिले यो ढिकीले कुटको चामल सहज पाइँदैन । पाइहाले पनि महँगो हुने भएकाले सर्वसाधारणले यस्तो चामलको भात खान सक्दैनन् ।

त्यसैले हाम्रो भान्सामा हिजोआज छिमेकी देशबाट आयातीत पोलिस लगाएको चामल पाक्ने गर्छ । किनभने बजारमा यही चामल नै सर्वसुलभ छ । त्यसैले अर्थशास्त्रको नियमअनुसार पनि बजारमा जुन कुरा सर्वसुलभ उपलब्ध हुन्छ, उपभोक्ताले त्यही नै बढी माग गर्ने गर्छन् र उपभोग पनि बढी हुने गर्छ ।

छिमेकी देशबाट आयात हुने चामलमा शुद्धता कति छ भन्ने प्रश्न अहं हो । किनभने प्लास्टिकको चामल बनाएर चामलमा मिसाइँदै गरेको भिज्युअल युट्युबबाट सार्वजनिक भइसकेका छन् ।

यसैगरी हाम्रो प्रिय खाना दाल, भात, तरकारीमा दाल प्रोटिनयुक्त हुन्छ । शरीरको विकासका लागि प्रोटिन नभई नहुने तत्त्व हो । दालमा पनि पोलिस लगाइएको हुन्छ । यस्ता पोलिस लगाइएका दाल खाँदा हाम्रो शरीरलाई पचाउन पनि गाह्रो हुन्छ भने प्रोटिन पाउने आसमा उल्टै यस्तो दालले शरीरमा बेफाइदा पुर्‍याइरहेको हुन्छ । त्यसैले पोलिस नलगाएको दाल किन्दा उत्तम हुने गर्छ ।

तरकारी थरिथरिका हुन्छन् । आफ्नो बारीमा आफैँ मिहिनेत गरेर तरकारी फलाउन सके त त्योभन्दा उत्तम अरू के नै हुन सक्छ र ? हरियो साग र तरकारीमा आइरन, फोसफारेस र मिनरल्स प्रशस्त मात्रामा पाइन्छ । हरियो सागलाई किटको कराहीमा पकाएर खान सके प्रशस्त मात्रामा आइरन प्राप्त हुन्छ ।

हाम्रा खाना कति स्वादिष्ट र पौष्टिक छन् भन्नेबारे । नेवार समुदायमा खाने गरेको भोज निकै पौष्टिक तत्त्वले भरिपूर्ण हुन्छ । भोजमा चिउरासँग खाइने गरेको गेडागुडी, मासु, अचार, अदुवा, लसुन, भटमास, हरियो तोरीको साग सबै खाँदा पनि उतिकै स्वादिष्ट अनि पौष्टिक तत्त्वले भरिपूर्ण छन् ।तर, विडम्बना, हामीकहाँ अत्यधिक मात्रामा तरकारीमा बिषादी प्रयोग हुने गरेका तथ्यहरू फेला पर्दै आएका छन् ।


अब चर्चा गरौँ, हाम्रा खाना कति स्वादिष्ट र पौष्टिक छन् भन्नेबारे । नेवार समुदायमा खाने गरेको भोज निकै पौष्टिक तत्त्वले भरिपूर्ण हुन्छ । भोजमा चिउरासँग खाइने गरेको गेडागुडी, मासु, अचार, अदुवा, लसुन, भटमास, हरियो तोरीको साग सबै खाँदा पनि उतिकै स्वादिष्ट अनि पौष्टिक तत्त्वले भरिपूर्ण छन् ।तर, विडम्बना, हामीकहाँ अत्यधिक मात्रामा तरकारीमा बिषादी प्रयोग हुने गरेका तथ्यहरू फेला पर्दै आएका छन् । तरकारीमा प्रयोग गरिएको बिषादीले हाम्रो शरीरमा अनेकौँ डरलाग्दा घातक रोगहरू लाग्न सक्ने तर्क डाक्टरहरूले दिँदै आएका छन् । त्यसैले हामीले खाने खाना विश्वमै उत्कृष्ट हुँदाहुँदै पनि शुद्ध खान नपाएर मानिसहरू दिन प्रति दिन रोगी हुँदै गएका छन् ।

बारा, मासको दाल भिजाएर त्यसलाई पिसेपछि बनाइन्छ । यो पनि त्यतिकै स्वादिष्ट र प्रोटिनयुक्त हुन्छ । भोज खाँदा अन्त्यमा लप्सीको अमिलो झोल खानुपर्छ । यो अन्त्यमा खानुको पनि अर्थ छ । खाएका सबै कुराहरू शरीरमा पचून् भन्ने उद्देश्यले भोजको अन्त्यमा लप्सीको अमिलो झोल खानुपर्ने हुन्छ । यसैगरी लाखम्हरी खाने चलनसमेत हुन्छ । यसरी नेवारी खाना हेर्दा पनि पोषणले भरिपूर्ण हुन्छ ।

विभिन्न चाडबाडअनुसार विभिन्न खाना खाने प्रचलन पनि हामीकहाँ छ । जनै पूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । टुसा उमारेको क्वाँटीको आफ्नै महत्त्व छ र यस्तो क्वाँटी खाँदा शरीरलाई निकै फाइदा पुर्‍याउँछ । पहिले पहिले नेवारी समुदायले मात्र क्वाँटी खाने गरेका भए पनि हिजोआज सबै जातजातिका व्यक्तिहरू क्वाँटी खान मनपराउँछन् र खाने गर्छन् पनि ।

यसैगरी धान्यान्चल पूर्णिमाका दिन नयाँ धान कुटेर योमरी खाने प्रचलन हुन्छ । योमरी पनि उतिकै स्वादिष्ट र आइरनले भरिपूर्ण हुन्छ । चामलको पिठोबाट बनाइने भएकाले कार्बोहाइड्रेट प्रशस्त मात्रामा पाइन्छ ।

योमरीभित्र राखिने चाकुमा प्रशस्त मात्रामा आइरन र ग्लुकोज प्राप्त हुन्छ । त्यसैले चाकु खाएपछि शक्ति प्राप्त हुन्छ ।

माघे संक्रान्तिका दिन खाइने घीउ, चाकु र तिलौराको लड्डुको उत्तिकै महत्त्व छ । तिलौराको लड्डु खाँदा प्रोटिन पनि प्राप्त हुन्छ भने आइरन पनि उतिकै प्राप्त हुन्छ । शरीरमा आइरन प्राप्त हुने भएकाले होला, सुत्केरी अवस्थामा समेत डाक्टरहरू प्रशस्त चाकु खान सल्लाह दिने गर्छन् ।

यसरी हेर्दा हाम्रा चाडबाडअनुसारका खानाहरू समेत निकै पौष्टिक तत्त्वले भरिपूर्ण छन् । परंपरागत रूपमा हामीले खाँदै आएको खानालाई मात्र हामीले जोगाड गर्न सके र पकाउने बेलामा शुद्धता अपनाउन सके आइरन ट्याबलेट र भिटामिनहरू किनेर खान जरुरत पर्दैन ।