गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण गरिने

गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण गरिने

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष २९, २०७६

म्याग्दी । गण्डकी प्रदेशले प्रदेशअन्तर्गतका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण अभियान  थालेको छ । 

स्थानीय तहमा विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्य तथा पर्यटकको आवागमलाई थप सहज बनाउने ध्येयले ‘हेलिप्याड’ निर्माणको अभियान थालिएको जनाइएको छ ।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशका सबै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण गरिने जानकारी दिनुभयो । सबै स्थानीय तहमा एक–एक वटा हेलिप्याड निर्माण गर्ने योजनासहित प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल थालेको उहाँले बताउनुभयो ।

मन्त्री लम्सालका अनुसार प्रदेश सरकारले म्याग्दी, गोर्खा, मनाङ र मुस्ताङमा हेलिप्याड निर्माण गर्न आर्थिक वर्ष २०७५र७६ को बजेटमा करिब आठ लाख रुपैयाँ विनियोजन गरेको छ । यी चारै जिल्लामा चालु आवभित्रै हेलिप्याड निर्माण गरिसकिने छ ।

हेलिप्याड निर्माणपछि आकस्मिक बिरामी र दुर्घटनाका घाइतेलाई तत्कालै उद्धार गरी अस्पतालसम्म पुर्‍याउन तथा पर्यटकीय क्षेत्रमा पर्यटकलाई आवतजावत गर्न सहज हुने छ । चालु आवमा सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्न पर्याप्त बजेट विनियोजन नभए पनि स्थानीय तहहरूसँग छलफल गरी आगामी आवमा यथेष्ट बजेट विनियोजन गरिने उहाँले जानकारी दिनुभयो ।