पेसाकर्मीहरूको विश्वसनीयतामाथि उठेका प्रश्नहरू

समाज रुपान्तरण र  पेशाकर्मीहरुको दायित्व  

नेपाल र नेपाली समाज रूपान्तरणको प्रक्रियामा जुटिरहेको छ । रूपान्तरणको यो जटिल प्रक्रियामा जुटिरहँदा हामीले धेरै किसिमका समस्या र जटिलताहरू भोगिरहेका छौँ । कतिपय समस्याहरू हामीले हिजोदेखि अनुभव र अनुभूत गरेका थियौँ भने कतिपय नयाँ समस्याहरू आज अनुभव गरिरहेका छौँ ।

यद्यपि, ती समस्याहरू रूपान्तरणको प्रक्रियामा नयाँ निर्माण भएका पनि होलान् अथवा ती समस्याहरू अहिले मात्र पहिचान गरेर नयाँ जस्तो लागेका पनि होलान् ।

जे होस्, हिजोदेखि जम्मा भएका समस्याहरू र आज देखापरेका थुप्रै समस्याहरूसँग जुध्दै हामी नयाँ समाज निर्माणको प्रक्रियामा लागिरहेका छौँ । स्पष्ट छ, समाज निर्माण हामी सबैको दायित्वभित्रको कुरा हो । यो प्रक्रियामा हामी सबैको कुनै न कुनै भूमिका पक्कै पनि रहेको हुन्छ ।

यति हुँदाहुँदै पनि यो विडम्बना जस्तै भइरहेको छ । आफ्नो जिम्मेवारीबोधको कुरा गर्दै नगर्ने, गरे पनि एकदमै कम गर्ने । तर, सबैभन्दा बढी समय हामी अरूले जिम्मेवारी पूरा नगरेको भनी आलोचना गरेर बिताउने गरेका छौँ । अर्थात् हामीमा अरूलाई मात्र बढी ‘दोषी’ देख्ने मानसिकता हावी हुन थालेको हो कि भन्ने अनुभूति बढी नै हुन थालेको छ ।

विशेष गरेर अहिले राज्य संचालन गर्ने राजनीतिक शक्ति र त्यो राजनीतिक शक्तिसँग जोडिएका व्यक्तिहरू आलोचनाको केन्द्रबिन्दुमा पर्नेे गरेका छन् र परिरहेका छन्  । यो स्वाभाविक पनि हो । समाज निर्माणका लागि राज्य संचालनको दायित्व लिएर र जनतालाई त्यो दायित्व पूरा गर्ने बचन दिएर राज्य संचालनको ठाँउमा पुग्नेहरूको विशेष जिम्मेवारी त हुन्छ नै । आफ्नो दायित्व पूरा गर्न सकेनन् भने वा दायित्व पूरा गर्ने दिशाबाट विचलित भए भने तिनीहरू आलोचित हुनै पर्छ । त्यसमा कुनै दुविधा वा प्रश्न नै छैन ।

तर, सवाल के हो भने समाज निर्माण र विकासको प्रक्रियामा विभिन्न भूमिका भएको समाजका अन्य पात्रहरूको दायित्व र भूमिकाबारे भने हामी किन मौनता साँधिरहेका छौँ ? सर्वत्र प्रश्न उठिरहेका छन् ।

त्यसैले अहिले यहाँ यतिखेर कुनै राजनीतिक संगठन, चाहे त्यो सत्तामा भएका हुन् वा सत्ताबाहिर भएका हुन्, राजनीतिक संगठनमा आबद्ध नेता, कार्यकर्ताहरू अथवा विभिन्न पदका व्यक्तिहरूको मात्र होइन । समाजका क्रियाशील अन्य आमपात्रहरू, त्यसमा पनि विशेष गरेर पेसागत व्यक्तिहरूको पेसाधर्मिता र दायित्वका बारेमा पनि चर्चा गर्न हामी हिच्किचाइरहेका हुन्छौँ ।

अब पेसागत व्यक्तिहरूको भूमिका र कर्तव्यका बारेमा चर्चा गर्ने बेला आइसकेको छ । समय आएको मात्र होइन, यस विषयमा चर्चा गर्न ढिला भइसकेकोे अवस्था छ । एउटा सानो उदाहरणबाट हेरौँ ।

बर्सेनि सडक दुर्घटनामा हजारौँ नेपालीहरूले जीवन गुमाइरहेका छन् वा अंगभंग भइरहेका छन् । हाम्रा सडकहरू सुरक्षित छैनन् । राम्रो सडक बनाउन सकेनौँ । यसका लागि सरकारको आलोचना गर्नै पर्छ । तर, भएको सडक निर्माणको जिम्मा पाएका व्यक्ति वा निकाय र सही तरिकाबाट सडक प्रयोग नगर्ने अन्य पात्रहरू पनि आलोचनाबाट मुक्त रहन सक्छन् र ?

जनस्वास्थ्यको कुरा गर्ने हो भने, हामी पनि स्वास्थ्यकर्मीहरूको दायित्वबोधबारेमा आलोचक हुन सकिरहेका छैनौँ । आलोचनात्मक दृष्टिकोण राख्न नसक्दा हाम्रो पेसाधर्मितामाथि जनताले पटक पटक प्रश्न उठाइरहेका छन् ।

हामी आफैँले आफूलाई प्रश्न गर्नेे बेला भएको छ– ‘साँच्चै नै हामीले नागरिकको स्वास्थ्य अधिकारप्रतिको दायित्वलाई निर्वाह गर्न सकेका छौँ ?’

स्वास्थ्य सेवाका लागि आवश्यक पर्याप्त संरचना, स्रोत र साधनहरू छैनन् । यो दायित्व सरकारको हो । यसका लागि सरकारको कठोर आलोचना हुनै पर्छ । तर, स्वास्थ्यमा भएकै संरचना, स्रोत र साधनबाट पनि जनताले स्वास्थ्य सेवा पाइरहेका छन् त ?

लाग्छ, स्वास्थ्यकर्मीलगायत यस क्षेत्रमा संलग्न सबै पात्रहरूले आआफ्नो पेसागत दायित्वलाई निर्वाह गर्ने हो भने अहिलेकै सीमित संरचना, स्रोत साधनहरूबाट पनि नागरिकले आहिलेभन्दा राम्रो स्वास्थ्य सेवा पाउन सक्थे ।

यसको अर्थ हामीलाई थप संरचना, स्रोत र साधनहरू चाहिँदैन भन्ने र सरकारलाई जिम्मेवारीबाट उन्मुक्ति दिन खोजेको कदापि होइन । यसको अर्थ यदि हामी पनि सरकार जस्तै गैरजिम्मेवार बन्ने हो भने संरचना, स्रोत र साधनहरू थपिएर पर्याप्त भए पनि नागरिकले आवश्यकताअनुसार स्वास्थ्य सेवा पाउने सुनिश्चितता हुन्छ त ? भन्ने प्रश्नको सन्दर्भ उठाउन खोजिएको हो । स्वास्थ्य जस्तै अन्य पेसाकर्मीहरूको दायित्वका बारेमा पनि यो सन्दर्भ उठ्नै पर्छ ।

अहिले यतिखेर विभिन्न पेसाकर्मीहरूको विश्वसनीयतामाथि एउटा संकट देखिन्छ । विभिन्न क्षेत्रका पेसाकर्मीहरूको पेसागत दायित्वबोधका बारेमा आमजनमानसमा शंका र प्रश्नहरू उठिरहेका देखिन्छ ।

हामीले यो कुरामा विश्वस्त हुनुपर्छ कि विकास र सकारात्मक सामाजिक रूपान्तरण राजनीतिक परिवर्तन र राजनीतिक शक्तिको बुतामा मात्रै हुन सक्दैन । राजनीतिक परिवर्तन आवश्यक हो तर पर्याप्त होइन ।

सडक बनेको केही समयमै पिच भत्किएको, खाल्डो परेको देख्ने र त्यसको पीडा भोग्ने जनताले सडक बनाउने ठेकेदार, मजदुरलगायत विभिन्न तहका प्राविधिकहरूको नियत र पेसागत इमान्दारीमाथि शंका गर्नु नितान्त स्वाभाविक होइन र ? यदि हामी साँच्चै नै आफ्नो पेसाप्रति इमान्दार थियौँ भने यस्तो नहुनुपर्ने थियो ।

कानुन व्यवसायीप्रति पनि जनता सशंकित बन्न थालेका छन् । कानुन व्यवसायीले पेसाधर्मिताको नाममा कसको पक्षमा पैरवी गर्दै छन् ? जनता नियालिरहेका छन् । संचारकर्मी र संचार माध्यमका बारेमा पनि विभिन्न खालका प्रश्न उठिरहेका छन् । मिडियाकर्मी साथीहरूको विश्वसनीयतामाथि जनताले शंका गरेका छैनन् र ? उहाँहरूको इमान्दारी र क्षमताका बारेमा पनि जनमानसमा अविश्वासको गहिरो खाडल बनसिकेको छ ।

दुःखको कुरा भन्नुपर्छ, मिडियामा प्रवाहित सूचनाको सत्यमाथि पनि जनताको विश्वास पातलिन थालिसकेको छ । 

यी त केही उदाहरणहरू मात्र हुन् । मुस्किलले नै कुनै पेसाकर्मी यसको अपवाद होला । पेसाकर्मीहरूमाथि जनताको आस्था, विश्वास र भरोसा क्रमशः हराउन थालेको यस स्थितिलाई नै हामीले पेसाकर्मीहरूको विश्वसनीयतामाथि एउटा संकटका रूपमा लिनु उपयुक्त हुन्छ । 

संकटका कारणहरु 

हामी ‘प्रोफेसनल’हरूमाथि जसरी अविश्वश्नीयता बढेको छ, त्यसका पछाडि थुप्रै कारणहरू हुन सक्छन् । ती सबै कारणलाई मोटामोटी दुईवटा खेमामा बाँड्न सकिन्छ । पहिलो खेमा ‘अब्जेक्टिभ’ अर्थात् वस्तुगत कारणहरू हुन् । हरेक पेसामा अप्ठ्यारा स्थितिहरू पक्कै हुन्छन्, जुन पेसाकर्मीहरूको आफ्नो नियन्त्रणमा हुँदैनन् ।

विसंगतिपूर्ण राजनीतिक र सामाजिक परिवेश, सीमित संशाधनमा काम गर्नुपर्दा दक्ष, इमान्दार र पेसाधर्मप्रति प्रतिबद्ध पेसाकर्मीलाई दायित्व वहन गर्न गाह्रो पर्छ । आमजनतामा यो प्रतिकूल वातावरणको बोध भएन भने पेसाकर्मीहरूमाथि नै दोषारोपण हुन्छ र उनीहरूको जवाफदेहितामाथि नै प्रश्न उठ्छ ।

यी कारणहरू संकटका बेग्लै आयाम हुन् । जनताको नजिक गएर उनीहरूसँग सहकार्य गर्दै जनतालाई यथार्थबारे बुझाउन सके उनीहरूको विश्वास जित्न सकिन्छ ।

बढी गम्भीरतासाथ चर्चा गर्नुपर्ने संकटको अर्को खेमामा मनोगत कारणहरू हुन् । हामीभित्रै जन्मिने, हुर्कने र परिपक्व हुने गर्छन् यी कारण । यी मनोगत कारणहरू नै संकटका लागि मूलतः जिम्मेवार हुने गर्छन् । हामीभित्रका बढ्दो आकांक्षा, लाभको स्वार्थ अनि यसैको परिपूर्तिका लागि शक्तिको आड र पेसाकर्मलाई अवसरको रूपमा लिने मानसिकता अनि यसले बनाएको प्रवृत्तिले पेसाकर्मीलाई पेसागत उत्तरदायित्वको बोध र जबाफदेहिताबाट विचलित गराउँछ । हामीले सन्दर्भ उठाएको संकटमा यी मनोगत कारणहरू कठोर चुनौती पनि हुन् ।

र, अन्त्यमा

यो चुनौतिको हामीले सामना त गर्नै पर्छ । तर यसलाई कसरी पराजित गर्ने , यो गरुँगो प्रश्नको औँला भाँचेर दिने जबाफ त नहोला,  तर हामीले जुन स्थितिको अनुभूति गरिरहेका छौँ, त्यसबारे गम्भीर बहस गरेर यसलाई स्थापित वा विस्थापित गर्न जरुरी छ ।  हामीले  भित्रैदेखि चाह्यौँ कि हामीले गरेकोे अनुभूति गलत होस् तर हाम्रो चाहनाले धरातलको यथार्थ त फेरिँदैन ।

हामीले यो कुरामा विश्वस्त हुनुपर्छ कि विकास र सकारात्मक सामाजिक रूपान्तरण राजनीतिक परिवर्तन र राजनीतिक शक्तिको बुतामा मात्रै हुन सक्दैन । राजनीतिक परिवर्तन आवश्यक हो तर पर्याप्त होइन ।

 निसन्देहः बस्तुगत यथार्थले हाम्रो सचेतनालाई आकार दिने हो, तर सार्थक रूपान्तरणको हाम्रो सपना, प्रतिबद्धता र समर्पणले नै बस्तुगत यथार्थलाई हाम्रो अनुकूल परिवर्तन गर्न सक्छ । विभिन्न राजनीतिक दलहरू र त्यसका पात्रहरूले पाउने आफ्नो अंशको जस र आलोचना पाऊन्, हामी आफ्नो पेसाधर्मिताप्रति सचेत र उत्तरदायी हुनै पर्छ । यसो भनिरहँदा यो अभिव्यक्ति अहिलेको हाम्रो परिवेशमा कोहीप्रतिको समर्थन र पूर्वाग्रह अनि कुनै पेशाकर्मीको दक्षता र इमानदारीको अवमूल्यन कदापि होइन । यो अहिले हाम्रो समाज गुज्रिरहेको अवस्थाको अवलोकनले जन्माएको चिन्तन हो, गलत हुन पनि सक्छ र सही पनि हुन सक्छ । म भित्रैदेखि चाहन्छु कि मैले र हामीले गरेकाे अनुभूत गलत होस् । तर मेरो चाहनाले मात्र धरातलको यथार्थ त फेरिँदैन ।

पेसाकर्मीहरूको विश्वसनीयतामाथि उठेका यी र यावत् प्रश्नहरू निरूपण नहुन्जेल बहसले निरन्तरता पाउने  आशा र अपेक्षा  गर्नु स्वाभाविक हुनेछ ।  

 


डा‍‍. वन्त जनताको स्वास्थ्य अभियान पिपल्स हेल्थ मुभमेन्टमा आबद्ध हुनुहुन्छ ।