विश्वकप एसिया छनोट : नेपाल–चीन भिड्दै

विश्वकप एसिया छनोट : नेपाल–चीन भिड्दै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन १३, २०७५

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । 

थाइल्यान्डको बैंककमा आज नेपालले आफ्नो पाँचौ खेलमा चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार मध्याह्न १२ः४५ बजे सुरु हुने नेपाली टोलीका प्रशिक्षक विनोद दासले जानकारी दिनुभयो । 

आजको खेलमा चीनलाई पराजित गरे नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायमै रहनेछ । चीन जारी प्रतियोगितामा निकै बलियो टिमको रूपमा देखा पारेको छ । चीन अहिले अंक तालिकाको तेस्रो स्थानमा रहँदा नेपाल चौथो स्थानमा छ । 

चीनले पाँच खेलबाट तीन खेलमा जित र दुई खेलमा हार ब्यहोर्दै ६ अंक बनाएको छ । नेपालको पनि समान ६ अंक नै छ । चार खेल खेलेको नेपालले तीनमा जित र एकमा हार ब्यहोरेको छ ।  रन रेटका आधारमा नेपाल चीनभन्दा एक स्थान तल भएको हो । अंक तालिकाको शीर्ष स्थानमा आयोजक थाइल्यान्ड छ । उसले खेलेका सबै चार खेलमा जित निकाल्दै आठ अंक जोडेको हो । त्यसैगरी पाँच खेल खेलेको युएई एकमा हार तथा चारमा जित निकाल्दै आठ अंकका साथ दोस्रो स्थानमा छ ।

यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा थाइल्यान्डसँग ५७ रनले पराजित हुँदा तेस्रो खेलमा भने नेपालले युएईलाई सात विकेटले पराजित गर्न सफल भएको थियो । त्यस्तै, चौथो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको थियो । 

प्रतियोगिताको एसिया छनोटमा सात राष्ट्रले भाग लिएका छन् । राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेता आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । 

जारी प्रतियोगितामा नेपाल ग्लोबल छनोटमा पुग्न आजको खेल तथा कुबेतसँग १५ गते हुने खेल जितेर मात्र हुँदैन थाइल्याण्डले एक खेलसमेत हार्नुपर्ने हुन्छ । त्यसैले गणितीयरूपमा मात्र नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना छ । छनोट खेलमा नेपाल, थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङ सहभागी भएको खबर राससमा छ ।