संक्रमणकालको बखेडा: मियोविनाको दाइँ

संक्रमणकालको बखेडा: मियोविनाको दाइँ

लोकसंवाद संवाददाता  |  दृष्टिकोण  |  माघ १, २०७६

अहिले नेपाल राजनीतिक संक्रमणबाट बाहिर निस्कन सकेको छैन । लामो राजनीतिक उतारचढावबाट अबचाहिँ मुक्त होला कि भन्ने आमजनको आशामा पटक पटक तुसारो लागेको छ ।

राजनीतिक संक्रमण र अस्थिरता कुनै पनि मुलुकको विकास र समृद्धिका लागि अवरोध हो । निकै ठूला र गहन कार्यहरू सम्पन्न गर्नुपर्ने अहिले नेपालका सामु चुनौती छ । यस्तो बेलामा यहाँको राजनीति स्थिर र सशक्त हुनुपथ्र्यो तर त्यसो हुन सकेन ।

एकातिर लामो सशस्त्र हिंसात्मक द्वन्द्वको शान्तिपूर्ण समाधानका अन्य पाटा बाँकी नै छन् भने अर्कातर्फ जनअपेक्षा र आवश्यकताको उचित सम्बोधन जरुरी छ । राजनीतिक व्यवस्था परिवर्तनले मात्र राज्य र सरकारका कार्यभार पूरा हुँदैनन् । त्यसका लागि देश र जनताप्रतिको निष्ठा, दायित्वबोध, सक्रियता र संवेदनशीलता प्रमुख हुन्छन् । यीमध्ये कुनै पनि कुरा हाम्रा राजनीतिक दल र राज्य संचालकमा नदेखिनुले मुलुकमा विद्यमान संक्रमण र जटिलता लामै समय रहने देखिन्छ ।

वास्तवमा अहिले मुलुकमा मियो छैन । मियो भन्नाले राजनीतिक रूपमा सर्वमान्य र अभिभावक व्यक्तित्व हो । यस्तो व्यक्तित्व कि त राष्ट्रपति हुनुपथ्र्यो वा प्रधानमन्त्री । हामीकहाँ यस्ता व्यक्तित्वको अभाव पछिल्लो समय खड्किएको विषय हो ।

राष्ट्रपतिलाई कार्यकारी बन्ने उत्कट चाहना एकातिर छ भने अर्कातर्फ प्रधानमन्त्रीलाई ‘शासक’ बन्ने चाहना । यसरी आलंकारिक रूपमा अभिभावकीय भूमिकामा रहनुपर्ने राष्ट्रपति संवैधानिक हैसियतभन्दा बाहिर गएर सक्रिय राजनीतिमा होमिन चाहने र कार्यकारी प्रधानमन्त्री जनचाहना र मुलुकको आवश्यकता अनि संविधानको मर्मलाई तिलान्जलि दिएर शासकीय भूमिकामा रहन चाहने सोचले गर्दा मुलुकले अहिले खोजेको सर्वमान्य अभिभावक व्यक्तित्व पाउन नसकेको अवस्था छ ।

यसबेला त मुलुकको राजनीतिलाई ठीक मार्गमा ल्याउन सक्ने एउटा गतिलो अभिभावक चाहिने हो । सबै राजनीतिक दल र तिनका नेतृत्वलाई सम्झाएर, बुझाएर, सद्भाव कायम राखेर मिलाएर मुलुक र जनताको हितमा लगाउन सक्ने एउटा त्यस्तो व्यक्तित्व कहिले पाउला देशले ?

जनप्रतिनिधिको थलो, जहाँ मुलुकका आवश्यक कानुन, नीति, नियम बनाइन्छ, त्यो महिनौँदेखि सत्तारुढ दलका दुई अध्यक्षको जुँगाको लडाइँका कारण अनिर्णयको बन्दी भएको छ । संसदको मियो अर्थात् सभामुख अझै चयन गर्न सकेका छैनन् ।

मुलुकमा शान्ति सुरक्षाको अवस्था डामाडोल छ । हत्या र हिंसाका घटना रोकिएका छैनन् । विकासका नाममा कमिसन, भ्रष्टाचार र घुसखोरी मौलाउँदो छ । अख्तियारलगायतका नियामक संयन्त्र आफैँ अनियमितताको खाडलमा जाकिने अवस्था छ । प्रभावकारी कार्यसम्पादनको अभाव छ ।

कर्मचारी संयन्त्रमा बढ्दो राजनीतिले ब्युरोक्रेसीमाथि नमज्जाले मजाक गरिरहेको छ । स्थायी सरकारका रूपमा रहने कर्मचारी संयन्त्रमा राजनीतिक हस्तक्षेप र विचलन मुलुकका लागि निकै घातक हो ।

शिक्षा क्षेत्रमा फैलँदो राजनीतिको रोग अझ बढ्दो क्रममा छ । विद्याथी, शिक्षक र कर्मचारी कोही पनि राजनीतिभन्दा बाहिर छैनन् । आआफ्ना दलका स्वार्थअनुकूल काम गर्दै शिक्षा क्षेत्र ध्वस्त र अपाङ्ग बनाउने तयारीमा देखिन्छन् उनीहरू ।

उद्योगधन्दा र कलकारखानाको अवस्था उस्तै छ । मुलुकमै हुन सक्ने उत्पादन आयात गर्नुपरेको छ । जमिन बँझ्याएर, प्लटिङ गरेर जग्गा बेचेर सुपरमार्केटमा विदेशी उत्पादन किन्नेको संख्या बढ्दो छ ।

कूल गार्हस्थ उत्पादन बढाउन, आन्तरिक उत्पादनमा ध्यान दिन प्रोत्साहन गर्ने नीति सरकारले ल्याउन सकेको छैन । बजारकेन्द्रित अर्थ उत्पादनकेन्द्रित बनाउन नसकुन्जेल आयातीत सामान र वस्तुको भरमा कतिन्जेल चल्ला मुलुक ?

यस्तो अवस्थामा मुलुकको राजनीति अस्थिर हुनु, संक्रमणमै रहिरहनु दुर्भाग्य नै हो ।

यसबेला त मुलुकको राजनीतिलाई ठीक मार्गमा ल्याउन सक्ने एउटा गतिलो अभिभावक चाहिने हो । सबै राजनीतिक दल र तिनका नेतृत्वलाई सम्झाएर, बुझाएर, सद्भाव कायम राखेर मिलाएर मुलुक र जनताको हितमा लगाउन सक्ने एउटा त्यस्तो व्यक्तित्व कहिले पाउला देशले ?