अमेरिकी दादागिरी : शान्तिको कामना कि प्रतिरोध

अमेरिकी दादागिरी : शान्तिको कामना कि प्रतिरोध

कमल शिशिर  |  दृष्टिकोण  |  माघ २, २०७६

नयाँ वर्ष सन् २०२० को सुरुवातमै विश्व समुदायले एक अप्रिय खबर र त्यसपछि निम्तिने त्रासदीको आँकलनसम्बन्धी समाचारमा घोत्लनुपरेको छ । विश्व शान्तिका लागि अमेरिकी–इरानी परिघटना चुनौतीका रूपमा देखिन थालेका छन् ।

आफूलाई विश्वकै प्रजातन्त्रको नेतृत्वकर्ता, विश्व मानवअधिकारको रक्षक भन्ने डोनाल्ड ट्रम्प नेतृत्वमा रहेको अमेरिकी सत्ताले इरानी सैनिक जनरल कासिम सुलेमानीको इराक भ्रमणमा रहेका बेला हत्या गरेको छ ।

यो एक व्यक्तिको हत्या मात्र नभएर राजनीतिक हत्या हो तर मानवअधिकारको न्यूनतम मूल्य मान्यताको पनि ख्याल नगरीकन गरिएको उक्त हत्यालाई अमेरिकी प्रशासनले एक आतंकवादीमाथिको विजयको रूपमा परिभाषित गरिरहेको छ । र, उक्त हत्यापछि विश्व राजनीति नै तरंगित बन्न पुगेको छ ।

हत्यापश्चात् सुलेमानीको पार्थिव शरीरको अन्त्येष्टि हुनुअघिको सभामा लाखौँ इरानी नागरिकहरू सहभागी भए । उनीहरूले कासिम सुलेमानी इरानका एक नायक भएको कुरा विश्व समुदायलाई बताएका छन् ।

अन्त्येष्टि सभामा देखिएको नागरिकको स्वतस्फुर्त उपस्थितिले इरानले अमेरिकी दादागिरीको अन्त्यको माग नागरिक स्तरबाटै गरेको पुष्टि हुन्छ । अब प्रश्न यो छ कि अमेरिकाले भनेझैँ के सुलेमानी आतंकवादीका नाइके नै थिए त ? के अमेरिकाले पूर्वजानकारी गराएर विश्व समुदायलाई थाहा हुने गरी ‘मस्ट वान्टेड’को सूचीमा राखेको थियो उनलाई ? अहँ, पटक्कै थिएन ।

दुःखको कुरा, अमेरिकी सदनमा पनि यस विषयमा केही कुरा उठेको छैन र डेमोक्र्याटहरू पनि मौन छन् । मध्यपूर्वमा इरानको दुश्मनका रूपमा रहेका इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहुले यस कदमको खुलेर प्रशंसा गरेका छन् किनकि इजरायल अमेरिकी स्वार्थको कारिन्दा बनेको छ र इजरायलीहरूको इरानप्रतिको घृणा लामो छ ।


एक सार्वभौम सत्तासम्पन्न मुलुकका वैधानिक सेना प्रमुखलाई कुनै अर्को देशको भ्रमणमा रहेका बेला गरिएको हत्या आफैँमा आतंकवाद होइन ?न कासिम सुलेमानी आतंकवादी थिए, न त उनको खोजी भइरहेको र उनको हत्याका लागि अन्य राष्ट्रहरूलाई पनि जानकारी गराएर विन लादेनको जस्तै या अरू आतंककारीको जस्तै हत्या अमेरिकाले गरेको छ ।

हाल उत्पन्न परिस्थितिको विश्लेषण गर्नुअघि अमेरिका र इरानबीचको दुश्मनीको लेखाजोखा गर्नु उपयुक्त हुन्छ । अमेरिका र इरानबीचको दुश्मनीको सुरुवात सन् १९५३ मा भएको थियो, जतिबेला निर्वाचित प्रधानमन्त्री मोहम्मद मोसद्दिकलाई अमेरिकी खुफिया एजेन्सी सीआईएले बेलायतसँग मिलेर अपदस्थ गरेको थियो र आफ्ना विश्वासपात्र शाह रजा पहलवीलाई सत्ता सुम्पेको थियो ।

यही अमेरिकी कदम नै सन् १९७९ मा सम्पन्न इरानी क्रान्तिका लागि आधार बन्यो, जसको नेतृत्व आयतोल्लहा रुहोल्लाह खुमैनीले गरेका थिए । खुमैनी तिनै व्यक्ति थिए, जसले रजा शाह पहलवीको नेतृत्वमा इरानमा भएको पश्चिमीकरण र अमेरिकाप्रति बढ्दो परनिर्भरतालाई निशाना बनाएका थिए ।

आठ वर्ष लामो निर्वासित जीवन टर्की, इराक र पेरिसमा बिताएर सन् १९७९ मा इरान फर्किएका आयतोल्लहा रुहोल्लाह खुमैनीकै नेतृत्वमा इरान इस्लामिक गणतान्त्रिक देश घोषित भयो । इरानी क्रान्तिको परिणाम इरान र अमेरिकाबीचको सम्बन्ध त सकियो नै, क्रान्तिकै बखत तेहरानमा इरानी विद्यार्थीको समूहले अमेरिकी दूतावास कब्जामा लिएर ५२ अमेरिकी नागरिकलाई सन् १९७९–८१ सम्म बन्धक बनायो ।

अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ ऐतिहासिक महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदाहरू, जो विश्व सम्पदा सूचीमा सूचीकृत पनि छन्, ती स्थानहरू जतिबेला पनि आफ्नो निशानामा पर्न सक्ने चेतावनी दिएका छन् । यसलाई उनले आफ्ना ५२ नागरिकको बन्धकको बदलाको रूपमा संकेत गरेका छन् ।

जिमी कार्टर अमेरिकी सत्ताको प्रमुख रहेका बेलादेखि सुरु भएको इरान–अमेरिकी दुश्मनी बेलाबेला छताछुल्ल भएको छ । अमेरिकाको साथमा क्षेत्रीय शक्ति राष्ट्र बन्न थालेको सद्दाम हुसैन नेतृत्वको इराक र इरानबीच सन् १९८०–८८ सम्म भएको युद्धले लाखौँ मान्छेको ज्यान लिएको छ । उक्त युद्धपश्चात् इरानले परमाणु कार्यक्रम सुरु गरेको बताइन्छ ।

इरानको आणविक कार्यक्रम रोक्नका लागि तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालमा जोइन्ट कम्प्रेसिभ प्लान अफ एक्सन नाम दिइएको आणविक अप्रसार सम्झौता १४ जुलाई २०१५ मा इरान र संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्रहरू चीन, फ्रान्स, रुस, बेलायत, अमेरिका र जर्मनीका बीचमा भएको थियो ।

उक्त सम्झौतापश्चात् इरानमाथि लागेको प्रतिबन्ध केही खुकुलो भएको थियो । सन् २०१६ मा निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ८ मे २०१८ मा इरानसँग भएको आणविक सम्झौताबाट अमेरिकाले एकतर्फी रूपमा हात झिकेको घोषणा गरेका थिए । अहिले उनकै अधिनायकवादी सत्ताले इरानी सैनिक जनरलको हत्या गरेर विश्वलाई नै सन्त्रासमा पारेको छ ।

उक्त हमलापछि इरानले बग्दादमा रहेका अमेरिकी सेनाको क्याम्पलाई लक्षित गरेर दर्जनौँ मिसाइल खसालेको छ, भलै, ठूलो मानवीय क्षति भने भएको छैन । डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उग्रराष्ट्रवादको प्रयोग स्वरूप उक्त हमला गरेको पनि मान्न सकिन्छ ।

दुःखको कुरा, अमेरिकी सदनमा पनि यस विषयमा केही कुरा उठेको छैन र डेमोक्र्याटहरू पनि मौन छन् । मध्यपूर्वमा इरानको दुश्मनका रूपमा रहेका इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहुले यस कदमको खुलेर प्रशंसा गरेका छन् किनकि इजरायल अमेरिकी स्वार्थको कारिन्दा बनेको छ र इजरायलीहरूको इरानप्रतिको घृणा लामो छ ।

सन् २००६ मा लेवनानमाथि इजरायलले आक्रमण गर्दा इरानी सहयोगमा बढेको लेवनानको प्रतिरोधले इजरायलले नराम्रो हार व्यहोरेको थियो, जसका कारण इजरायलीहरू इरानमाथि अमेरिकी दादागिरी कायम रहोस् भन्ने चाहन्छन् ।

अमेरिकी क्रूर साम्राज्यवादको नांगो हस्तक्षेपले विश्वका लाखौँ मान्छेको हत्या गरेको छ । अमेरिका विश्वका जुनसुकै देशमा पनि गिद्देदृष्टि राख्छ । मध्यपूर्वमा भएको पनि त्यही हो । खाडीको तेलमाथि अमेरिकाको गिद्देदृष्टिले मध्यपूर्व अशान्त छ ।

त्यहाँभित्र पसेर कहिले प्रजातान्त्रिक आवरणको मान्छे त कहिले वामपन्थी आवरणको मान्छे अनि कहिले धार्मिक आवरणको मान्छे त कहिले जातीय आवरणको मान्छेलाई आफ्नो वसमा पारेर देशको सत्ता पल्टाउने र भत्काउने काम गर्छ अमेरिका । समयक्रममा आफूले ल्याएको मान्छे या सत्ता आफ्नो पक्षमा उभिन छाडेपछि या आफूलाई खतरा महसुस भएपछि फेरि उही मान्छेको हत्या र सत्ता पल्टाउने दूषित काममा अमेरिका धेरै पहिलेदेखि नै लागेको छ ।

सद्दाम हुसैन आफ्नो योजना मुताविक नचलेपछि अमेरिका इराक पसेर ध्वंश मच्चाउन सुरु गर्‍यो, प्रतिबन्ध लगायो र अन्ततः उनको हत्या गरिदियो । यस्ता थुप्रै देशहरू छन्, जहाँ अमेरिकाले त्यहाँको स्रोत र साधनमाथि आफ्नो अधिपत्य जमाउनका लागि लाखौँ मान्छे मारेको छ । विभिन्न आतंकवादी समूह गठन गरेर तिनै आतंकवादी समूह निस्तेज पार्ने नाउँमा देशलाई युद्धमा धकेलेको छ ।

इराक, सिरिया हुँदै अफ्रिकासम्म फैलिएको आईएसआईएस गतिविधिलाई निस्तेज पार्न महत्त्वपूर्ण भूमिका खेलेका जनरल कासिम सुलेमानीलाई अमेरिकाले किन हत्या गर्‍यो ? कुरा घाम जस्तै छर्लङ्ग छ– अमेरिकी क्रूर साम्राज्यवादको दादागिरीले विश्वलाई चयन दिएको छैन । आफूलाई विश्व शान्ति, उन्नत प्रजातन्त्र र मानवअधिकारको नाइके बताउने अमेरिकाले नै विश्वभर आतंक फैलाइरहेको छ । विश्वभरका मानिसहरूलाई त्रासमा राखेको छ ।

सामाजिक संजालका भित्ताहरू रंगिएका छन् । ‘विश्व शान्तिका लागि कामना गरौँ’ लेखेको धेरै देखियो । इरान र अमेरिकाबीचको तनावले तेस्रो विश्वयुद्ध हुन्छ भन्ने अड्कलबाजी तत्कालै सावित हुँदैन किनभने रुस र चीन जस्ता शक्ति राष्ट्रको रुचि पनि यस विषयमा जोडिएको हुन्छ । रुस इरानको पक्षमा भए पनि अमेरिकाको ठूलो व्यापारिक साझेदार चीन भएकाले चीन सकेसम्म यस अवस्थालाई सहजीकरण गर्न चाहन्छ ।

तेस्रो विश्वयुद्ध तत्कालै नभए पनि क्षेत्रीय युद्धको भय टड्कारो देखिन्छ । इरान तत्कालै अमेरिकासँग युद्धको पक्षमा नभए पनि नागरिक स्तरबाट उठेको आवाजलाई इरानले पचाउन र दबाउन सक्ने देखिन्न । अतः इरानको आक्रमण इजरायल, साउदी अरेबिया या युएईमा भयो भने त्यसको प्रभाव नराम्रोसँग देखिनेछ र नेपाल अति नै प्रभावित हुनेछ ।

वैधानिक बाटोबाटै रोजगारीका लागि पुगेका लाखौँ नेपाली मध्यपूर्वमा कार्यरत छन् । नेपाली अर्थतन्त्र रेमिट्यान्समा निर्भर छ र रेमिट्यान्सको आधाभन्दा बढी हिस्सा मध्यपूर्वका देशको रोजगारीमा निर्भर छ । खासगरी युवा पुस्ताले विश्व शान्तिका लागि कामना गरेको त राम्रो तर कामनाले मात्र यो संकट रोकिनेवाला छैन । अमेरिकी दादागिरीको प्रतिरोध आजको आवश्यकता हो ।

छिमेकीको घरमा सल्किएको आगोलाई बेवास्ता गर्दा आफ्नै घर पनि जल्न सक्छ ।