अधिकारको प्रयाेग र कर्तव्य पालन गर्ने उत्तरदायित्वकाे सन्दर्भ

अधिकारको प्रयाेग र कर्तव्य पालन गर्ने उत्तरदायित्वकाे सन्दर्भ

बी.एच ज्ञवाली  |  दृष्टिकोण  |  माघ २, २०७६

आर्य संस्कृतिको एक मात्र उद्देश्य प्राणी मात्रको कल्याण गर्नु हो । मानव स्वभावमा नै यस्तो छ कि जसबाट आफ्नो स्वार्थ सिद्ध हुन्छ, त्यस कर्मलाई बडो तत्परताका साथ गर्छ । परन्तु, जुन कर्म गरिन्छ त्यो अरूका लागि हो, आफ्ना लागि केही मनुष्यद्वारा गरिने सबै कर्म शरीर तथा इन्द्रियहरूद्वारा गरिन्छन् ।

किनकि क्रिया मात्रको सम्बन्ध प्रकृति र प्रकृतिजन्य पदार्थहरूसँग हुन्छ, आत्म स्वरूपसँग हुँदैन । यसबाट यो निश्चित हुन्छ कि हामीले आफ्ना लागि केही पनि गर्नु छैन । जे गर्नु छ, त्यो अरूका लागि अर्थात् संसारका लागि हो । यदि मनुष्य आफ्ना लागि केही गर्छ भने त्यो मनुष्य कर्म बन्धनमा पर्छ ।

मनुष्य कर्म बन्धनबाट तब मात्र मुक्त हुन सक्छ, जब संसारबाट प्राप्त शरीर, वस्तु, योग्यता र समाथ्र्य संसारको सेवामा लगाउँछ । र, त्यसको बदलामा केही पनि चाहँदैन । किनकि संसारले हामीलाई त्यो वस्तु दिन सक्दैन, जुन हामी वास्तवमा चाहन्छौँ । हामी सुख चाहन्छौँ, अमरता चाहन्छौँ, निश्चिन्तता चाहन्छौँ, स्वाधीनता चाहन्छौँ ।

यी सबै हामीलाई संसारबाट प्राप्त हुन सक्दैनन् बरु संसारको सम्बन्धविच्छेदबाट प्राप्त हुन्छन् । संसारसँगको सम्बन्धविच्छेद गर्नका लागि संंसारबाट जे जति पदार्थ प्राप्त छन्, ती सबै संसारको सेवामा समर्पित गर्नुपर्ने हुन्छ । यसरी जब क्रिया र पदार्थहरूबाट सर्वथा सम्बन्धविच्छेद हुन्छ अनि मात्र उसमा यदि ज्ञानको संस्कार छ भने आत्मतत्त्वको साक्षात्कार हुन्छ । यदि भक्तिको संस्कार छ भने भगवानमा प्रेम हुन्छ ।

वर्तमान समयमा घरबारमा, व्यक्तिव्यक्तिमा, वादवादमा जुन अशान्ति, झैझगडा, संघर्ष आदि भइरहेको छ, त्यसको मूल कारण मानिसहरूको आफ्नो अधिकारको माग हो । परन्तु, मानिसको आफ्नो कर्तव्य के हो भन्ने कुरा बिर्सिदिन्छ । त्यसैले भगवानले मानिसलाई उपदेश दिँदै भन्नुभएको छ–  ‘एक अर्कोको हित गर्नु मनुष्य मात्रको कर्तव्य हो ।’

ईश्वर प्रदत्त सामग्रीलाई समाजको हितमा प्रयोग नगरेर आफ्ना व्यक्तिगत स्वार्थ सिद्ध गर्नमा लगाउँछौँ । परिणाम स्वरूप सांसारिक माया मोहको बन्धनमा परेर जन्म चक्रको फन्दामा पर्छौं ।

आफ्नो कर्तव्य पालन गर्ने उत्तरदायित्व मनुष्य मात्रमा छ । जसले आफ्ना कर्तव्य पालन गर्दैन, त्यसलाई ईश्वरको न्याय विधानअनुसार प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दण्ड प्राप्त भएको हुन्छ । सामाजिक परिवेशभित्र रहेपछि मानिसको आफ्नो सुख, सुविधा कसरी हुन्छ ? भन्ने चाहनाले उसलाई अकर्तव्य कर्मतिर अभिप्रेरित गर्छ । ऊ आफ्नो कर्तव्यबाट च्यूत हुन पुग्छ ।

मनुष्य मात्र त्यस्तो प्राणी हो, जसले बुद्धि पुर्‍याएर सबैलाई आफ्ना कर्तव्य र कर्मले सन्तुष्ट पार्न सक्छ । त्यसैले आफ्नो बुद्धिको सदुपयोग गरेर परमश्रेय प्राप्तिका लागि ऊ स्वतन्त्र रहन्छ । यदि ऊ आफ्नो स्वतन्त्रताको दुरूपयोग गरेर आफ्ना उत्तरदायित्वबाट पन्छिन्छ भने त्यसको दुष्प्रभाव समाजमाथि पर्छ र सुन्दर समाजको परिकल्पना ध्वस्त भएर जान्छ ।

ईश्वरले हामीलाई कर्तव्य पालनाको आज्ञा दिनुभएको छ । परन्तु, हामी आफ्नो कर्तव्यलाई बिर्सेर समाजिक मर्यादालाई भंग गर्न पनि पछि पर्दैनौँ । ईश्वर प्रदत्त सामग्रीलाई समाजको हितमा प्रयोग नगरेर आफ्ना व्यक्तिगत स्वार्थ सिद्ध गर्नमा लगाउँछौँ । परिणाम स्वरूप सांसारिक माया मोहको बन्धनमा परेर जन्म चक्रको फन्दामा पर्छौं । अतः यी सामग्रीलाई आफ्नो नठानेर संसारकै सेवामा लगाउन सक्यौँ भने यही नै बुद्धिमानी ठहर्छ ।

जसको जीवन परोपकारका लागि समर्पित छ, उसलाई जीवन निर्वाहका लागि कुनै समस्या रहँदैन । जबसम्म मानिसमा भोगेच्छा रहन्छ, तबसम्म बाँच्ने इच्छा र मर्ने डर रहन्छ । जब मनुष्यका सम्पूर्ण कर्महरू आफ्ना लागि नभएर अरू व्यक्तिको, समाजको सेवाका लागि हुन्छन्, उसका लागि कुनै प्रकारको इच्छा र डर रहँदैन । ईश्वरले जीवन निर्वाहका लागि सबै प्राणीहरूका लागि यथोचित रूपले सामग्रीहरू उपलब्ध गराउनुभएको छ । जब भगवानले दुष्कर्म गर्ने व्यक्तिलाई पनि जीवन निर्वाहको मौका दिनुभएको छ भने त्यागी, परोपकारी पुरुषका लागि नहुने कुरै भएन ।

यथार्थमा भन्ने हो भने शरीरद्वारा संसारकै काम हुन्छ, आफ्नो होइन किनकि शरीर आफ्ना लागि होइन । केही न केही काम गर्नका लागि शरीरको आवश्कता पर्छ तर केही पनि नगर्ने हो भने शरीर नै किन चाहियो ? त्यस कारण शरीरद्वारा आफ्ना लागि मात्र भनेर केही गर्नु दोष हो ।

हामी प्राप्त वस्तुबाट आफ्ना लागि केही गर्न सक्दैनौँ बरु त्यसद्वारा संसारको सेवा गर्न सक्छौँ । शरीर संसारको अंश हो । अतः यसबाट जे जति हुन्छ, संसारका लागि नै हुन्छ । संसारभन्दा पर शरीरका इन्द्रियहरू, मन, बुद्धि जान सक्दैन । यिनीहरूलाई संसारबाट अलग गर्न सकिँदैन । त्यसैले आफ्ना सुखका लागि यिनीहरूको प्रयोग गर्नु मानवता ठहर्दैन ।

वास्तवमा मनुष्य त्यही हो, जसले अरूको हितका लागि काम गर्नु आफ्नो कर्तव्य ठान्छ । त्यस्तो व्यक्ति सदा प्रशन्न रहन्छ ।