कति तापक्रमसम्म मानिस बाँच्न सक्छ ?

कति तापक्रमसम्म मानिस बाँच्न सक्छ ?

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  फाल्गुन १३, २०७५


सदाझैँ यसपटक पनि भारतको जम्मु कास्मिर राज्यको लद्दाख जाने बेला हामीले फिर्ती टिकट व्यवस्था गरेका थिएनौं । यो व्यवस्था नहुँदा मनपर्ने गन्तव्यमा पुग्दा मनहुन्जेल, अघाउन्जेल अथवा भनौ खल्तीले खतराको निशानभन्दा तलको ‘पाकेटोमिटर’ नछुँदासम्म स्वच्छन्द रमण गर्न निस्फिक्रिता प्रदान गर्छ । यस यात्रामा भने ‘पाकेटोमिटर’ खतराको निशानसम्म तल झर्ने अवस्था नै थिएन, किनकि महिनाको आठ–दस लाख कमाउने जर्मन साथी ग्रेगोर हाम्रो यात्राका प्रायोजक थिए । साथमा थिइन, उनकी पत्नी हालिना । सम्पूर्ण लद्दाखको दृश्यावलोकनपछि पनि हामीसँग अझै १५ दिनको अवकाश शेष थियो । तसर्थ, हामीले लेहबाट मोटरमार्गले श्रीनगर जाने योजना बनायौं, जुन मार्गमा हिँड्नु आफैँमा एउटा ‘एडभेन्चर’ थियो । लेहदेखि श्रीनगर झण्डै पाँच सय किमिको दूरीमा रहेकाले ट्याक्सीवालाले एक दिनमै पुर्याउने आश्वासन दियो । तर, हामी यो यात्रा एक दिनमै सम्पन्न गर्ने पक्षमा गएनौं, बाटोमा पर्ने ‘बुद्धिष्ट मोनास्ट्री’ घुम्दै पहिलो रात बाटोमै कतै विश्राम गरेर दोस्रो दिन गन्तव्यमा पुग्ने मानसिकता बनायांै हामी तीनै जना पर्यटकले । सोही अनुसार ट्याक्सीवालासँग सम्झौता गरी हामीले लेहसँग पुनः आउने वाचा गरी त्यो हिमाली स्वर्गबाट बिदा लियौं ।

दिनभरको यात्रामा बाटोमा पर्ने मोनास्ट्री अवलोकन गर्दै हामी साँझतिर कारगिल भन्ने स्थानमा पुग्यौं । मलाई कारगिलको नाम सुन्नासाथ त्यही रात बिताउने इच्छा जागृत भयो । केही वर्षपहिला नै भारत र पाकिस्तानबीच यही स्थानमा युद्ध भएको सम्झना आयो । यस युद्धमा कतिपय नेपाली कामदार पनि मारिएका थिए । श्रद्धाञ्जलीस्वरूप ‘मलाई लाग्यो आजको रात यही बिताउनुपर्छ ।’ त्यो रात्रि कारगिलमै बिताएर अर्को बिहान हामीले पुनः आफ्नो यात्रा प्रारम्भ गर्यौं, एक घन्टाको यात्रापछि नै चालकले चिया खान गाडी रोके । त्यो स्थानमा थियो द्रास । एउटा पसलमा हामी चिया खान बस्याैँ, यहाँ चिसो अलि बढी नै थियो । हुनत हामी लेहमा हुने बेलामै एक–दुई पटक हिउँ परिसकेको थियो । नुब्रा ‘भ्याली’को यात्रामा बाटोभरि नै हिउँ परेको थियो । ५६ सय मिटर अग्लो खारडुँगलामा ओर्लंदा बाहिरको तापमान माइनस १५ रहेको थियो, जसले गर्दा मैले ब्यागबाट मोजा झिकेर लाउनुपरेको थियो । 

चिया पसलेसँग के चिसो बढेको हो भनी सोध्दा उसले सडकपारिको एउटा बोर्ड देखाउँदै भन्यो, साहेबजी त्यो बोर्डमा लेखेको पढ्नुस्, आफैँ बुझ्नुहुन्छ । हामी बोर्ड पढ्न गयौ, त्यहाँ लेखेको थियो, ‘भारतको सबैभन्दा चिसोे ठाउँ’, साथै यो पनि ‘विश्वकै साइवेरियापछिको दोस्रो चिसो स्थान’ । केही वर्षपहिला त्यहाँको तापमान माइनस ४० डिग्रीसम्म पुगेको रहेछ । हामी हाँस्दै चिया पसलमा आयौं । मैले ग्रेगोरसँग सोधें, ‘कति डिग्री ‘माइनस’सम्म मान्छे बाँच्न सक्छ ?’ ग्रेगोरको भनाई थियो, ‘यसको कुनै निश्चित मापदण्ड हुन सक्दैन, यो वैयक्तिक कुरा हो, कोही जिरोमै मर्न सक्छ । देशकाल परिस्थिति अनुसार मान्छेको प्रतिरोधक क्षमता बढ्दै पनि जान्छ । तर, यसको ‘लिमिट’ के हो भन्न सकिँदैन ।’ तापक्रम विषयक यो प्रसंग नै यस आलेखको विषयवस्तु रहेको छ । तापमान हो के ? विज्ञान भन्छ, ‘तापमान अरु केही नभएर’ ‘एटम’ को ‘भाइभ्रेसन’ मात्र हो । धेरै ‘भाइभ्रेसन’ धेरै एनर्जी, धेरै तापमान, थोरै ‘भाइभ्रेसन’ थोरै एनर्जी कम तापमान । हामी मनुष्यको व्यावहारिक जीवनमा ताप महसुस गर्ने छालाले हो । हाम्रो जीवन एउटा निश्चित तापको सेरोफेरोमा अडेको छ । एउटा स्वस्थ मानिसको भित्री शरीरको तापमान ३७ डिग्री सेन्टिग्रेड अथवा ९८.७ फरेनहाइट हुनुपर्छ । यो पनि स्थिर रहन्न बिहानी र बेलुकामा आधा डिग्रीसम्मको उतार–चढाव हुन नैसर्गिक हो । तर, योभन्दा तल गएमा अथवा माथि गएमा ज्वरो आएको भन्ने गरिन्छ । हामीले ज्वरो नाप्न प्रयोग गरिने ‘थर्माेमिटर’मा पनि ‘लिमिट’ हुन्छ । भनौं समग्रमा मानिसको जीवनको ‘मेलोडी’ ३५ देखि ४२ डिग्री सेल्सियस अथवा ९५ देखि १०७ फरेनहाइटसम्म मात्रै उतार–चढाव गर्न सक्छ । ७ डिग्री सेल्सियसमा मात्र परिभ्रमण गर्न सक्ने मानिसको क्षमता तर उसको अहंकारको क्षमता भने उसलाई आफैँ पनि थाहा छैन । 

बाहिरी तापमानको कुरा गर्ने हो भने अहिलेसम्म मापन गरिएको उच्च तापमान ५६.७ डिग्री हो, जुन १० जुलाई १९१३ का दिनका दिन ग्रिनल्याण्ड डेथभ्याली कैलिफोर्निया अमेरिकामा नापिएको थियो । यस तापमानमा मानिस सहजतापूर्वक बाँच्न सक्दैन । यस अर्थमा नेपालको तापमान सर्वोत्तम भन्न सकिन्छ । बस्ती भएको हिमाली क्षेत्रमा माइनस १५ देखि चैत/वैशाखको उखरमाउलो गर्मीमा तराई प्रदेशमा ४५ डिग्रीसम्म । अझ काठमाडौंकै कुरा गर्ने हो भने शून्यदेखि ३४ डिग्रीसम्म, सदा, सर्वदा, सर्वथा अनुकूल । 

पाठकलार्ई अचम्म लाग्न सक्छ, हामीले बाहिरी ताप महसुस गर्ने होइनौं । हामीले आफ्नै छालाको तापमान महसुस गर्ने गर्छौं । एउटा प्रयोग गर्न सकिन्छ– एउटा कोठामा रातभर ‘एसी’ चलाएर छाडीदिउँ । बिहान उठेर कोठामा रहेको काठको दराज र फलामको दराजलाई एक एकगरी स्पर्श गरौं, कुन बढी चिसो लाग्यो ? निश्चय नै तपाईँको जवाफ फलामको दराज हुन आउँछ । तर, वास्तविकता यस्तो होइन । दुवै दराज समान चिसा छन् । फलाम तपाईँलाई प्रतीत भएको हो । कारण छ– फलाम ऊष्माको सुचालक हो, फलामले काठभन्दा तीव्र गतिले तपाईँको हातबाट ऊष्मा तान्छ र तपाईँलाई बढी चिसो प्रतीत हुन्छ । 

अब एउटा जिज्ञासा उठ्न स्वभाविक नै हुन्छ– हाम्रो पृथ्वीमा सबैभन्दा कम र बढी तापमान कति अंकसम्म फैलिन सक्छ ? कमका विषयमा जानकारी त आइएस्सी पढ्दा नै पाइएको थियो । विज्ञान अनुसार जिरो केल्बिनभन्दा तल तापमान पुग्न सक्दैन । किनकी यहाँ पुगेर अणुको गति नै रोकिन जान्छ, तात्पर्य अस्तित्वको पनि अस्तित्व बाँकी रहँदैन । अणुको संयोजन नै सृष्टि हो । तपार्इँ हामी मात्रै काम, नाम, दाम, माम र रामको खोजीमा गतिमान भएका होइनौ । कारण ज्ञात नभए पनि यति ज्ञात भइसकेको छ– सारा सृष्टि गतिशील छ । स्थिर यहाँ केही पनि छैन, ज–जसले स्थिरताको कुरा गरे, ती चाहे जस्तासुकै महामानव हुन् सबै बकम्फुस्से हुन् । तपाईँ आफू नजिक रहेको जुनसुकै वस्तु हेर्नुस्, त्यसका अणु सतत् गतिशील छन्, परिक्रमारत छन् । तिनको गतिलाई कुनै ‘फ्युल’ चाहिँदैन, न चाहिन्छ विश्राम नै । जिरो केल्बिन सृष्टिको अन्त हो । यसलाई डिग्री सेन्टिग्रेडमा परिवर्तित गर्दा माइनस २७३.१५ डिग्री सेन्टिग्रेड हुन आउँछ । यो विशुद्ध वैज्ञानिक अवधारणा हो, मानव सभ्यताको विकास भएदेखि जिरो केल्बिन (जसलाई वैज्ञानिक ‘नल प्वाइन्ट’ भन्छन्)सम्म तापमान पुगेको छैन । 

हाम्रो जीवन एउटा निश्चित तापको सेरोफेरोमा अडेको छ । एउटा स्वस्थ मानिसको भित्री शरीरको तापमान ३७ डिग्री सेन्टिग्रेड अथवा ९८.७ फरेनहाइट हुनुपर्छ । यो पनि स्थिर रहन्न बिहानी र बेलुकामा आधा डिग्रीसम्मको उतार–चढाव हुन नैसर्गिक हो । तर, योभन्दा तल गएमा अथवा माथि गएमा ज्वरो आएको भन्ने गरिन्छ । हामीले ज्वरो नाप्न प्रयोग गरिने ‘थर्माेमिटर’मा पनि ‘लिमिट’ हुन्छ । भनौं समग्रमा मानिसको जीवनको ‘मेलोडी’ ३५ देखि ४२ डिग्री सेल्सियस अथवा ९५ देखि १०७ फरेनहाइटसम्म मात्रै उतार–चढाव गर्न सक्छ ।

उच्चतम तापमानको लेखाजोखा गर्दै जाने हो भने निकै रोचक ढंगले अगाडि बढ्न सकिन्छ । ८५(९० डिग्री सेल्सियसमा चिया–कफी तयार हुन्छ । १०० डिग्रीमा पानीको अवस्था परिवर्तन हुन्छ । ४२० डिग्रीमा जिंक पग्लिन्छ । यस्तै, आल्मुनियम ६५९ डिग्रीमा, चाँदी ९६१ डिग्रीमा, सुन १०६३ डिग्रीमा, फलाम १२६० डिग्रीमा, स्टिल १३६३ डिग्रीमा, प्लेटिनम १७७० डिग्रीमा र हीरा ३५०० डिग्रीमा पग्लिन्छ । ज्वालामुखी बिस्फोट हुँदा बग्ने लावाको तापमान १०९० डिग्री सेन्टिग्रेड हुन्छ, यसैगरी हाम्रो पृथ्वीको केन्द्रको ताप ५००० डिग्री हुन्छ । 

तर, पृथ्वीको गर्भको यो तापमान सूर्यको तुलनामा केही पनि होइन । सूर्यको सतहको तापमान ५६०० डिग्री  हुन्छ भने सतहबाट केन्द्रतिर भित्रिँदै जाँदा यो अप्रत्यासित रूपले बढ्दै जान्छ र केन्द्रमा जहाँ ‘न्युक्लियर फ्युजन प्रोसेस’ सम्पन्न हुन्छ, त्यहाँको ताप डेढ करोड  डिग्रीसम्म पुग्ने गर्छ । 

वैज्ञानिकले गर्ने गरेका न्युक्लिएर बम परीक्षणको बेला तापमान दस करोड डिग्रीसम्म पुग्छ । तर, यसको प्रभाव क्षेत्र अत्यन्त सीमित राख्ने प्रविधि प्रयोग गरिन्छ । 

हाम्रो सूर्य ब्रह्माण्डको एउटा मध्यम स्तरको तारा हो । यसभन्दा अत्यन्त भीमकाय ताराहरू ब्रह्माण्डमा उपस्थित छन् । सूर्य जुन हाम्रो पृथ्वीबाट मात्र चौध करोड छयान्नब्बे लाख किमि छ । यसपछिको अर्को सूर्य प्रोक्सीमा सेन्टुरी, जसको पृथ्वीबाट दुरी ४०.१४ खर्ब किमि रहेको छ । सूर्यभन्दा दुई हजार गुना ठूलो तारा ‘भिवाइ कैनिस म्याजोरिस’, जुन आफ्नो अन्तको नजिक पुग्न लागिरहेको छ । सुपरनोवामा परिणित हुन यसले एक लाख वर्ष पर्खिनुपर्छ । 
तारा जब आफ्नो मृत्युको नजिक पुग्छ, ती अन्तिम दिनमा उसको तापमान अचम्मले वृद्धि हुन्छ । सूर्यभन्दा जम्मा आठ गुणा ठूलो तारा आफ्नो अन्तिम समयमा भयानक विस्फोटका साथ रातो दानव (रेड गेन्ट)मा परिणित भयो, त्यो बेला तापमान पुग्यो, ३ अर्ब डिग्री सेन्टिग्रेड । 

यो त भयो आकाशमा, अनन्तमा अवस्थित ताराहरूको गणना । अब पृथ्वीकै हाम्रा वैज्ञानिकहरूको कुरा गराैँ । युरोपियन अर्गनाइजेसनको ‘पार्टिकल फिजिक्स’ अध्ययन गर्ने संस्थान सर्न ल्याबोरेटरीले गरेको लार्ज हर्डन कोलाइडर (एलएचसी) प्रयोगका दौरान १.६ खर्ब डिग्री सेल्सियस पुग्यो तापमान । यसैगरी न्युयोर्कको ब्रुकहेभेन नेसनल ल्याबोरेटरीमा प्रयोग गरिँदा सेकेण्डको अर्बौं गुना सानो समयका लागि ४ खर्ब डिग्री सेल्सियस तापमान रेकर्ड गरियो । यस अनुसन्धानका प्रमुख डा. स्टिवेन विगडोर भन्छन्, यो तापमान यति प्रचुर छ कि प्रोट्रन र न्युट्रन नै पग्लिन्छ । 

तपाईँको मोबाइल, टिभीले मात्र होइन, संसारको प्रत्येक वस्तुले ‘रेडियसन’ उत्पन्न गर्छन्, तपाईँ हामीबाट पनि रेडियसन उत्सर्जित भइरहेको हुन्छ । तर, यो रेडियसनलाई हामी आफ्ना आँखाले हेर्न सक्दैनांै । सायद अध्यात्मिक शब्दावलीमा यसलाई नै ‘औरा’ भनिएको हो । प्रत्येक ‘रेडियसनले’ ‘वेभ लेन्थ’ जन्माउँछ । तर, तापमान बढ्ने क्रममा ‘वेभ लेन्थ’ सानो हुँदै जान्छ । 

मैक्स प्लोकः मैक्स कार्ल अरनेस्ट लुडविङ प्लांक जसलाई ‘क्वाण्टम थ्योरी’को जनक मानिन्छ, उनको अवधारणाबाट यस आलेखको पूर्णतातिर उन्मुख होऔं । प्लाङका अनसार यदि कुनै वस्तुलाई १.४१×१०३२ केल्बिन तापसम्म तताउने हो भने त्यसबाट उत्सर्जित ‘वेभ लेन्थ’ दृश्य ब्रह्माण्डको नियमानुसार नाप्न सकिने सबैभन्दा सानो दूरी हुन्छ । यसभन्दा सानो केही हुन सक्दैन अथवा नाप्न सकिँदैन । यस अर्थमा १.४१×१०३२ केल्बिन हाम्रो दृश्य ब्रह्माण्डको अधिकतम तापमान हो । यसभन्दा माथिको तापमानले ब्रह्माण्डलाई नै ध्वस्त बनाइदिन्छ । कुनै ठाउँमा भएको यति ऊर्जाले ‘ब्ल्याक होल’ बनाइदिन्छ । अत्यधिक एनर्जीबाट ‘ब्ल्याक होल’ बनिनुलाई विज्ञानले KUGELBLITZ नामाकरण गरेको छ । 

पृथ्वीमा मानव जीवन र शरीर सुगमतापूर्वक बाँच्न सक्ने तापमान १५–३५ डिग्री सेल्सियस मान्न सकिन्छ । ओर्लिँदै गएमा पूरै पृथ्वीको हकमा केही डिग्री माइनससम्म बाहिरी साधन प्रयोग गरेर शरीरले धान्न सक्छ होला । तर, शून्य डिग्रीमै हिम आच्छादित भएर सारा वनस्पति जगत ‘वन्स अपन अ टाइम’को कुरामा परिणत हुन्छ । यसरी नै ताप उकालो चढ्दै गयो भने शरीरको बनावट अनुसार ४५–५० डिग्रीसम्म धान्न सक्छ । तर, यस तापमानमै शरीरका कोशिका मर्न थाल्छन् । मानी लिउँ, शरीरको क्षमता पनि देशकाल परिस्थिति अनुसार तन्किँदै जान्छ र मानव शरीरले क्रमशः सोपान चढ्दै ६०/७०/८०/९०/१०० डिग्री सेल्सियससम्मै आफूलाई ‘सर्वाइभ’ गर्न अनुकूल बनाउँछ । तर, यहाँ पुगेपछि उसको शरीरको क्षमता अझै बढ्ने सम्भावना हुँदाहुँदै पनि उसको अन्त निश्चित हुन्छ । कारण– तपाईँलाई पनि थाहा भएकै कुरा हो, अति सामान्य कुरा पानीको धर्म । पानी जसले हिन्दू धर्मको मान्यताका तीनवटै देव ब्रह्मा, विष्णु र शिवको आकार ग्रहण गर्ने सहज सुगमता राख्छ । तापमान शून्य डिग्री हुँदा ब्रह्मझैं निश्चल समाधिष्ठ, बीचको तापमानमा विष्णुझैँ तरल, सरल, पालक र १०० डिग्री तापमान पुग्दा शिवझैं ताण्डव मच्चाएर (पानी उम्लिँदाको नृत्य) अनन्तमा अलोप विलोप ! तात्पर्य पृथ्वीको हकमा भने १०० डिग्री सेल्सियसमै समस्त प्रकारका जीवनको इतिश्री ।