विश्वकप एसिया छनोट : चीनलाई हराउँदै नेपाल तेस्रो स्थानमा उक्लियो

विश्वकप एसिया छनोट : चीनलाई हराउँदै नेपाल तेस्रो स्थानमा उक्लियो

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन १३, २०७५

काठमाडौं । आइसिसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपाल चौथो जितसँगै अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।  लिगअन्तर्गत सोमबार भएको आफ्नो पाँचौ खेलमा नेपालले चीनलाई ५ रनले हराएको हो ।

टिमको जितमा बलर सीता रानामगर नायक बनिन् । तीन विकेट लिएकी उनी खेलको म्यान अफ दि प्लेयर घोषित भइन् । 

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७७ रन जोडेको थियो । नेपालका लागि कालोल श्रेष्ठले १८, सीता राना मगर ११ र विन्दु रावलले १० रन जोड्नुभयो । अन्यले दोहोरो रनको स्कोर छुन सकेनन्। चीनकी वाङ मेङ र हान लिलीले समान दुई विकेट लिनुभयो । 

७८ रनको लक्ष्य पछ्याएको चीनले निर्धारित ओभरमा ६ विकेट गुमाएर ७२ रनमात्रै जोड्न सक्यो । चीनका लागि झाङ मेईले सर्वाधिक ३३ रन र सेन झुले १८ रन बनाउनुभयो । अन्यले दोहोरो रनको स्कोर छुन सकेनन्।

यो जितसँगै नेपाल ५ खेलबाट ४ जितसहित ८ अंक पाएको छ । समान खेलबाट शतप्रतिशत जित निकालेको थाइल्याण्ड १० अंकसहित शीर्ष स्थानमा यथावत छ। समान खेलबाट आठ अंक बटुलेको युएई दोस्रो स्थानमा छ। उसको रनरेट नेपालभन्दा राम्रो छ । 

ग्लोबल छनोटमा पुग्न जारी प्रतियोगिताको शीर्ष स्थानमा रहन आवश्यक छ। तर, नेपाल शीर्ष स्थानमा पुग्न लगभग असम्भव जस्तै छ । यसका लागि थाइल्याण्डले आफ्नो अन्तिम खेलमा युएईविरूद्ध फराकिलो हार र नेपालले आफ्नो अन्तिम खेलमा कुवेतमाथि फराकिलो जित हासिल गर्न जरुरी छ ।