पृथ्वीनारायण शाहः राष्ट्रनिर्माता,‘क्रूर शासक'देखि ‘देवत्वकरण’सम्म

पृथ्वीनारायण शाहः राष्ट्रनिर्माता,‘क्रूर शासक'देखि ‘देवत्वकरण’सम्म

डा. धनप्रसाद सुवेदी  |  दृष्टिकोण  |  माघ २, २०७६

पुस २७ को आसपासमा सामाजिक सन्जालमा भाइरल भएर आए पृथ्वीनारायण शाह । स्कुलमा पढ्दा कुनै विषयमा पक्ष र विपक्ष भएर वादविवादमा भाग लिएको केही दिनसम्म अर्को पक्षमा बोल्ने साथीहरु शत्रु जस्तै लाग्थ्यो । तर पृथ्वीनारायणको पक्ष विपक्ष भएर वादविवादमा भाग लिनेहरु भने सधैं सधैंका शत्रु हुन् कि जस्तो लाग्ने, गज्जब वादविवाद सुन्न, पढ्न पाइयो । पक्षमा बोल्नेहरुले पृथ्वीनारायणलाई भगवान् विष्णुको कुनै अवतारका रुपमा र विपक्षमा बोल्नेहरुले इतिहासको क्रूर शासकका रुपमा उभ्याउने भरमग्दुर प्रयत्न गरे ।

 नेपाली जनताले बर्सौं संघर्ष गरेर गणतन्त्र ल्याइदिएका छन् । बोल्न, लेख्न छुट छ, आफूलाई लागेको विषय बोल्न र लेख्न पाइएको छ । यो स्वतन्त्रताको भरपूर उपयोग गरे पृथ्वीनारायणका बारेमा बोल्ने र लेख्नेहरुले र यसरी स्वतन्त्रतको उपयोग गरिरहेका छन्, हरेक वर्ष यही समयमा । त्यही मेसोमा मलाई पनि केही शब्द कोर्ने मन लागेर आयो र लेख्दैछु । 

फेसबुका भएका धेरै साथीहरुले आफ्नो स्टाटसमा पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गदैै स्टाटस लेखे, स्वाभाविक लाग्यो । तर सामाजिक सन्जाल अनि मिडियाहरुमा केही ठुला विद्वान, नेता, पत्रकार, वकिल, इतिहासविद्, संस्कृतिविद्देखि राष्ट्रवादको ठेक्का लिन तँछाड मछाड गर्ने केही महानुभावका बहस सुन्दा र पढ्दा भने गज्जब आनन्द आयो ।
 राष्ट्रवादको ठेकेदारी लिने ती महानुभाव जब लाल लाल नेत्र गरेर, चर्को स्वरमा पृथ्वीनारायण शाहका आलोचकहरुलाई ‘पश्चिमाका दलाल’, ‘पराधीन हुन नपाएको पीडा पोख्नेहरु’, ‘क्रिस्चियनको पैसामा रम्नेहरु’, ‘आइएनजिओका डलर डकार्नेहरु’ भन्न थाल्नुहुन्छ, तब दिल खोलेर हाँस्न मन लाग्छ किनभने जो जो अरुलाई चर्को रुपमा त्यस्ता आरोप लगाउनु हुन्छ, उहाँहरुमध्ये धेरैको (सबैको होइन) व्यक्तिगत प्रोफाइल खोज्ने भने उहाँहरु नै ठुला ठुला आइएनजिओसँग सम्बद्ध हुनुहुन्छ, उहाँहरुको खानपान, बसउठ सबै पश्चिमाहरुसँगै हुन्छ, उहाँहरुका धेरै जसो शाखा सन्तान विदेशी पिआर र ग्रिनकार्ड होल्डर हुन्छन् । अनि ‘कागले आफ्नो नाम आफैं काढ्छ’, ‘जो चोर उसको ठुलो स्वर’, ‘चोरको खुट्टा काट् भन्दा खुट्टा उचाल्ने” जस्ता नेपाली उखानको चरितार्थ भएर आउँछ, तब हाँसो भित्रैदेखि हुँडारिएर आउँछ, अनि त नहाँसौँ कसरी !

पृथ्वीनारायणको योगदानलाई आत्मसात् गर्दा, त्यसको सम्मान गर्दा उनको राज्य बिस्तारका क्रममा भएका ज्यादती र त्यसले विभिन्न जाति, समुदायमाथि परेको असर, प्रभाव र त्यसले सिर्जना गरेको मनोविज्ञानलाई बिर्सनु पर्छ भन्ने कुरा कदापि वस्तुसंगत हुँदैन । कुनै लप्पन छप्पन नगरी भन्नुपर्दा पृथ्वीनारायणले गरेको राज्य विस्तार नै हो । उनले साम, दाम, दण्ड, भेद नीति अनुसरण गरेरै राज्य विस्तार गरेको हो । 

पृथ्वीनारायण शाहले नेपाल नामको भूगोललाई एउटा राज्य प्रणालीमा समेट्न योगदान गरेका हुन् । यसमा दुई मत छैन । तर उनको पक्षमा बहस गर्नेहरुका कुरा सुन्दा लाग्छ, पृथ्वीनारायण शाहले नेपाल नामको भूमि नै सृष्टि गरेका हुन्, यदि उनी हुँदैनथे भने नेपाल नामको भूगोल नै पृथ्वीबाट गायब हुन्थ्यो । अझ उनीहरु यतिसम्म भन्न सक्छन् कि अहिले जो जो नेपालको भूगोलमा रहेका छन्, ती सबैले पृथ्वीनारायणलाई भगवान मानेर पूजा गर्नुपर्छ, अन्यथा नेपालमा बस्नु हुँदैन । त्यसरी नै भिन्न कोणबाट बहस गर्नेहरुले पनि के कम ! उनीहरुले पनि पृथ्वीनारायण शाहलाई एउटा क्रूर शासकका रुपमा चित्रण गर्नका लागि चाहिने जति शब्द, बिम्बहरुको प्रयोग गरे, गरिरहेका छन्  । यसरी इतिहासको एक जना राजालाई लिएर गरिएको तातो बहसले पुसको जाडोलाई न्यानो गरायो । 

कुनै विषय वा ऐतिहासिक व्यक्तिका बारेमा बहस गर्न पाइन्छ तर त्यसको अधि मूल्याङ्कन, अवमूल्यन दुवै ठिक होइनन् । पृथ्वीनारायणको योगदानलाई आत्मसात् गर्दा, त्यसको सम्मान गर्दा उनको राज्य बिस्तारका क्रममा भएका ज्यादती र त्यसले विभिन्न जाति, समुदायमाथि परेको असर, प्रभाव र त्यसले सिर्जना गरेको मनोविज्ञानलाई बिर्सनु पर्छ भन्ने कुरा कदापि वस्तुसंगत हुँदैन । कुनै लप्पन छप्पन नगरी भन्नुपर्दा पृथ्वीनारायणले गरेको राज्य विस्तार नै हो । उनले साम, दाम, दण्ड, भेद नीति अनुसरण गरेरै राज्य विस्तार गरेको हो । 

अरु राज्यलाई छल, कपट र बल प्रयोग गरी कब्जा गरेकै हो । यस क्रममा नाक कान काटेको, सन्धि गर्न भनी बोलाएर झुक्याई मारेको जस्ता इतिहासमा लेखिएका कुराहरुमा केही बढाइचढाइ होला तर पूरै असत्य हुँदै होइन । त्यसैले पृथ्वीनारायण शाहलाई चाहिनेभन्दा बढी देवत्वकरण गरिरहन आवश्यक छैन । राम्रा कामको प्रशंसा गर्दै गर्दा, जस दिँदै गर्दा नराम्रा कामलाई बिर्सनुपर्छ भन्ने कुरा सोरै आना गलत हो । यदि नराम्रा काम बिर्सने हो भने नेपालको इतिहासमा जङ्गबहादुर, चन्द्रशमशेर, जुद्धशमशेर जस्ता असल शासक अरु कोही छैनन् । 

जहानियाँ शासनको सुरुआत गर्ने कुरालाई बिर्सेर नयाँ मुलुक अर्थात् बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता ल्याउने, दरबार स्कुल खोल्ने लगायतका ऐतिहासिक काम फत्ते गर्ने कुराका आधारमा मात्रै जङ्गबहादुरको मूल्याङ्कन गर्ने हो भने पृथ्वीनारयण शाहपछिका राष्ट्र निर्माता जङ्गबहादुरलाई मान्नुपर्ने हुन्छ । मकै पर्व लगायतका कुरालाई आँखा चिम्लिने हो सती प्रथा तथा दास प्रथा उन्मूलन, त्रिचन्द्र कलेज स्थापना, रक्सौल अमलेखगन्ज रेल्वेसेवा निर्माणदेखि सिंहदरबार बनाउने जस्ता ऐतिहासिक काम गर्ने चन्द्रशमशेरलाई नेपालका अब्राहम लिङ्कन भन्नुपर्ने हुन्छ ।

 सहिद पर्वलाई आँखा चिम्लिने अनि ९० र ७२ सालको भूकम्पपछिको पुनर्निर्माणको तुलना गर्ने हो भने हाम्रा अहिलेका नेताहरुभन्दा जुद्धशमशेर कहाँ हो कहाँ माथि देखापर्छन् । त्यसैले कुनै पनि व्यक्तिको मूल्याङ्कन उसका राम्रा र नराम्रा दुवै थरी कामका आधारमा गरिनुपर्छ । त्यसो गर्दा पृथ्वीनारायण शाहको गल्ती, कमजोरीमाथि हुने बहसलाई पनि सुन्न सक्नुपर्छ । जब त्यो धीरता हुन्छ तब बहस तर्कसङ्गत, वस्तुपरक र स्वस्थ हुन्छ । त्यसो भयो भने हामी हामी बिचमा गाली, गलौज, विद्वेष, आरोप प्रत्यारोपको आवश्यकता हुँदैन । 

पृथ्वीनारायण शाहले जे जसरी भए पनि भूगोल जोडे, त्यो कदम एकीकरण हो र त्यसैले उनी राष्ट्रनिर्माता हुन् भन्ने एउटा तर्क छ । स्मरणीय कुरा के हो भने भूगोल जोड्नु मात्रै एकीकरण र त्यस्तो काम गर्नेलाई राष्ट्रनिर्माता भन्ने हो अहिलेको भारतको राष्ट्रनिर्माता इस्ट इन्डिया कम्पनीलाई मान्नुपर्ने हुन्छ । त्यस्तै कुनै देशलाई जबरजस्ती हडप्ने कामलाई एकीकरण मान्ने हो भने सिक्किमको भारत विलय पनि एकीकरण हुन्छ र लेन्डुपदोर्जेहरुलाई गाली गर्न मिल्दैन । हामी अर्को तर्क गर्छौं, पृथ्वीनारायण उदार थिए, महान् थिए, दूरदर्शी थिए, विजित भूमिका जनतालाई कुनै दुःख दिएनन् । तर त्यो कुरा पनि पूरापूर सत्य देखिँदैन । राज्य बिस्तारका क्रममा उनी र उनको फौजले गरेका ज्यादती र क्रूरताका थुप्रै प्रमाणहरु छन् । कतिपय कुरा विदेशीले आग्रहवश थपथाप गरे होलान् तर क्रूरताका घटना नभएका भने होइनन् । 

कर्णाली, राप्ती र सुदूर पश्चिमतिर गोर्खालीका सम्बन्धमा बनेका उखान र त्यहाँको जनताको अहिलेको मनोविज्ञानले पनि एकीकरणका बेलामा स्थानीय जनतामाथि केही न केही ज्यादती भएकै थियो भन्ने देखिन्छ । कर्णालीका जनता बाहिरबाट आउनेलाई गोर्खाली भन्छन् र गोर्खाली भनेका त्यहाँका जनतालाई शोषण गर्न आउनेहरु हुन् भन्ने मनोविज्ञान अहिले पनि छ भन्ने कुरा कर्णालका बारेमा लेखिएका साहित्यमा जताततै पढ्न पाइन्छ । त्यसैले पृथ्वीनारायण शाहले कुनै गल्ती गरेकै थिएनन्, उनको क्रूरता बारेमा लेखिएका कुरा सबै आग्रहवश लेखिएका हुन् भनेर उनलाई चाहिनेभन्दा बढ्ता महान् बनाइरहन आवश्यक छैन । 

राष्ट्र तथा सरकार मानिसको सुख, शान्ति र सुरक्षाका लागि चाहिने हो । एउटा तर्क छ, पृथ्वीनारायण शाहको एकीकरणका कारण हामी नेपाली भएर स्वाभिमानपूर्वक शिर ठाडो गरेर बाँच्न पाएका छौँ । तर यसमा प्रतितर्क गर्न सकिन्छ, एउटा दलित, एउटा गरिब, कर्णालीवासी, तराईका मुसहर, भारतमा गल्लीगल्लीमा बहादुर कहलिन विवश नेपाली, बम्बईका कोठीमा चीत्कार गरिरहेका नेपाली चेली, विदेशमा पसिना पोख्न विवश युवा जमात सबैलाई हेरेर अनि छातीमा हात राखेर भन्नुपर्छ नेपाली हुनुमा हाम्रो शिर कति ठडिएको छ ? अनि हाम्रो स्वाभिमान कति र कस्तो छ ? हामी तर्क गर्छौं, पृथ्वीनारायणले एकीकरण गरेको हुँदा नेपाल विदेशको गुलाम भएन । तर नेपाल अंग्रेजको अधीनस्थ  हुनबाट जोगाउने मुख्य श्रेय भने पृथ्वीनारायणलाई नभएर बलभद्र, अमरसिंहहरुलाई जान्छ । र अर्को कटु सत्य के हो भने नेपाल भारत वा अरु देश जस्तो प्रत्यक्ष रुपमा कसैको उपनिवेश त भएन तर अप्रत्यक्ष रुपमा पराधीन भने भई रह्यो र अझै पनि त्यस्तै अवस्थामा छ । 

कुरा यति हो कि त्यति बेलाका राजाहरुमध्ये पृथ्वीनारायण बढी दूरदर्शी, महत्त्वाकांक्षी र स्वप्नद्रष्टा थिए । गोर्खाको सानो भूभागको राजा हुनुभन्दा अलिक ठुलो काठमाडौँ उपत्यकासहितको राजा हुने सपना देखे र लडाइँ गरे । यस क्रममा अहिलेको नेपालको भौगोलिक एकीकरण हुने परिस्थिति बन्यो । उनले सबैको मन जितेर एउटा राज्य खडा गरेका भए, उनी निर्विवाद राष्ट्रनिर्माता बन्थे, राष्ट्रिय एकता नायक वा प्रतीकका रुपमा रहन्थे । तर त्यो सम्भव थिएन, भएन । त्यसैले पृथ्वीनारायणमाथि प्रश्न उठे । स्वाभाविक हो, प्रश्न जहाँ पनि हुन्छन्, पृथ्वीनारायणमाथि छन् त्यसमा टाउको दुखाइ रहन आवश्यक छैन । उनले जे गर्न सके गरे, त्यसको सही मूल्याङ्कन गरे भइहाल्यो । हामी अनावश्यक टाउको दुखाइरहेका छौँ । 

एकथरीहरु दिव्योपदेशलाई देखाएर अनि माधव घिमिरे, भीमनिधि तिवारी आदिका रचनालाई उद्धृत गर्दै पृथ्वीनारायणलाई राष्ट्रिय एकताका प्रतीक मान्नुपर्ने जिकिर गरिरहेका छन् । पृथ्वीनारायणले मर्नुअघि भारदारलाई सुनाएको भनिएको दिव्योपदेश लाई उनीपछिका शासकहरुले व्यवहारमा ल्याएको तथ्य कतै फेला पर्दैन । बाबुराम आचार्यका पालामा आएर मात्रै फेला परेको त्यो उपदेश अहिले हाम्रो बुद्धिविलास अनि भाषिक तथा साहित्यिक अध्ययनको सामग्रीका रुपमा सीमित छ । दिव्योपदेश लाई हेर्दा पृथ्वीनारायण एक जना दूरदर्शी शासक देखिन्छन् ।

तर उनको दूरदर्शनले नेपालका सबै जाति, वर्ग र क्षेत्रको भावनालाई जित्न सकेन, उनका उत्तराधिकारीहरु भोगविलासका डुबे, दरबारिया भाइभारदारका षडयन्त्रका चङ्गुलमा फसे । ‘नेपाल चार जात छत्तिस वर्णको फूलवारी हो’ भन्ने उनको दिव्योपदेशको कुरा हामी खुब गर्छौँ । तर विडम्बना, नेपालमा जति जातीय विभेद, छुवाछुत दुनियाँमा कहीँ पनि छैन । पृथ्वीनारायणको कदमबाट नेपाल नामको राज्य त बन्यो तर जनताहरु भने सुखी र खुसी हुने अवस्था बनेन । शासकहरु जनताप्रति उत्तरदायी भएनन्, जनता गरिब र उत्पीडिनको सिकार भए । त्यसैले शासकका विरुद्ध जनसंघर्ष भए र अन्ततः राजतन्त्र गयो, गणतन्त्र आयो । यो ऐतिहासिक तथ्यले के पुष्टि गर्छ भने तत्कालीन अवस्थामा पृथ्वीनारायण शाहको कदमले नेपाल नामको एउटा देश त जन्मायो तर यहाँका सबै जनताको मन जित्ने, सबैले खुसी हुने अवस्था भने रहेन । त्यसैले पृथ्वीनारायण शाहमाथि प्रश्नहरु छन् । यो सत्यलाई हामीले आत्मसात् गर्न जरुरी छ । 

फणीन्द्र नेपालहरुले ग्रेटर नेपालको अभियान चलाइरहेका छन्, त्यसलाई सफल बनाएर देखाउँ, सकिँदैन कालापानी, सुस्ता लगायतको गुमेको भूमि फिर्ता ल्याउँ, त्यही नै पृथ्वीनारायणप्रतिको सच्चा सम्मान हुन्छ । जहाँसम्म राष्ट्रिय एकता दिवसको कुरा छ, नेपालका सबै जाति, समुदाय, वर्ग, क्षेत्र, लिङ्गका जनताले आफू नेपाली भएकामा गर्व गर्ने अवस्था सिर्जना भएपछि सबै जनताका दिलदिमागमा राष्ट्रिय एकताको भाव जन्मिन्छ ।

माधव घिमिरे, भीमनिधि तिवारी लगायत स्रष्टाहरुले पृथ्वीनारायणलाई शाहलाई महानायक बनाएर कविता, नाटकहरु लेखेका छन् । पृथ्वीनारायण शाहको एकीकरण अभियानबाट माधव घिमिरेहरुको भाषा, संस्कृति, मूल्य, मान्यताको संरक्षण भएको छ । त्यसैले उनीहरुले पृथ्वीनारायणलाई महानायक ठान्नु स्वाभाविक हो । भीमनिधि तिवारीको पुख्र्याैली संस्कृतिमा जाँडरक्सी खानु एकदमै खराब काम हो । त्यसैले उनले जाँड खाने मगर राजालाई उपहास गर्दै र शाहवंशीय राजालाई महानायक बनाउँदै नाटक लेखेका छन् । हामीबिचको समस्या यहीँनेर छ, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देशमा कुनै एउटा जाति, भाषा, संस्कृति र मनोविज्ञानको रक्षकका रुपमा पृथ्वीनारायणलाई उभ्याइएपछि अरुले उनलाई कसरी रक्षक मान्न सक्छन् त ?

मान्छेको पहिलो आवश्यकता उसको गाँस, बास, कपडा, सुरक्षाका साथै उसको भाषा, संस्कृतिसँग जोडिएको उसको पहिचान हो । रातदिन काम गरेर पनि दुईछाक खान र एकसरो लाउन नपाउनेका केको राष्ट्र, केको राष्ट्रिय स्वाभिमान ? जब राज्यले गाँस, बास, कपास जस्ता आधारभूत कुराको व्यवस्था गर्न सक्तैन, जब राज्य नै भाषा, संस्कृति, स्वाभिमानमाथि अतिक्रमण गर्छ भने त्यस्तो राज्यको औचित्य हुँदैन । त्यसैले माधव घिमिरे, भीमनिधि तिवारीहरुले लेख्ने साहित्य र भूपाल राई, राजु स्याङतान, केशव सिलवालहरुले लेख्ने साहित्यमा आकाश जमिनको फरक परेको हो । 'पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतीक नमान्नेहरु दलाल हुन्' भनेर युटुबमा कुर्लनेहरुले यो तथ्यलाई मनन गर्न आवश्यक छ । 

हामी पृथ्वीनारायणलाई राष्ट्रनिर्माता भन्ने वा नभन्ने कुरामा चर्को बहस गरिरहेका छौँ । यो अनावश्यक बहस हो भन्ने लाग्छ । नेपाल राष्ट्रको निर्माता धेरै छन्, तीमध्ये पृथ्वीनारायण पनि एक हुन् । बिसे नगर्चीदेखि लिएर उनका सेनाको सहयोग विना पृथ्वीनारायणको अभियान सफल बन्ने थिएन । पृथ्वीनारायणको जीवन कालमा अहिलेको नेपालको केही भूभाग मात्रै जोडिएको थियो बाँकी भूभाग उनका छोराबुहारीको राजकाजका बेला जोडियो ।

अंग्रेजसँगको युद्धमा ज्यानको बाजी लगाएर लड्नेहरु नभइदिएको भए नेपाल नामको देश रहँदैनथ्यो । इतिहासका खल पात्रका रुपमा चिनिएका जंगबहादुरले नयाँ मुलुक फिर्ता ल्याइदिएका हुन् । अर्को कटु यथार्थ, अंग्रेजले नसकेर नेपालको भूगोल नहडपेको होइन, बहादुर नेपालीलाई नचिढाएर आफ्नो सेनालाई मजबुत बनाउनका लागि उसले नेपाललाई त्यतिकै छाडिदिएको हो भन्ने कुरातर्फ पनि इन्कार गर्ने अवस्था हामीसँग छैन । त्यसैले पहिलो र दोस्रो विश्वयुद्धमा अंग्रेजका पक्षमा ज्यान अर्पेर लड्ने योद्धाहरुको गुनका कारण पनि नेपाल अंग्रेजको उपनिवेश बन्नबाट जोगिएको हो भन्ने कुरालाई हामीले बिर्सन मिल्दैन । 

नेपाल राष्ट्र भनेको भूगोलको सीमा मात्र होइन । कला, संस्कृति, भाषा आदि सबैको समष्टिबाट राष्ट्र बन्ने हो । नेपाल भ्रमणमा आउने विदेशीहरुले हेर्ने, घुम्ने र नेपाललाई चिन्ने मानवनिर्मित कुराहरु भनेका यहाँका पुराना दरबार, मन्दिर, कलाकृति आदि हुन् । लुम्बिनी, काठमाडौँ, पाटन र भक्तपुरका दरबार स्क्वाएरहरु, पशुपति, स्वयम्भू, बौद्धनाथ आदि नेपाल राष्ट्रका परिचायक हुन् । नेपालका पुराना दरबार, कला कृति, मन्दिर, गुम्बाहरु लिच्छवी र मल्ल कालमा बनेका हुन् । शाहकालमा त्यस्ता उल्लेख्य कृतिहरु निर्माण भएनन् । नेपालाई चिनाउने अर्को महत्त्वपूर्ण पक्ष भनेको यहाँको सांस्कृतिक विविधता, जातीय तथा भाषिक विविधताहरु हुन्, पृथ्वीनारायण र तिनका उत्तराधिकारीले त्यो विविधतालाई राम्ररी फस्टाउन दिएनन्, नत्र त्यसले नेपाल राष्ट्रनिर्माण अझै समृद्ध, विकसित र बिस्तारित हुन्थ्यो । यसर्थ नेपालको राष्ट्रनिर्मार्ताको जस कुनै एउटालाई मात्रै दिनुपर्छ भन्ने आग्रह वस्तुसंगत छैन । राष्ट्रनिर्माताको सबै जस पृथ्वीनारायणलाई दिइनुको कुनै तुक छैन । 

 हो, आजको चेतना र परिवेशमा उहिलेको इतिहास र ऐतिहासिक व्यक्तिको मूल्याङ्कन गर्नु युक्सिंगत हुँदैन, तत्कालीन परिवेश र चेतनाका सापेक्षतामा गर्नुपर्छ । आजभन्दा अढाई सय वर्षअघि सानो देशबाट ठुलो देशको राजा बन्ने महत्त्वाकांक्षाबाट पृथ्वीनारायणले जे गर्न सक्थे, त्यही गरेका हुन् । त्यति बेलाको चेतना र परिवेश अनुसार राज्य बिस्तार गर्दा कतिपय ठाउँमा ज्यादती पनि भए । त्यत्रो राज्य निर्माणको लडाइँ कमजोरी हुने नै भए ।

यसर्थ कतिपय कमजोरीसहित अहिलेको नेपालको भूगोल र त्यससँग जोडिएको नेपाली राष्ट्रियताको निर्माणको कामको सुरुआत पृथ्वीनारायणबाट भयो । त्यसको फाइदा र बेफाइदा दुवैका भागीदार हामी बन्यौँ । अब यहाँनेर हामीले आत्मसात् गर्ने कुरा के हो भने  हामी जो जो यो भूगोलभित्र बसेर ‘नेपाली’ नामको पहिचानमा बाँचेका छौँ, त्यसमा पृथ्वीनारायणको योगदान छ । नेपालको भूगोलमा बसिसकेपछि अनि नेपाली नामको नागरिकता भिरिसकेपछि त्यो बापत एउटा नागरिकका हैसियतामा उनलाई सम्मान गर्नुपर्छ । त्यसमा पनि कन्जुस्याइँ गर्नुहुन्न, हामी कृतघ्न बन्नुहुन्न । तर सम्मानका नाममा देवत्करण गर्ने र उनले बोकन नसक्ने भारी बोकाइदिने कुराले उनीमाथि न्याय हुँदैन । 

बितेका कुरामा झगडा गरेर केही फाइदा छैन । इतिहासबाट शिक्षा लिने हो । इतिहासलाई उल्ट्याउन सकिँदैन तर इतिहासका गल्तीलाई सच्याउन भने सकिन्छ । हिजो जे भयो भयो, त्यसमा अनावश्यक बहस गर्नु समयको बर्बादी मात्रै हो, आपसमा कटुता बढाउनु मात्रै हो । अरुलाई विदेशी दलाल घोषणा गर्दै आफूलाई पृथ्वीनारायणको असली भक्त दाबी गर्नेहरुलाई आग्रह छ, उनको भजन गाएर र अरुलाई गाली गरेर पृथ्वीनारायणको सम्मान हुँदैन । सकिन्छ, फणीन्द्र नेपालहरुले ग्रेटर नेपालको अभियान चलाइरहेका छन्, त्यसलाई सफल बनाएर देखाउँ, सकिँदैन कालापानी, सुस्ता लगायतको गुमेको भूमि फिर्ता ल्याउँ, त्यही नै पृथ्वीनारायणप्रतिको सच्चा सम्मान हुन्छ । जहाँसम्म राष्ट्रिय एकता दिवसको कुरा छ, नेपालका सबै जाति, समुदाय, वर्ग, क्षेत्र, लिङ्गका जनताले आफू नेपाली भएकामा गर्व गर्ने अवस्था सिर्जना भएपछि सबै जनताका दिलदिमागमा राष्ट्रिय एकताको भाव जन्मिन्छ । राष्ट्रिय एकता दिवस त्यही दिनबाट सुरु हुन्छ ।