त्रासको रोग: पोस्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डर अर्थात ‘एन्जाइटी’

त्रासको रोग: पोस्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डर अर्थात ‘एन्जाइटी’

प्रा.डा.सुदर्शन नरसिंह प्रधान  |  दृष्टिकोण  |  माघ ३, २०७६

हामीले ख्याल गर्नुपर्ने र छलफल चलाउनुपर्ने अर्को विषय हो– पोस्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) ।

यो विषय भनेको कुनै एउटा ठूलो दुर्घटना अर्थात् आपतविपत परेको समयमा त्यसलाई मानिसले कसरी समाधान गर्छन् भन्ने कुरासँग सम्बन्धित विषय हो ।

जस्तो: ठूलो भूकम्प आयो र घरबार भत्कियो, बाढीपहिरो  आएर आफ्ना सबै चिज बगाएयो । मानिसले यस्ता अकस्मात रूपमा परेका विपत्तिलाई कसरी लिन्छन् ? त्यस्तो समयमा मानिसहरूमा मानसिक समस्याहरू आउन सक्छन् भन्ने कुरालाई चिकत्सकीय भाषामा पीटीएसडी भनिन्छ ।

हामीकहाँ हरेक साल जस्तो बाढीको पीडा भोगिरहेका हुन्छौँ । भूकम्पको पीडा त हामीले भोगेर आएका हौँ । त्यसबेला कतिलाई पीटीएसडी)को समस्या भएको थियो । हावाहुरीले कति समस्याहरू ल्याएको हुन्छ । विदेशमा ‘बम ब्लास्टिङ’ हुने, युद्ध हुनेजस्ता अवस्थाहरूमा मानिसमा मानसिक समस्या देखापर्ने गर्छ । यस्तो समस्या देखापर्दा मान्छेलाई मृत्युसँग ज्यादै नजिक भएको जस्तो अनुभूति हुन्छ ।

जब मानिस म पनि मर्दै छु,  अब आफ्नो जिन्दगी खत्तम भयो  भन्नेजस्तो ठान्ने गर्छ, उदाहरणका लागि माओवादी जनयुद्धमा मान्छेहरूलाई धम्क्याए, त्रास देखाए, मार्ने कुराहरू गरे, सुराकी हो भनेर मारियो । सेनामा भएकाले पनि माओवादीमा भएकाहरूलाई यसो गरे वा माओवादीले पनि जनतालाई यसो गरे भन्ने कुरा छ ।  दुवै पक्षबाट एउटा त्रास भयो । मलाई मार्ने भयो ! म मर्दै छु ! अब के हुन्छ ! भन्ने कुरा धेरै नै आयो ।

यसमा प्रायजसो आउने सबभन्दा ठूलो कुरा भनेको ‘अब म मर्न लागेँ’ भन्ने कुराको त्रास नै हो । अर्को एउटा पाटो कुटाइपिटाइको आउँछ । जस्तो: ग्याङ फाइट गर्दा मरणासन्न हुने गरी पिटे, अब ‘म अब मर्दै छु’ भन्ने मानसिक समस्या हुन सक्छ ।

उसलाई शारीरीक रूपमा त समस्या भएकै हुन्छ । टाउको फुटेको हुन सक्छ, हात वा खुट्टा भाँचिएको हुन सक्छ । तर, ‘इमोस्नल पार्ट’ के हुन्छ भने जहिले पनि उसलाई ‘त्रास’  हुने गर्छ ।

त्यस्तो मानिस हुलमुलमा जानै सक्दैन । जान डराउँछ ।  अर्कोथरी मानिस कस्टडीमा हुँदा यातना पाएकोे मानिस छ भने पुलिस, आर्मी देख्दा नै डराउँछ । उनीहरूलाई देख्यो कि भागीभागी हिँड्ने गर्छ ।

जब मानिसलाई अत्यधिक डर र त्रास भइरहने, आफूलाई केही भइहाल्छ कि, कसैले नराम्रो पो गरिहाल्छ कि भन्ने कुरा मात्र मानिसको मनमा आउने गर्छ, यथार्थमा उसलाई कसैले केही पनि गरेको भने हुँदैन ।

जीवनको कुनै कालखण्डमा एक पटक त उसले यो समस्याको सामना गरेकै हुन्छ । भूकम्पमा, बाढी आउँदा, हावाहुरीमा वा कुनै दुर्घटनामा परेको समयमा प्रत्यक्ष उसले आफ्नो मरण नै देखेको जस्तो अनुभूत गरेको हुन्छ । त्यसमा उसलाई पछि आएर शारीरिक रूपमा ठीक भए पनि ‘मलाई केही हुन्छ कि ? केही नराम्रो हुन्छ कि ? निस्सासिएर मरिन्छ कि ? कसैले केही बोल्यो भने कसैले मलाई मारिहाल्छ कि ? म मरेँ भने त बर्बाद हुन्छ । बालबच्चा छन्, श्रीमती छ । घर परिवार छन्’ भन्ने पीडाले सधैँ पिरोलिरहन्छ ।

त्यसैले गर्दा त्यो घटना वा विषयलाई प्रायः तिरस्कार गर्छ, जुन कुराबाट उसलाई त्रास छ । त्यो कुराबाट टाढाटाढा भाग्ने कोसिस गरिरहेको हुन्छ ।

जस्तै: हुलमुल, पुलिस, भीडभाड जस्ता चिजहरूसँग मानिस टाढा भागिरहेको हुन्छ । बन्द कोठामा बस्दा उसलाई त्रास लाग्छ भने त्यो कोठामा बस्दैन । सार्वजनिक ठाउँमा गएर बोल्नुपर्‍यो भने बोल्नै चाहँदैन । त्यसले यो सबै कुरालाई ‘अभोइड’ गर्न थाल्छ । जुन गर्नुपर्ने कुरा हो, त्यो काम नै उसले छाडिदिन्छ ।

विभिन्न किसिमका हुन्छन् यी डर । कसैलाई उचाइबाट, कसैलाई प्लेन चढ्न डर लागेको हुन्छ, कसैलाई लिफ्ट चढ्न डर लाग्ने हुन्छ । यस्ता क्रियाकलापहरू देखापरेमा यो समस्या हो भनेर थाहा पाउन सकिन्छ ।

त्यो ‘मुभमेन्ट’मा उसलाई अत्यधिक डरको कारणले गर्दा मुटु ढुकढुक हुने, हातहरू कामेको जस्तो हुने, चिटचिट पसिना आउने, निद्रा नलाग्नेजस्ता समस्याहरू देखापर्छन् । त्यसले गर्दा जहिले पनि एउटा ‘त्रास’ उसको दिमागमा बसिरहेको हुन्छ । यस्ता मानिस हत्तपत्त अरू मान्छेहरूसँग बोल्न चाहँदैनन्, घुलमिल हुन चाहँदैनन् । अलग भएर बसिरहेका हुन्छन् । यो दिमागमा गडेर रहेको त्रासका कारण हुने समस्या हो ।

यसको उपचारका लागि केही सावधानी अपनाउनु जरुरी छ ।  एउटा त जुन कुरादेखि ऊ बढी डराउँछ, त्यही कुराको ‘फेस’ गर्ने नै यसको पहिलो उपचार हो । मानिस हुलमुलदेखि डराउँछ भने हुलमुलमा नै पठाउने वा लैजाने । बन्द कोठामा बस्दा उसलाई डर लाग्छ भन्छ भने बन्द कोठामा नै राख्ने ।

कसैलाई कुकुरले टोकेको छ भने कुकुरसँग डर लाग्ने हुन्छ ।  कुकुर देख्यो कि भागीभागी हिँड्छ भने उसलाई पनि कुकुर नै देखाउने तथा छेउमा लैजाने । जस्तो कि कुकुरदेखि डराउने छ भने उसलाई हामी ‘एक्सपोजर’मा लैजान्छौँ । ‘एक्स्पोजर’मा कुकुरका सानासाना फोटाहरू देखाउने अनि अलिक ठूलो कुकुर देखाउने गरेर सहजता कायमा गराउन सकिन्छ ।

पछिपछि राम्रा साना हिस्सी परेका कुकुरहरू देखाइदियो भने कुकुरले अब केही पनि नगर्ने रहेछ भन्ने हुन्छ । मन जित्दै जान्छ ।

हरेक पक्षमा जाँदाखेरि हामीले जुन चिजले उसलाई डर लाग्ने हुन्छ, त्यो चिजमा लगेर ‘फेस’ गराउनुपर्छ । यी सबै औषधि नखाईकन गरिने अत्मबल बढाउने उपचार हुन् । यी कुरा त्रासको समस्या भएका मानिसलाई नै सिकाउन सकिन्छ ।

आफ्नो मन बलियो पार्ने । म पनि केही गर्न सक्छु भन्ने आफूले आफूलाई बोल्न दिने गर्नुपर्छ । मलाई डर लाग्दैन, म हरेक कुराहरूमा फेस गर्न सक्छु भन्नेजस्ता क्रियाकलापहरूले उसलाई सहज बनाउन सकिन्छ ।

अहिले त धेरै किसिमका औषधिहरू पनि आइसकेका छन्, जसले गर्दा जस्तोसुकै समस्यामा पनि म जुध्न सक्छु भन्ने क्षमता बढाउने गर्छ ।

त्रासको रोग लागेको भनेर थाहा पाउन भने जरुरी छ । जब मानिसले हरेक कुरालाई ‘एभोइड’ गर्न थालेको हुन्छ, कसैसँग ‘इन्टर्‍याक्ट’ गर्दैन । डराउँछ । पहिला समाजमा घुलमिल हुने मानिस घुलमिल हुँदैन । आफ्नो कोठामा मात्र बसिरहेको हुन्छ ।  यो डिप्रेसन नै त होइन तर यसलाई हामी ‘एन्जाइटी’ भन्छौँ ।

यो ‘एन्जाइटी’को ‘फिचर’ भनेको एउटा डर लाग्ने हुन्छ । विना कारण डराउने । यो पीटीएसडीको एउटा पक्ष हो । हाम्रा लागि त यो एक प्रकारको रोग हो । यसलाई ठीक पार्न सजिलै सकिन्छ । 

यसको समयमा उपचार नहुँदा भने विभिन्न खालका समस्याहरू हुन सक्छन् । समयमा उपचार नहुँदा उसले बोल्दैन, काम गर्दैन, अरूसँग संवाद गर्दैन । त्यस्तो मानिस कोहीसँग बोल्न पनि हिच्किचाएको जस्तो हुन्छ । आँट नै आउँदैन । हिम्मत नै हुँदैन । हुँदाहुँदे बोली नै नआउने हुन सक्छ । 

विभिन्न किसिमका हुन्छन् यी डर । कसैलाई उचाइबाट, कसैलाई प्लेन चढ्न डर लागेको हुन्छ, कसैलाई लिफ्ट चढ्न डर लाग्ने हुन्छ । यस्ता क्रियाकलापहरू देखापरेमा यो समस्या हो भनेर थाहा पाउन सकिन्छ ।

यो समस्या सबै मान्छेहरूलाई हुन्छ भन्ने पनि हुँदैन । सबैमा हुने कुरा होइन । यो जनसंख्यामो ५ प्रतिशतलाई हुने आँकडा छ । एकदम समान्य जस्तो देखिने लक्ष्णहरू, जस्तै: ‘जति पढे पनि फेल हुन्छु कि ?’ भन्ने ‘यो पनि जानेको छैन, त्यो पनि जानेको छैन’ भन्ने मात्र देखाउने गरिएको हुन्छ ।

त्यो बेलामा जति पढ्यो, त्यति बिर्सेको जस्तो पनि हुन्छ । तर, यो राम्रो विद्यार्थीलाई पनि हुन्छ । कतै म गर्न सक्दिनँ कि ? केही नराम्रो हुन्छ कि ? भन्ने हुन्छ ।

विना कारण डर लाग्ने हुन्छ, जहाँ डराउनुपर्ने आवश्यकता नै छैन । राम्रो विद्यार्थीले राम्रै गरिरहेको हुन्छ तर उसलाई त्यो गाह्रो भइरहेको हुन्छ । यसको उपचार भनेको जुन कुरासँग ऊ डराउने गर्छ, त्यससँग ‘फेस’ गराउनु र एक्सरसाइज गर्न सिकाउने अनि औषधि पनि खानुपर्ने हुन्छ । औषधि खाएपछि राम्रो हुँदै जान्छ ।