चित्रकुमार सुवेदी | साहित्य | माघ ४, २०७६
म राजा बन्न चाहन्छु
गड्यौँला देशको
कम काइदा हुन्छ
गड्यौँला देशको राजा बन्न
किनकि
गड्यौँला प्राकृतिक हलो
ताछ्नुपर्दैन
खुर्किनुपर्दैन
ठाडो हुन्छ कि घोसे
केही चिन्ता पर्दैन
न गोरु
न जुवा
न हल्लुँडो ।
गड्यौँलालाई कुट, काट, फाल, निचोर, चिमोट
गड्यौँलामाथि उफ्र, नाच, गाऊ, खेल, खाऊ, रमाऊ
गड्यौँलाले प्रतिक्रिया जनाउँदैन
त्यसैले
म निष्फिक्री शासन गर्न
विवादरहित शासक बन्न
सधैं एक्लै राजा भइरहन
म राजा बन्न चाहन्छु ।
गड्यौँला देशको
जहाँ गड्यौला मात्रै बस्छन्
म विरोध सहँदिनँ
कुरा काटेको मनपर्दैन
आलोचक, समालोचक देख्दै रिस उठ्छ ।
म खाऊँ कि नखाऊँ कि
लाऊँ कि नलाऊँ कि
आँगन पुरेर बलेसीमा
पोखरी बनाऊँ कि
डाँडामा टावर ठड्याऊँ कि
गहिरोमा पानी जमाऊँ ?
कसैले विरोध गर्न पाइँदैन
म जे गर्छु
सबैले ठीक भन्नुपर्छ
सम्भव छैन मान्छेको बस्तीमा
म गड्यौँला देशको राजा बन्न चाहन्छु ।
गड्यौँला
घरि अघि सर्छ
घरि पछि सर्छ
यो उसको कमजोरी होइन
विशेषता हो
म बस्दिनँ भूपी दाइ
तपाईंले देख्नुभएको
यो हल्लै हल्लाको देशमा
रातदिन गरी
१८ घण्टा खट्दा पनि
नदेख्ने मान्छेहरूको वस्तीमा
शान्तपूर्वक शासन गर्न
सधैँ राजा भइरहन
म गड्यौँला देशको राजा बन्न चाहन्छु
मेरो एउटै एजेण्डा छ-
गड्यौँलालाई मान्छे बनाउने
तर, नबोल्ने मान्छे ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- ६ नेर्पा, खोटाङ