न त सस्तो तेल छ

न त सस्तो तेल छ

राजु खप्तडी बस्नेत  |  साहित्य  |  माघ ४, २०७६

न त सस्तो तेल छ
न त चीनकै रेल छ
श्रम मन्त्रालयमा गएर हेर
कति ठेलमठेल छ ।

न त भ्रष्टाचारीलाई जेल छ
न त अपराधीलाई नेल छ
वकिल कार्यालयमा गएर हेर 
कति किनमेल छ !

जनकपुरमा जनक छैनन्, कञ्चनपुर कञ्चन छैन
लुम्बिनीमा बुद्ध हराए, कर्णालीमा सामल छैन 
तिम्रो पो आँगन घमाइलो छ। यता जाडो ओझेल छ ।

कीर्तिपुरकी कीर्ति रोई, रानी पोखरीमा छैन पानी 
भक्तपुरको भक्त विदेश, गाउँमा  एक्लै परी सानी
मन्त्रीहरूको पो हरियाली छ, जनता हायल-कायल छ ।

सिमानामा जङ्गे ढल्यो, देशभित्र प्रर्खाल  उठे
भष्टाचार रोगै ठूलो, कानुनका नि धारा सुके
तिम्रो पो पिरतीको मेल छ हाम्लाई त जालझेल छ ।

न त तिमी राम भयौ, न त तिम्रो रावण मर्‍यो
सुग्रीवको घाउ हेर तिम्रै कारण अझै बढ्यो 
तिमीलाई पो दरबार मिल्यो सारा सुखसयल छ ।