'गजल गङ्गा'मा हास्य व्यङ्ग्य
माघ ४, २०७६

‘गजल गङ्गा’ मनु ब्राजाकी (वि. सं. १९९९)द्वारा लिखित आधुनिक नेपाली गजललाई प्रतिनिधित्व गर्ने गजलसङ्ग्रह हो । कथाकारका रूपमा बढी परिचित व्यक्तित्व ब्राजाकी नेपाली गजल लेखनमा पनि सक्रिय छन् ।

‘गजल गङ्गा’ गजलसङ्ग्रहको प्रकाशन वि.सं. २०५१ मा भएको हो । नेपाली गजलको विकासमा प्रौढ र परिपक्व गजलकार ब्राजाकीका गजलमा भावको सघनता, शिल्पगत एवम् संरचनागत सुगठन पाइन्छ । व्यङ्ग्य प्रयोगका दृष्टिले उत्कृष्ट ब्राजाकीका गजलमा नेपाली संस्कृतिका रूपमा रहेका मानवीय, सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, शैक्षिक एवम् बौद्धिक पक्षलाई व्यङ्ग्यको आलम्बन बनाइएको छ ।

कुनै पनि विषयलाई व्यङ्ग्यगत आधार प्रस्तुत गर्ने माध्यम तथा साधनको पनि त्यत्तिकै भूमिका रहेको हुन्छ । व्यङ्ग्यलाई प्रस्तुत गर्ने हास्य र उपहास, बक्रोक्ति र वाक्वैदग्ध्य, अभियोगकथन र अतिरञ्जना जस्ता व्यङ्ग्य उपकरणको प्रयोगले उनका गजल उत्कृष्ट बनेका छन् । गजलमा यस्ता उपकरणकोे सन्तुलित प्रयोगले व्यङ्ग्यको प्रस्तुतिलाई मलजल प्रदान गरेको पाइन्छ । यस आधारमा हेर्दा ब्राजाकीका गजलमा व्यङ्ग्यको विशिष्ट प्रयोग भएको पाइन्छ ।

व्यङ्ग्यको मुख्य अभिप्राय समाजमा रहेका दुव्र्यवस्था र दुर्गुणहरूप्रति प्रहार गर्नु हो । कसैलाई निच देखाएर, कसैप्रति आक्रोश व्यक्त गर्नुलाई सामान्य अर्थमा व्यङ्ग्य भन्ने गरिए तापनि खास अर्थमा व्यङ्ग्य सिर्जना हुन घुमाउरो अर्थात् व्यञ्जनात्मक शक्तिले युक्त अभिव्यक्तिको आवश्यकता पर्छ । व्यङ्ग्यले समाजमा रहेका कुनै पनि वस्तु, व्यक्ति र विचारमा देखिएका विकृति, दुर्गुण, कमजोरी, दुर्बलता, त्रुटि जस्ता पक्षमाथि आरोप प्रत्यारोप मात्र नगरी त्यसलाई कलात्मक ढङ्गले आलोचनात्मक अभिव्यक्तिमार्फत् सुधारको अपेक्षा गर्छ । त्यसैले व्यङ्ग्यलाई सामाजिक परिवेशमा घटित हुने विभिन्न सन्दर्भहरूलाई प्रस्तुत गर्ने अभिव्यक्तिको एउटा माध्यम मान्न सकिन्छ ।

यसै परिप्रेक्ष्यमा प्रस्तुत अध्ययनमा आधुनिक नेपाली गजलकार मनु ब्राजाकीद्वारा लिखित ‘गजल गङ्गा’ गजलसङ्ग्रहमा प्रयुक्त व्यङ्ग्यका उपकरणको खोजी तथा विश्लेषण गरिएको छ ।

‘गजल गङ्गा’ गजलसङ्ग्रहमा व्यङ्ग्य प्रस्तुतिका उपकरण

साहित्य व्यङ्ग्ययुक्त बन्नका लागि आवश्यक साधनलाई व्यङ्ग्य प्रस्तुतिको उपकरण भनिन्छ । जसरी कुनै पनि वस्तुको पूर्ण स्वरूप निर्माण हुन केही न केही अवयवहरू आवश्यकता पर्छ, त्यसरी नै साहित्य व्यङग्यमय बन्नका लागि पनि त्यसका केही प्रविधिहरूको आवश्यकता रहन्छ । ‘गजल गङ्गा’ गजलसङ्ग्रहभित्र रहेका गजलमा पनि व्यङ्ग्यका विभिन्न उपकरणहरूको प्रयोग गरिएको पाइन्छ । यस्ता उपकरणले गजललाई सम्प्रेषणीय, ओजपूर्ण र व्यङ्ग्यमय बनाएको हुन्छ ।

‘गजल गङ्गा’ गजलसङ्ग्रहका गजलमा अभिव्यक्त व्यङ्ग्य प्रस्तुतिका उपकरणलाई निम्नानुसार व्याख्या विश्लेषण गर्न सकिन्छ :

हास्य र उपहास

‘गजल गङ्गा’ गजलसङ्ग्रहभित्र गजलकारले विभिन्न विषयवस्तुसँग सम्बन्धित विकृति र विसङ्गतिलाई प्रस्तुत गर्ने क्रममा व्यङ्ग्यका उपकरणको प्रयोगअन्तर्गत् हास्य र उपहासलाई प्रमुख माध्यम बनाई प्रस्तुत गरेका छन् । हास्य उपकरण प्रयोग भएको गजलको एक सेर यस्तो छ :

जागिर दिई पुर्‍याइदिनुहोस् मेरो मनको धोको
पाल्नुहोस् हजुर बोलाउँदै छ मेरो घरको बोको ।
    (पृ. ४४)

प्रस्तुत सेरमा देशमा देखिएको बेरोजगारी अवस्था, जागिरका लागि चाकरी, चाप्लुसी र त्यसले निम्त्याएको मानसिक स्थितिलाई प्रस्तुत गर्न खोजिएको छ । जागिर अर्थात् रोजगारीका लागि कुनै पनि व्यक्तिको योग्यता, क्षमता र दक्षता जस्ता कुरा आवश्यक हुनुपर्नेमा जागिर खाने धोको बोकेका व्यक्तिले जागिरका लागि कुनै व्यक्तिसँग अनुनय विनय प्रकट गरेको छ । यस सन्दर्भले रोजगारी प्राप्त गर्न कुनै क्षमता तथा योग्यताको आवश्यकता नरहेको कुरालाई हास्यास्पद ढङ्गले प्रस्तुत गरेको छ ।

जागिरका प्राप्तिका लागि राजनीतिक तथा वैयक्तिक पहुँच, भनसुन, चाकडी चाप्लुसीका साथै आर्थिक तथा वस्तु लेनदेन, उपहार जस्ता साधन आवश्यक पर्ने कुराले पनि हाँसोको सिर्जना गरेको छ । व्यक्तिको मनको चाहना जागिरको इच्छालाई पूरा गर्न घरमा पालिएको बोकाले बोलाएको सन्दर्भले हास्यलाई नै प्रस्तुत गरेको छ । यसरी हाँसोलाई उपकरण बनाए पनि यसले व्यङ्ग्यलाई नै मलजल प्रदान गरेको देखिन्छ ।

यस्तै, राजनीतिमा हुने गरेका विकृतिजन्य अवस्थालाई हास्यका साथै उपहासका माध्यमले यसरी व्यङ्ग्यलाई प्रस्तुत गरिएको छ :

कि त यहाँ पतिव्रता कि त वेश्याहरू नै छन्
राजनीति यस्तै हो रे यस्तै यहाँ भएको छ ।
    (पृ. २१)

आज पनि साथी भए मेरा उनै सत्यवादी
कुर्सी चढ्न नसकेका प्रिय हुतिहाराहरू ।
    (पृ. ५२)

प्रस्तुत सेरमा नेपाली राजनीतिमा देखिएको वर्तमानको राजनीतिक संस्कारलाई सङ्केत गर्न खोजिएको छ । जसरी पतिव्रता नारी सदैव आफ्नो पतिको भक्ति, प्रेम, माया, स्नेहका साथ सदा सेवा भावमा समर्पित हुन्छिन्, त्यसैगरी असल राजनेता सच्चा, इमानदार भई सधैँ जनताको सेवाभावबाट प्रेरित हुने कुरालाई व्यक्त गर्न पतिव्रताका रूपमा उभ्याएका छन् भने अर्कातर्फ पैसाका लागि जे कार्य गर्न पनि पछि नपर्ने, हाउभाउ तथा कटाक्षबाट परपुरूषलाई व्यभिचारी कार्यमा संलग्न गराउने धन्दामा लाग्ने स्त्रीको चरित्रसँग मेल खानेगरी राजनीतिमा देखिएको भ्रष्टीकरणलाई वेश्याको उपमा दिँदै हाँसोका साथ उपहासमार्फत् प्रस्तुत गरिएको छ ।

जो इमानदार, निष्ठावान्, सदाचारी र जनतामा समर्पित छ, यस्ता प्रवृत्ति भएका व्यक्तिहरू कहिल्यै पनि सत्तामा पुग्न नसकेकामा आफ्ना मित्रहरूप्रति गजलकारले हुतिहाराको संज्ञा दिँदै राजनीतिमा भएको असङ्गत तथा विकृतिलाई यथार्थ रूपमा रमरम हाँसोका साथ उपहास गरेका छन् । यसरी चोटिलो पाराले व्यङ्ग्यलाई उद्घाटित गर्न हास र उपहास दुवैको संश्लिष्ट रूपको प्रयोग भएको छ ।

यसैगरी अरूबाट नियन्त्रित र संचालित राजनीतिको विकृतिप्रति गरिएको व्यङ्ग्यलाई हास्य तथा उपहासमार्फत् यसरी प्रस्तुत गरिएको छ :

घरमा हुन्छ, वनमा हुन्छ, मेलापातमा हुन्छ
टुँडिखेलमा इसारामा नाच्नु भएन ।
    (पृ. ३७)

यहाँ हाम्रो राष्ट्र र राष्ट्रियताप्रति वफादार नहुने राजनेताहरूप्रति उपहासपूर्ण तरिकाले व्यङ्ग्य प्रहार गरिएको छ । वर्तमानको राजनीति र राज्य संचालन स्वविवेक र स्वनियन्त्रणमा नभएको यथार्थ अवस्थालाई सङ्केत गरिएको छ । यसले राष्ट्रिय स्वाभिमानमा नै आँच आउन थालेको छ भन्दै कमसे कम अरूको इसारामा चल्नै परे पनि कसैले नदेख्ने घर, वन र मेलापात जस्ता अप्रदर्शित स्थानबाट निर्देशित भएमा कुनै पनि आपत्ति नरहेको कुरा गजलकारले उपहासमार्फत् व्यक्त गरेका छन् ।

तर, यसका विपरीत सबैले देख्ने सार्वजनिक स्थानका रूपमा रहेको टुँंडिखेललाई प्रस्तुत गरेर त्यहाँ प्रदर्शित भएको नग्न, निर्वस्त्र तथा नाङ्गो भएकाप्रति उपहासमार्फत् अरूको इसारामा चल्ने कुरालाई तिरस्कार र निन्दनीय हिसाबले प्रस्तुत गरिएको छ । यहाँ व्यङ्ग्यका लागि हास्य र उपहास उपकरणको प्रयोग भएको पाइन्छ ।

वर्तमान समयमा देशमा चलिरहेको शैक्षिक प्रणालीलाई विषयवस्तु बनाएर त्यस प्रणालीमा व्याप्त विसङ्गतिप्रति यस्तो व्यङ्ग्य गरिएको छ :

एकलव्यहरू अझै पढ्दै छन्
द्रोणाचार्यहरू पनि पढाउँछन्

मुर्खहरू अझै पनि श्रद्धापूर्वक
 भेटी भनी बुढी औँला चढाउँछन् ।
            (पृ. ७५)

प्रस्तुत सेरमा शैक्षिक क्षेत्रमा देखिएको विकृतिजन्य अवस्थालाई पौराणिक सन्दर्भसँग जोडेर यस्तो प्रणालीप्रति असहमति र तिरस्कारको भाव उपहासमार्फत् प्रकट भएको छ । वर्तमानको शिक्षा विद्यार्थी तथा बालमैत्री हुनुपर्ने भन्दै गुरुकुल शिक्षा पद्धतिमाथि उपहास गरिएको छ । विद्या आर्जनका लागि त्याग, तपस्या, परिश्रम, मिहिनेतको खाँचो छ भन्ने कुरालाई एकलव्यमार्फत् प्रस्तुत गरिएको छ भने द्रोणचार्यरूपी अविवेकी, इष्र्यालु, अभिमानी गुरुलाई अगाडि सार्दै गुरु दक्षिणाका रूपमा एकलव्यजस्ता मूर्ख शिष्यहरूलाई बुढी औँला काटेर दिन भनेपछि बुढी औँलालाई भेटीका रूपमा चढाइएको प्रसंगमा तिरस्कार र निन्दा व्यक्त गरिएकाले यहाँ प्रस्तुत भाव उपहासपूर्ण नै रहेको छ ।

यस्तो परंपरालाई वर्तमानसम्म पनि पछ्याउँदै गएका प्रति गजलकार व्यङ्ग्य गर्छन् । त्यसैले माथिका गजलका सेरमा शैक्षिक क्षेत्रमा देखिएका विभिन्न विकृति र विसङ्गतिलाई प्रहार गर्न हास्य तथा उपहास उपकरणको प्रयोगमार्फत् व्यङ्ग्य प्रस्तुत गरिएको देखिन्छ ।

बक्रोक्ति र वाक्वैदग्ध्य

‘गजल गङ्गा’ गजलसङ्ग्रहमा सङ्कलित केही गजलहरूमा बक्रोक्ति र वाक्वैदग्ध्यका उपकरणमार्फत् व्यङ्ग्य प्रस्तुत गरिएको पाइन्छ । यी उपकरणले गजललाई रोचक बनाएका छन् । उक्त कृतिमा रहेका गजलमा बक्रोक्ति र वाक्वैदग्ध्य उपकरणको प्रयोग यसरी गरिएको छ :

बजारमा डुलेर थाकिसकेँ साह्रै नै
आफूभन्दा सस्तो क्यै कतै पनि पाइनँ ।
    (पृ. ५६)

प्रस्तुत सेरमा मानिसको दैनिकी संचालका लागि आवश्यक पर्ने उपभोग्य सामग्रीहरू खरिदका लागि उपभोक्ता बजारमा उपभोग्य सामग्रीका खरिदका लागि गएको छ । त्यहाँ कुनै सामग्रीलाई उसले किन्न सकेको देखिँदैन किनभने त्यहाँ हरेक वस्तुको मूल्य महँगो रहेको छ ।

मूल्यका कारण बजारबाट केही पनि खरिद गर्न नसक्ने यथार्थ अवस्थालाई चित्रण गरिएको छ । यहाँ आएको समाख्याता अर्थात् समग्र उपभोक्ताको प्रतिनिधि पात्रले प्रस्तुत गरेको अभिव्यक्तिमा व्यङ्ग्यभाव देखिन्छ, जहाँ बजार डुलेर थाक्ने सन्दर्भले सोझो अर्थलाई बहन गर्न सकेको देखिँदैन ।

ब्राजाकीले ‘गजल गङ्गा’ गजलसङ्ग्रहभित्र देशमा विद्यमान वेरोजगारी अवस्था, राजनीतिक संस्कारको फोहोरी खेल, राजनेताहरूको चरित्र र देशमा चलिरहेको शैक्षिक अवस्थालाई हास्य र उपहास उपकरणमार्फत् व्यङ्ग्य प्रहार गरेका छन् ।

यसले बजारमा जताततै कुनै पनि सामग्री किन्न नसकिने कुरालाई बक्रोक्तिपूर्ण ढङ्गले प्रस्तुत गरेको छ । व्यङ्ग्यका रूपमा आएको उक्त कथनमा एउटा व्यक्तिको आर्थिक अवस्थाको चित्रणमार्फत् राज्यप्रतिको बेवास्तालाई घुमाउरो पाराले व्यङ्ग्य गरिएको छ । त्यसैले यहाँ अभिव्यक्त भावमा राज्यले बजार नियन्त्रण र अनुगमन तथा नागरिकप्रतिको दायित्वबोध गर्न नसकेकाले सर्वसाधारण महँगीको मारमा परेको कुरा वाच्यार्थभन्दा भिन्न ढङ्गले पेस गरिएकाले व्यङ्ग्यका लागि बक्रोक्ति उपकरणलाई उपयोग गरिएको देखिन्छ ।

यसैगरी आर्थिक कारणले सिर्जना भएको गासको अभावलाई बक्रोक्तिको उपकरणका माध्यमबाट यसरी व्यङ्ग्य गरिएको छ :

भोकाएकी रै’छौ आमा, आऊ बस अँगेनाको डिल छेउ
छड्किन त थाल्यो यो मन गुदुगुदु पाक्नुपरेको छ ।
    (पृ. ५७)

माथि अभिव्यक्त सेरमा आर्थिक विषमता र त्यसले सिर्जना गरेको अभावलाई व्यङ्ग्य गर्न खोजिएको छ । यहाँ मानिस बाँच्नका लागि एक छाक टार्न धौधौ भएको सन्दर्भ र त्यो प्राप्तिका लागि लामो समयको प्रतीक्षामा बस्नुपरेको अवस्थालाई सोझो ढङ्गले प्रस्तुत नगरी व्यञ्जनाका स्तरबाट प्रस्तुत गर्न खोजिएको छ ।

आमालाई भोकको प्रतिनिधिका रूपमा प्रस्तुत गरेर समग्र दुःखी, गरिब, असहाय मानिसहरू भोकभोकै बाँच्नुपरेको सन्दर्भ र गुदुगुदु पाक्दै गरेको मनको अवस्थाको चित्रणले वाच्यार्थभन्दा भिन्न अर्थ प्रदान गरेको देखिन्छ । मन छड्किनु र गुदुगुदु पाक्नुपरेको कुराले भोकको छट्पटी र तड्पाइलाई सङ्केत गरेकाले सोझो अर्थ प्राप्त गर्न सकिँदैन । त्यसैले यस अभिव्यक्तिमा भोकभोकै बाँच्नुपरेको अवस्थालाई बक्रोक्तिको उपकरणका माध्यमबाट व्यङ्ग्य गरिएको छ ।

यिनका गजलहरूमा व्यङ्ग्य प्रयोगका लागि वाक्वैदग्ध्य उपकरणको प्रयोग पनि प्रशस्त मात्रामा भेटिन्छ । यसले गजलमा सूक्तिमय अभिव्यक्ति, गम्भीर तथा चमत्कारपूर्ण शैली प्रदान गरी आकर्षण पैदा गरेको छ । वाक्वैदग्ध्य उपकरण प्रयोग गरिएको एउटा गजलको नमुना यस्तो छ :

भोक वारि तृप्ति पारि अझैसम्म रहेका छन्
जोडिएलान् पुलद्वारा कैले यी किनाराहरू ?
    (पृ. ५२)

यहाँ नेपाली समाजमा रहेको रोग, भोक, अशिक्षा तथा गास, बास, कपासमध्ये गास अर्थात् भोकको विद्यमान अवस्थालाई देखाउन खोजिएको छ । राज्यले यसलाई सामाजिक न्याय र नागरिक अधिकारका रूपमा व्याख्या गरेको छ । राज्यमा कुनै पनि जनता भोकै बस्नुपर्नेछैन भनिए पनि धेरै जनतालाई गरिबीका कारण एक छाक टार्न पनि मुस्किल छ । एउटै देशमा कोही हुने खाने र कोही हुँदा खाने अवस्थामा छन् । उनीहरूका बीचको दूरीलाई सङ्केत गर्दै गजलकारले कलात्मक ढङ्गले व्यङ्ग्य गरेका छन् ।

कोही सधैँ सन्तृप्त हुने, कोही सधैँ अभाव र भोकै बस्नुपर्ने भएकाले यस्तो अवस्थालाई वारि र पारिका सन्दर्भबाट प्रस्तुत गरिएको छ । गजलको यस सेरमा भोकलाई वारि र तृप्तिलाई पारिका माध्यमबाट सङ्केत गरी उक्तिको विचित्रता प्रस्तुत गरिएको छ । यसमा वाक्वैदग्ध्य उपकरणको प्रयोगमार्फत् असमानताको खाडललाई व्यङ्ग्यात्मक पाराले प्रस्तुत गरिएको छ ।

भोक र तृप्तिलाई दुई किनाराका रूपमा लिँदै यिनलाई कसरी र कुन बिन्दुबाट जोड्न सकिन्छ भन्ने सन्दर्भलाई पुल शब्दको प्रयोग गरिएको छ । यहाँ आएका शब्दहरूले आर्थी वैदग्ध्यलाई प्रस्तुत गरेका छन् । यसले अभिव्यक्तिमा उच्च कलात्मकता प्रदान गर्नुका साथै वाक्वैदग्ध्य उपकरण सशक्त रूपमा उपस्थित भएको देखिन्छ ।

यस्तै, सन्त्रास र भयका कारण मानिस अन्यायमा परेको सन्दर्भलाई वाक्वैदग्ध्य उपकरणमार्फत् यसरी प्रस्तुत गरिएको छ :

अन्याय भनेर पाप भनेर हिजो थुकेको थुक
आज डरले चाट्दै छन् सब देखेर बन्दुक ।
    (पृ. ७१)

यहाँ डर, त्रासको आतङ्कमा मानिसहरूले सही कुरालाई खुलेर बाहिर ल्याउन नसकेको सन्दर्भलाई वाक्वैदग्ध्य उपकरणमार्फत् प्रस्तुत गरिएको छ । अन्याय पाप हो भनेर हिजो गरिएको तिरस्कारलाई आज डर, त्रास र भयका कारण अन्यायलाई नै स्वीकार गरिएका प्रति गजलकारले आक्षेपात्मक ढङ्गले प्रहार गरेका छन् । यहाँ आएको अन्याय र पाप, थुकेको थुक चाट्नु अनि थुक र बन्दुक जस्ता शाब्दिक, सूक्तिमय तथा अनुप्रासयुक्त चमत्कारले अभिव्यक्तिमा सुन्दरता प्रदान गरेको छ । त्यसैले यहाँ अभिव्यक्त सेरमा वाक्वैदग्ध्य उपकरणको प्रयोग सही र उचित किसिमले गरिएको देखिन्छ ।

अतिरञ्जना र अभियोगकथन

गजलकार मनु ब्राजाकीका गजलमा व्यङ्ग्य प्रयोगका लागि अतिरञ्जना र अभियोगकथन जस्ता उपकरणहरूको प्रयोग गरिएको पाइन्छ । अतिरञ्जना उपकरणमार्फत् प्रस्तुत गरिएको गजलको एक सेर यस्तो छ :

उदाएको साँझ थियो बिहानीको नाम लाग्यो
अनिँदा छन् आँखाहरू रातभरी घाम लाग्यो ।
    (पृ. ३८)

माथि प्रस्तुत सेरमा व्यङ्ग्यलाई अतिरञ्जना उपकरणमार्फत् प्रस्तुत गरिएको छ । बिहान सूर्य उदाउँछन् र साँझमा अस्ताउँछन् अनि दिनमा घाम लाग्छन्, रातमा अँध्यारो हुन्छ । यस्ता नियमित प्रक्रियालाई हुनै नसक्ने ढङ्गले प्रस्तुत गर्न साँझलाई उदाएको र रातभर घाम लागेको विपरीत कथनबाट असम्भव कुरा उल्लेख गरिएको छ । यसमा कुनै पनि सत्य देखिँदैन र त्यसलाई कुनै पनि ढङ्गले पत्याउन र स्वीकार्न पनि सकिँदैन । यस्ता हुनै नसक्ने कुरालाई गजलमार्फत् प्रस्तुत गरिएकाले यसलाई अतिरञ्जनाका माध्यमबाट व्यक्त भएको व्यङ्ग्य मान्न सकिन्छ ।

यसैगरी अतिरञ्जना उपकरणको प्रयोग गरिएको व्यङ्ग्यको गजलको अर्को सेर यस्तो छ :

हिजोलाई सम्झिएर आँखाहरू सुख्खा नै छन्
मनको मरुभूमिबाट मूल अझै रसाएको छैन ।
    (पृ. २९)

मेरो अहम् मन्दिरको पत्थरझैँ साह्रो थियो
तिम्रो साथ पाएपछि ढुङ्गा पनि फूल जस्तै ।
    (पृ. ४२)

माथिको पहिलो सेरमा हिजोलाई सम्झँदा आँखाहरू रसाउनुपर्नेमा यहाँ सुख्खा रहेको धारणा व्यक्त गरेका छन् । यसलाई अतिशयोक्तिपूर्ण कथन मान्न सकिन्छ । मनलाई मरुभूमिका रूपमा र मूल नरसाएको अभिव्यक्तिमा पनि सत्यता देखिँदैन किनभने मन न मरुभूमि हुनसक्छ, न त मूल रसाउन सक्छ । त्यसैले यहाँ हुनै नसक्ने कुरालाई विपरीत तथा अपत्यारिलो ढङ्गले व्यक्त गर्न खोजिएकाले यसलाई अतिरञ्जनाका स्तरमा राख्न सकिन्छ ।

यसैगरी माथिको दोस्रो गजलको सेरमा व्यक्तिको अहम्लाई मन्दिरको पत्थर जस्तै साह्रो भएको र कसैको साथ पाएपछि पत्थर पनि कडा नभई फूल जस्तै कोमल र सुन्दर बन्ने सन्दर्भ प्रस्तुत गरिएको छ । यस्तो कार्य पनि सामान्य अर्थमा सम्भव नहुने भएकाले उक्त अभिव्यक्तिलाई पनि अतिरञ्जनाको कोटिमा राख्न सकिन्छ ।

निष्कर्ष

‘गजल गङ्गा’ मनु ब्राजाकीद्वारा लेखिएको गजलकृति हो । यस कृतिमा समाजमा देखिएका विभिन्न विकृति र विसङ्गतिलाई व्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गरिएको छ । गजलकारले हास्य, उपहास, बक्रोक्ति, वाक्वैदग्ध्य, अभियोगकथन तथा अतिरञ्जना जस्ता व्यङ्ग्यका उपकरणको प्रयोग छन् ।

ब्राजाकीले ‘गजल गङ्गा’ गजलसङ्ग्रहभित्र देशमा विद्यमान वेरोजगारी अवस्था, राजनीतिक संस्कारको फोहोरी खेल, राजनेताहरूको चरित्र र देशमा चलिरहेको शैक्षिक अवस्थालाई हास्य र उपहास उपकरणमार्फत् व्यङ्ग्य प्रहार गरेका छन् साथै देशमा दिनदिनै वृद्धि हुँदै गएको महङ्गीको अवस्था, आर्थिक विषमताका कारण सिर्जित गासको अभाव, वर्गीय विभेद तथा अन्याय अत्याचारप्रति गजलकारले बक्रोक्ति र वाक्वैदग्ध्य उपकरणको प्रयोगमार्फत् व्यङ्ग्य गरेका छन् ।

यसैगरी विज्ञान र तथ्यका आधारमा सत्य नभएका र हुनै नसक्ने अपत्यारिला कुरालाई अतिरञ्जनाका माध्यमबाट र मानवीय नियतमाथिको प्रश्न, सन्त्रास र छलकपटयुक्त गुनासा भावलाई व्यङ्ग्य प्रहार गर्न अभियोगकथन उपकरणको प्रयोग गरेका छन् । यिनै उपकरणको उचित र सान्दर्भिक प्रयोगले गजल रोचक, प्रभावकारी र सम्पेष्य बनेका छन् । अतः व्यङ्ग्य उपकरण प्रयोगका दृष्टिले ‘गजल गङ्गा’ गजलसङ्ग्रहमा रहेका गजलहरू सान्दर्भिक र प्रभावकारी रहेका देखिन्छ ।


नेपाली गजलमा विद्यावारिधिरत शर्मा साहित्यका विविध विधा र समालोचनामा कलम चलाउनुहुन्छ ।