चिन्तक र विश्लेषकबीच वार्तालापः गरिबी अनुवांशिक हो

चिन्तक र विश्लेषकबीच वार्तालापः गरिबी अनुवांशिक हो

डा. स्कन्द शुक्ला  |  समाज  |  फाल्गुन १३, २०७५

चिन्तकः ‘गरिबी अभिशाप हो ।’ 

विश्लेषकः ‘निश्चय नै’ । यो त अमीर— गरिब सबैलाई थाहा छ । ‘गरिबी’ र ‘गरिब’बारे केहि नयाँ तथा तथ्यात्मक कुरा गर्नुस् । 

चिन्तकः ‘नयाँ कुरा’ !

विश्लेषकः ल भन्नुस, तपाई ‘गरिबी’लाई ‘बिमारी’मान्नु हुन्छ ?

चिन्तकः (चिन्तनको मुद्रामा) यदि ‘गरिबी’ अभिशाप हो भने, ‘बिमारी’ त हो नै ।

विश्लेषकः होइन, होइन । म तपाईसँग चिकित्सा सम्मत बिमारीको कुरा गरी रहेको छु । के ‘गरिबी’ लाई तपाई एउटा ‘रोग’ हो भन्न सक्नु हुन्छ ? ‘अभिशाप’जस्ता शब्द त ‘भावनाको भकारी’बाट उत्पत्ति भएका ‘शब्दावली’ हुन् । 

चिन्तकः मैले तपाईको आशय बुझिन् । यस सन्दर्भमा म अनभिज्ञ छु । तर तपाईको मनशाय के हो ? के तपाई ‘गरिबी’ र ‘डायबिटीज’मा केही साम्य छ भन्दै हुनुहुन्छ ? र के यो विज्ञान सम्मत हो ? 

विश्लेषकः ‘एग्जैक्ट’, मेरो भनाई यही नै हो । ‘गरिबी’ पनि कैयन प्रकारले ‘रोग’ साबित हुँदै गइरहेको छ । 

चिन्तकः प्रष्टसँग भन्नुस । 

विश्लेषकः ल, सुन्नुस । बिज्ञान रोगको उत्पत्ति हुनुमा दुई कारकलाई उत्तरदायी सम्झिन्छ । पहिलो ‘अनुवांशिक’ एवम् दोस्रो ‘पर्यावरणीय’ ।

कुनै रोग उत्पन्न हुनुमा यी दुबै कारकले नै रोगको ‘दिशा र दशा’ निर्धारित गर्छन् । जस्तो कि दुईजना व्यक्तिलाई भएको निमोनिया उस्तै उस्तै हुन्न । दुइजना धुम्रपान गर्छन्, तर कैंसर एकजनालाई मात्र हुन्छ । रोगलाई पर्यावरण मात्रले निर्धारित गर्न मिल्दैन र न त रोगको लागि ‘जीन’लाई मात्रै उत्तरदायी भन्न मिल्छ । 

सबैभन्दा अभागी त बिचरा ती रोगी हुन जसले विरासत मै रोगी ‘जीन’ बोकेका छन् र साथै प्रदुषित पर्यावरणमा बाँची रहेका छन् । 

चिन्तकः तर ‘गरिबी’को ‘जीन’ संग के सम्बन्ध ? यो त सामाजिक समस्या होइन र !

विश्लेषकः तपाईलाई के लाग्छ, मेहनत मजदूरी गरेर प्रत्येक गरिब धनी बन्न सक्छ ? 

चिन्तकः तपाई त भाग्यवादको वकालत गर्न थाल्नु भो ।

विश्लेषकः होइन, मैले भाग्यवादको कुरा गरेको होइन् । म खाँटी विज्ञानवादको कुरा गरी रहेको छु । के तपाईलाई थाहा छैन, कसरत, व्यायाम मात्र गर्नाले सबै जनाको ‘डायबिटीज’ कन्ट्रोल हुन सक्दैन् । यसको सम्बन्ध कोशिकामा हुने ‘जीन’सँग छ । कुनै व्यक्तिको शारीरिक संरचनामा यदि ‘डायबिटीज’ उत्पन्न गर्ने ‘जीन’ विद्यमान छन् भने उसले जति मेहनत गरे पनि ‘डायबिटीज’ कन्ट्रोल हुदैन् । 

ठीक यसै प्रकारले गरिबीका दुष्प्रभाव पनि कडा परिश्रम गरेर, मेरिट अथवा गरिबी हटाउ जस्ता नारा र भाषणले समाप्त हुन सक्दैन । गरिबीका धस्रा, फोका, चोट, घाउ व्यक्तिमा ‘जीन’ स्तरमै संलग्न हुन पुग्छन् र कहिले काँहि त यो अर्को सन्ततिसम्म पनि ‘क्यारी अन’ हुन्छ । 

चिन्तकः यो त तपाईले गजबको कुरा गर्नुभयो !

विश्लेषकः गजब भने गजब नै ठीक, तर वास्तविकता यही नै हो । हाम्रा ‘जीन’ बनेका हुन्छन् ‘डी एन ए’ बाट । 

अनि ‘डीएनए’ को निर्माण विभिन्न ‘प्रोटीन’ले हुने गर्छ । कुन ‘जीन’ले कुन चाँही ‘प्रोटीन’ कहिले बनाउँछ र कुन ‘जीन’ले कहिले ‘प्रोटीन’ निर्माण गर्दैन, यसमा थुप्रै कारणको भूमिका हुन्छ । 

यस्तै एउटा महत्वपूर्ण कारण वा परिघटना हो  ‘एपिजेनिक्स’ । 

‘डीएनए’ मा केही रसायनिक कण टाँसिएका हुन्छन् । यिनको मात्राले ‘प्रोटीन’ निर्माणलाई प्रभावित गर्छ, ‘प्रोटीन’ निर्माणलाई कम अथवा बेशी गर्छ । 

उदाहरणका लागि ‘मिथाइल’ समूह । रसायन विज्ञानका विद्यार्थीलाई थाहा भएकै कुरा हो, कार्बनको एक परमाणुसँग हाइड्रोजनका तीन परमाणु मिलेर ‘मिथाइल’ समूहको निर्माण हुन्छ । 

यी ‘मिथाइल’ समूहको ‘डीएनए’को कुनै भागसँग अत्यधिक जुडाव भएमा भनाईको अर्थ ‘डीएनए’सँग ‘हाइपरमेथिलेशन’ भएमा ‘प्रोटीन’ निर्माण बाधित हुन्छ । र, ‘हाइपरमेथिलेशन’ कम्ती भएमा ‘प्रोटीन’ निर्माणको दरमा वृद्धि हुन्छ । 

चिन्तकः यसको गरिबीसँग ‘जेनेटिक’ सम्बन्ध के त ?

विश्लेषकः सम्बन्ध छ । धेरै अध्ययनबाट प्रमाणित भएको छ । जुन व्यक्तिले जन्म र वाल्यकाल देखि अत्यधिक सामाजिक पारिवारिक संघर्ष भोगेको हुन्छ, उसका धेरै ‘जीन’ र ‘प्रोटिन’ निर्माणमा परिवर्तन   आउँछ । यस्तो परिवर्तन सुखमय जीवन जिउने धनीका छोराछोरीमा आएको हुन्न र दुःख लाग्दो कुरा यी परिवर्तन त्यस गरीब व्यक्तिमा मात्र सीमित रहन्नन्, यी अर्को सन्तति सम्म हस्तान्तरित पनि हुन्छन् ।

‘एपिजेनेटिक्स’को नकारात्मक प्रभाव पीढी दर पीढीले भोग्नुपर्छ । 

चिन्तकः यसबाट त स्पष्ट भयो, परिश्रम गर, परिश्रमी बन, परिश्रम गरे गरिबी भेटिन्छ भन्ने नारा नै झुटो हो । 

विश्लेषकः पूर्णरुपेण झुटो नभए पनि पूर्ण रुपेण साँचो पनि होइन् । 

धन र समृद्धि जस्तै गरिबी पनि विरासत मै प्राप्त हुन्छ । सामाजिक र पर्यावरणीय विरासतमा मात्र होइन, गरिबी अनुवांशिक विरासत मै हस्तान्तरित हुन्छ । गरिबीले ‘जेनेटिक’ स्तरमा प्रभाव पार्छ र यो प्रभाव पुस्ताैँ पुस्ता सम्म गइ रहन्छ । 

चिन्तकः  यसले त झन समस्या हुने भयो, अब धनीले भन्छन्, ‘गरिबी अनुवांशिक हो’ यसलाई समाप्त गर्न हामी के नै गर्न सक्छौं ? हामी त सहयोग गरी नै रहेका हौं, तर यो ‘जेनेटिक्स’ समस्या त हामी के गरी बदल्न सक्छौं ? 

विश्लेषकः यही त समस्या हो । धनाढ्य— शोषकसँग पर्यावरण परिवर्तनको कुरा गर्दा ऊ ‘मेरिट’ को कुरा गर्न थाल्छ र ‘जेनेटिक’ विरासतको कुरा गर्दा ऊ ‘जीन’लाई दोषी देखाएर उम्किन्छ । 

चिन्तकः यस्तो स्थितिमा समाधान के ? 

विश्लेषकः यसको समाधान र उत्तर हो, हामीले स्वीकार गर्नै पर्छ कि आर्थिक, सामाजिक, राजनीतिक, पारिवारिक सबै किसिमका शोषणले ‘डीएनए’ स्तर मै परिवर्तन ल्याउँछन् । यो प्रमाणित कुरा हो । शोषणले दुई प्रकारले अत्याचार गर्छ, यसले वाहिरी पर्यावरणलाई भताभुंग गर्नका साथै आन्तरिक स्तरमा कोशिकाको पर्यावरणमै पनि नराम्रो असर गर्छ । 

  जुन केटाकेटीलाई पौष्टिक भोजन प्राप्त हुन्न, प्राथमिक शिक्षा प्राप्त हुन्न, जसको बाल शोषण भएको हुन्छ । उसलाई बाहिरी चोट मात्रै लागेका हुन्नन्, कविताको भाषामा भन्ने हो भने उसको ‘अन्तस’ सम्म चोटिल भएको हुन्छ । 

‘अन्तस’, कविताको ‘अन्तस’लाई विज्ञानको भाषामा ‘डीएनए’ र ‘जीन’ भनिन्छ । 

चिन्तकः त्यसो भए त ‘हाइपरमेथिलेशन’का कारण गरिबको कोशिकामा ‘प्रोटीन’बन्न नपाउनु पनि प्रत्यक्ष रुपमा पूँजीवादी–वजारवादी–उपभोक्तावादी संस्कृति कै दुष्परिणाम हो ! 
विश्लेषकः निश्चय पनि ।