हामीले गुमाएका आफ्नो अंकगणित, बीजगणित र ज्यामिति

हामीले गुमाएका आफ्नो अंकगणित, बीजगणित र ज्यामिति

प्रा.डा. विद्यानाथ कोइराला  |  दृष्टिकोण  |  माघ ५, २०७६

हामी गणितमा जानकार मान्छे हौँ । हाम्रो गणित ठीक छैन भन्ने चिन्तन पश्चिमबाट आयो । परिणामतः हामी जानकारीविहीन भयौँ । हाम्रो त्रुटि, रण, निमेष, काष्ठा जस्ता शब्दहरू छन् । ती शब्दलाई अहिले अंग्रेजीको ‘नानो सेकेण्ड’ भन्न थाल्यौँ ।

अहिले न त्रुटि थाहा पाउँछौँ, न निमेष थाहा पाउँछौँ । गणितज्ञमा पनि त्रुटि, रण, निमेष, काष्ठा पढाउँदैनौँ । विवाहको चौको दुलहीको हातको डेढ हात हुनुपर्छ भन्ने चलन थियो । त्यसैको आधारमा जग्गेको बनोट हुनुपर्छ भन्ने मान्यता थियो । त्यसैको आधारमा पूजा गर्नेसम्मको ‘डिजाइन’ हुनुपर्ने चलन थियो । त्यसैको आधारमा कुनाहरू बनाउनुपर्ने थियो । यत्रो गणित थियो हामीसँग । अहिले हामी औसत गणितमा फस्यौँ । फसाइयौँ । 

हाम्रो संस्कारले हामीलाई औसत गणित सिकाएको थिएन, यथार्थ गणित सिकाएको थियो । एउटा मान्छे आफ्नो हातको अढाई हात हुन्छ । कसैको लामो हात होला, कसैको छोटो होला । तर, त्यो हिसाब त ठीक थियो नि ! त्यो कुरालाई हामीले अहिले मासिसकेका छौँ ।

हाम्रो पुरानो चलनमा पानीघडी थियो । प्वालबाट पानी छिरेर जाँदा कति पला हुन्छ भन्ने हुन्थ्यो । अहिले २७ मिनेटको औसतले काम गरिन्छ । यसरी घडी राख्ने चलन नै हरायो । अर्थात् औसतले काम चल्यो । चलाइयो । यो हाम्रो चिन्तन नै थिएन ।

हाम्रा अमलहरू (अंगुलहरू) हरायौँ । इन्च र सेन्टिमिटर भन्न थाल्यौँ । तर, आफ्ना अमलमा कति इन्च तथा सेन्टिमिटर भन्न सक्ने अवस्था हामीसँग रहेन । त्यसो हँुदा हामीले आफ्नोपन बिर्सेर अरूको गणितका पछि लाग्यौँ ।

मधेसतिर रूखको छाया हेरेर यति पात छन् भनेर भन्न सक्ने गणित थियो । कायस्थहरूको गणित, अढैया, सबैया, पौना, डेढीको गणित थियो । त्यो सबै हामीले हरायौँ । त्यस्तै, एक माना पानीमा कति नुन राख्नुपर्छ भन्ने हामीले जानेका थियौँ । त्यो हाम्रो ‘इस्टिमेसन’ मात्रै हो भनियो । तर, त्यो ‘इस्टिमेसन’ मात्रै होइन, यथार्थ पनि हो । 

अर्थात् त्यसलाई कति ग्राम हो भन्न जानिएन । त्यसो हँुदा हामीले आफ्नोपन गुमायौँ । माना–पाथीमा चौथाई, धार्नी, बिसौली, टुकुनी सबै गणितहरू थिए । ती सबै हामीले नास्यौँ ।

‘एक टुकुनी मासु देऊ त’ भनेर कसैले भन्यो भने के भन्या’ त्यो: भन्ने परिस्थिति आयो । हाम्रो मानाको गणित पनि हरायौँ । तुलो भन्यो भने हिजोआजका मान्छेहरूले बुझ्दैनन् । तराजु भन्नुपर्ने भयो । तुलो भनेको बेग्लै हो, तराजु भनेको बेग्लै हो ।

नाङ्लो बनाउने मान्छेलाई हाम्रो गणितको तागत थाहा छ । उसले भन्छ, ‘मेरो हातको एक हातको भयो भने नाङ्ली हुन्छ, डेढ हातको भयो भने नाङ्लो हुन्छ । नाङ्ली भनेको सानोसानो हुन्छ । नाङ्लो भनेको ठूलोठूलो हुन्छ ।’

यसरी उसले आफ्नो हातबाट वर्ग निकाल्न सक्दोरहेछ ! यसको अर्थ हो, हाम्रो मान्छेसँग ज्यामितीय तागत थियो । प्लास्टिकको नाङ्लो आएपछि त त्यो पनि हामीले गुमायौँ ।

हामीसँग रेखी हाल्ने चलन छ । त्यसमा अंकगणित थियो, बीजगणित थियो, ज्यामिती थियो । हामीले ती तीनवटै गणितलाई रीतमा लगिदियौँ– रेखीको अर्थ नसोधेर, नखोजेर । अहिले हिन्दु अरेबिक पढ्छौँ, युक्लिड पढ्छौँ ।

हामीसँंग हनुमानढोकाबाट यति कोस पूर्व, पश्चिम भन्ने चलन थियो । हनुमान ढोका केन्द्र थियो । कोसमा कति किलोमिटर हुन्छ ? कति माइल हुन्छ ? यी कुरा हरायौँ । अमेरिकामा किमि भन्दैनन्, ‘माइल’ नै भन्छन् । किलो भन्दैनन्, पौण्ड नै भन्छन् । ग्यास हाल्दा एमपीजी (माइल पर ग्यालन)कै हिसाब गर्छन् ।

उनीहरूले ग्यालन नै प्रयोग गर्छन् । उनीहरू लिटर प्रयोग गर्दैनन् । हामीले लिटर प्रयोग गर्‍यौँ । परिणामतः हाम्रो माना पनि हरायो, पाथी पनि हरायो । आकाशको पानीमा नाप्ने घैला हुन्थ्यो । यति घैला पानी छ यो वर्ष भन्ने जानकारी थियो । त्यो सबै हरायौँ । लिटर र मिटर फ्रान्सबाट ल्यायौँ ।

माइल अमेरिकाबाट भित्र्यायौँ । न लिटर हाम्रो हो, न मिटर हाम्रो हो, न त माइल हाम्रो हो, हाम्रो त गज हो । अझै पनि रामा, दुना, तीना भनेर गज नाप्ने चलन बाँकी छ । ‘एक कनुवा तेल देऊ’ भन्ने चलन बाँकी छ । यो अपराध कर्मको दोष कसलाई दिने ?

मैले गणितज्ञहरूको बदमासी भनेको छु । गणितज्ञहरूको राष्ट्रिय स्तरको सम्मेलनमा पनि मैले यो कुरा उठाएँ । मैले उहाँहरूलाई भनेँ, ‘तपाईंहरूले हाम्रो गणित मार्नुभयो । नौ पन्ध्रको घर भनेको अब कसैले पनि थाहा पाउँदैन । नौ पन्ध्रको घर हुँदा पानीबलो कति लामो हाल्नुपर्छ ? धुरीबलो कति लामो हुनुपर्छ ? डाँडा वा भाटा कति हुनुपर्छ ? मधेसको भाषामा भन्दा कोराइ बाती कति हुनुपर्छ ? त्यो ज्ञान त हामीसँग थियो नि ! 

यी र यस्ता ज्ञानमाराहरू गणितज्ञहरू नै हौँ किनकि हाम्रा शिक्षकले त्यससँग जोडेनन् । यस अर्थमा परंपरागत गणित नजोड्ने गणितज्ञ नै हुन्– पुख्र्यौली ज्ञानमाराहरू ।

मधेसमा एकलग्गी भनेको कति हो ? त्यो कसैलाई थाहा भएन । मुसहरहरूले माटो काट्छन् । माटो काटिसकेपछि बनाएका थुम्काथुम्कामा उनीहरूले हिसाब गर्छन् । कति चट्टा ? ढुंगाको चट्टा जस्तै । उनीहरूको माटो नाप्ने आफ्नै शब्द छ । यति चट्टामा यति माटो काटिन्छ भन्ने गणित मुसहरको हो ।

बडही वा सिकर्मीको त्यस्तै हिसाब छ तर त्यो खालको गणित हरायो अब । उसको गणितले कसरी काठको नापो लिन्छ ? हाम्रोमा बित्ता, कुरेत भन्ने चलन छ । उनीहरूको पनि आआफ्नो तरिकाको नापो थियो । त्यो नापो पनि हरायौँ । त्यो सब हराउनुको कारण हो, गणित पढाउने शिक्षकले हाम्रो परंपराको गणितसँग जोडेनन् । जानेनन् । गरेनन् ।

पश्चिमको गणित त औसतमा नै टिकेको छ, यथार्थ गणित त हाम्रो हो । किन हो भने हाम्रो गणित व्यक्तिको हातसँग, नापसँग र व्यक्तिसँग लगेर जोडिएको हुन्छ । पश्चिमको गणित भनेको औसतसँग हुन्छ । औसतसँग जोडिने गणितले हाम्रो व्यक्तिसँग टाँसिएको गणितलाई खाइदियो ।

शिक्षाशास्त्रमा हामीले सिकायौँ– जानेको बाट नजानेकोमा लैजाऊ । शिक्षकले चाहिँ किताब मात्रै पढाइदियो । जानेकोसँग जोडेन । तुलो देखेका केटाकेटीलाई तुलोबाट नै जोडिदिन सकिन्थ्यो । लग्गी देखेकालाई लग्गीबाटै जोड्न सकिन्थ्यो । चार माने  पाथीबाट, आठ माने पाथीबाट । छापे माना तथा छापे पाथीबाट । छापे भनेको स्तरीय नापो हो । कुरुवा माना भनेको २ माने नापो हो । अछापे भनेको स्तरहीन नापो हो ।

जुम्लातिर कति माने पाथी भनेर बुझ्नुपर्दोरहेछ । त्यस्तो किसिमको हाम्रो गणित थियो । त्यो गणितलाई मान्छेहरूले मूर्ति बनाउँदा प्रयोग गर्थे । जमिन नाप्दा प्रयोग गर्ने गणित, लुगा नाप्दा प्रयोग हुने गणित । घाँटी नापेर कम्मरको साइज थाहा पाउने किसिमको हाम्रो गणित ।

त्यस्तो गणितलाई अब हामीले इन्चमा हिसाब गर्न थाल्यौँ । अब घाँटीको नाप गर्नै पर्दैन । यसरी हामीले ज्ञान मार्दैमार्दै गयौँ । त्यो काम शिक्षकहरूले गरे । पाठ्यपुस्तक लेखनकर्ताले गरे । उनीहरूले पाठ्यपुस्तकमा ती कुराहरू जोडिदिएका भए हाम्रो नाप र पश्चिमी नापमा तुलना हुन्थ्यो । चाइनिजहरूले यति राई, अमेरिकनहरूले यति हेक्टर भन्दा हामीले यति मुरी माटो भनेर किन नभनेको ? यति बाई यति भने पछि एक मुरी माटोको नाप हुन्छ किन नभनेको ?

हाम्रो त घरमा एउटा कुरा र बाहिर अर्को कुरा भयो । जस्तो: विराटनगरमा दूध ल्याइदिनुस न भन्दा एक किलो भन्छन् । त्यहाँ दूध किलोमै नाप्छन् । एक किलो दूध र एक लिटर दूधमा के फरक हुन्छ ? कति हुन्छ ? यस्तो किसिमको कुरा नभई किन किलोमा नाप्ने चलन आयो ?

यसो गर्दा हाम्रो आफ्नो माना पनि हरायो । चकन्छी हरायो । कनुवा हरायो । त्यो त पाठ्यपुस्तक लेखनकर्ताले पनि केहीे गरिदिएन । त्यसैले हामी दुवैथरी बदमास भयौँ । एक पढाउने शिक्षकहरू र अर्को लेखनकर्ताहरू ।

अभिभावकहरू नै अचम्मका भए । प्रविधिले गर्दा पनि त्यस्तो भएको होला । उनीहरूले मेरो पहिचान भन्न पनि छाडेनन् । पहिचान गुमेको पनि थाहा पाएनन् । यसरी हाम्रो पहिचान त पूरै हरायो नि ! हाम्रा नापहरू पूरै हराउनु भनेको त एक किसिमको गणित नै हराउनु हो ।

हाम्रो पहिचान त गयो गयो, भोलिको पुस्ताले त लिटर, मिटर, फिट आदि इत्यादि जान्दछन् । माना, पाथी थाहा पाउँदैनन् । यतिसम्मको अप्ठ्यारो भयो कि काठमाडौंमा एक पाउ भनेको २०० ग्राम हुन्छ तर मधेसमा गयो भने २५० ग्राम हुन्छ । त्यही फरक भइसक्यो ।

मधेसको एक पौवा भनेको र काठमाडौंमा एक पाउ भनेको एउटै हो कि होइन ? यति पनि शिक्षकले गर्न सकेन । हामीले पनि त्यसलाई अगाडि बढाउन सकेनौँ । परिणमतः हाम्रा पुर्खाको जति पनि गणित थियो, सबै हरायो ।

एक निमेषमा त्रिपुरदाह गरेको हो भनी हामी स्वस्थानी पढ्दा थाहा पाउँछौँ । एक निमेष भनेको एक पटक आाखा झिम्क्याउँदा बित्छ । त्यो भनेको कति सेकेन्ड हुन्छ, कति ‘नानो सेकेण्ड’ हुन्छ ? भनेको भए पनि त हुन्थ्यो नि ! हामीले त्यो जानेनौँ ।

एक चिम्टी नुन भन्दाखेरि मेरो चिम्टीमा यति ग्राम नुन हुन्छ भनेको भए त हुन्थ्यो नि ! ठूला मान्छेको चिम्टीमा यति ग्राम नुन जान्छ भन्दा के बिग्रिन्थ्यो र ? सानोकोमा यति जान्छ भनेको भए के हुन्थ्यो ? चिम्टीमा औसत यतिसम्म जान्छ भनेर हिसाब राखेको भए पनि त हुन्थ्यो नि !

पश्चिमको गणित त औसतमा नै टिकेको छ, यथार्थ गणित त हाम्रो हो । किन हो भने हाम्रो गणित व्यक्तिको हातसँग, नापसँग र व्यक्तिसँग लगेर जोडिएको हुन्छ । पश्चिमको गणित भनेको औसतसँग हुन्छ । औसतसँग जोडिने गणितले हाम्रो व्यक्तिसँग टाँसिएको गणितलाई खाइदियो ।

यसो भयो भनेर हाम्रा शिक्षकहरूले भन्न पनि जानेनन् । हाम्रो पाठ्यक्रमले पनि भन्न जानेन । हामी जस्ता मान्छेहरूले पनि त्यसलाई उत्खनन गर्न जानेनौँ । पहिचानको कुरा गर्ने गफाडीहरूले पनि त्यसलाई हेरेनौँ । एक किसिमले हामीले सबै चिज मार्‍यौँ । कतै कसैले सोच्ने कि ?