भारतीय अन्तरिक्ष एजेन्सी ‘इसरो’को ऐतिहासिक पाइला

एउटै रकेटबाट विभिन्न तीन वटा कक्षमा उपग्रह स्थापित गर्ने

भारतीय अन्तरिक्ष एजेन्सी ‘इसरो’को ऐतिहासिक पाइला

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  फाल्गुन १४, २०७५

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ‘इसरो’ (ISRO) अन्तरिक्ष विज्ञान, रकेट तकनीक र ‘स्याटेलाइट’ प्रक्षेपणको इतिहासमा नयाँ अध्याय कोर्न गइरहेको छ । 

‘इसरो’ आफ्नो नयाँ रकेट पी एस एल भी, सी–४५ (पोलार स्याटेलाइट लन्च भिहाइकल कमर्सियल फ्लाइट–४५)बाट अन्तरिक्षको तीन पृथक–पृथक कक्षमा स्याटेलाइट स्थापित गर्ने महत्वकांक्षी अभियानमा जुटेको छ । यस रकेटले एकै पटकमा लिएर गएका विभिन्न उपग्रहलाई एकपछि अर्काे गर्दै अन्तरिक्षको फरक–फरक उचाइमा स्थापित गर्नेछ । 

‘इसरो’ले यस पटक रकेटलाई अन्तिम चरणमा सक्रिय रहिरहनका लागि (ऊर्जा प्राप्तिका लागि) ‘सोलार प्यानल’को प्रयोग गर्न गइरहेको छ । यसभन्दा पहिला जनवरीमा पठाइएको रकेटमा भने ब्याट्री जडान गरिएको थियो । 

भारतीय समाचार एजेन्सी एएनआइका अनुसार ‘इसरो’ अध्यक्ष के. सिवनले आउँदो मार्च २१ मा यो मिसन लन्च गर्दैछ । ‘इसरो’का अध्यक्ष के सिवन । तस्बिर स्रोत : एजेन्सी । पृथ्वीस्थित भारतको आन्ध्र प्रदेश राज्यको श्री हरिकोटाबाट प्रक्षेपित हुने पी एस एल भी, सी–४५ रकेटले सबैभन्दा पहिला अन्तरिक्षमा ७ सय ६३ किमिमाथि पुगी एउटा ‘इलेक्ट्रोम्याग्नेटिक’ खुफिया ‘स्याटेलाइट’ स्थापित गर्नेछ । 

भारत सरकारको रक्षा मन्त्रालय अन्तर्गतको ‘डिफेन्स रिसर्च एण्ड डेभलपमेन्ट अर्गनाइजेसन (DRDO) तथा ‘इसरो’को संयुक्त प्रयासमा यो खुफिया उपग्रह ‘एमिसैट’ (EMISAT) निर्माण गरिएको हो । 

खुफिया उपग्रहलाई पृथ्वीदेखि ७ सय ६३ किमिमाथिको कक्षमा स्थापित गरेपछि आफूसँग रहेका अन्य उपग्रह लिएर रकेट ५ सय ४ किमिको कक्षमा पुग्न फेरि ‘स्टार्ट’ गरिनेछ । ५ सय ४ किमिको कक्षमा पुगेपछि रकेटले विभिन्न देशले पठाएका २८ वटा ‘कमर्सियल स्याटेलाइट’लाई स्थापित गर्नेछ । यी ‘स्याटेलाइट’लाई स्थापित गरेपछि एक पटक पुनः रकेटले तेस्रो तथा अन्तिम कक्षमा पुग्नलाई गति गर्नेछ । खगोलीय भाषामा दुइटा ‘आर्बिट’ पार गरेर पुनः ४ सय ८५ किमि दूरी उक्लेर तेस्रो कक्षमा पुगी यसले अन्तिम उपग्रह स्थापित गर्नेछ । 

इसरो’ अध्यक्षले आगामी अप्रिलको अन्ततिर ‘चन्द्रयान–२’ मिसन सुरु गर्ने पनि बताए । यसका लागि मार्च ६ मा ‘इसरो’ले राष्ट्रिय समीक्षा बैठक आयोजना गर्न गइरहेको छ ।