प्रहरी महानिरीक्षकद्वारा ईप्रकाको भवन शिलान्यास

प्रहरी महानिरीक्षकद्वारा  ईप्रकाको  भवन शिलान्यास

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ५, २०७६

तनहुँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भानु नगरपालिका–२ नारेश्वरटारमा नवनिर्माण हुने ईलाका प्रहरी कार्यालय भवनको शनिबार आयोजित एक कार्यक्रमबीच शिलान्यास गर्नुभयो । 

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले अपराध र अपराधी समृद्ध मुलुक निर्माणको बाधक भएको कुरा बताउँदै अपराधीलाई कानूनी दायरामा ल्याई कानून बमोजिमको सजाय दिलाउन नेपाल प्रहरी प्रतिवद्ध रहेको बताउनुभयो । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले संचालन गरेको विभिन्न जनलक्षित गतिविधि तथा कार्यक्रमहरुले समाजमा शान्ति सुव्यवस्था कायम गरी अपराध नियन्त्रण गर्ने कार्यमा प्रभावकारी भूमिका खेलेको उहाँले उल्लेख गर्नुभयो । 

कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले नवनिर्माण हुन लागेको प्रहरी भवनले प्रहरी सेवा प्रवाहमा थप उर्जा थप्ने एवं कार्य सम्पादनमा सहजता आउने कुरा बताउनुभयो । 

सो अवसरमा भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले नेपाल प्रहरीले अंगिकार गरेको समुदाय–प्रहरी साझेदारी अभियानले नागरिक र प्रहरीको सहकार्यबाट अपराध न्यूनिकरण गरी शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । 

यसैगरी शनिबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र तनहुँ व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले संयुक्त रुपमा व्यास नगरपलिकाको कार्यालयमा लागूऔषध प्रयोगको रोकथाम र नियन्त्रणका लागि संचालित कानूनी तथा मनोसामाजिक निःशुल्क ‘परामर्श सेवा केन्द्र’ को समेत उद्घा्टन गर्नुभयो ।