घुमी फिरी रुम्जाटार !

घुमी फिरी रुम्जाटार !

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  माघ ५, २०७६

हामी बसेको पृथ्वी गोलो छ । कल्पना गर्नुहोस्, एउटा ठूलो, ठूलो यति ठूलो भकुन्डोको, जसको गोलाइ १२ हजार ७४२ किमी होस् । अब यस भकुन्डोमाथि चढ्नुहोस् र कुनै एक बिन्दुदेखि  यसको परिक्रमा गर्न थाल्नुहोस् ।

दिनमा ५० किमी हिँड्दा तपाईंलाई यात्रा प्रारम्भ गरेको बिन्दुमा पुनः फर्केर आइपुग्न कति दिन लाग्छ होला ? तपाईं बिरामी नपरी अनवरत हिँडिरहनुभयो भने ८०१ दिनमा तपाईंत्यही बिन्दुमा आयी पुग्नुहुन्छ । 'घुमी फिरी रुम्जाटार' भने झैँ  तपाईँले भकुन्डोको एक परिक्रमा पूरा गरी सोही ठाउँमा आउन सक्नु हुन्छ ।

यो भकुन्डो अरू केही नभएर तपाईं हामी बस्ने पृथ्वी हो ।  ठ्याक्कै गोलो भएको भए यसको गोलाइ सबैतिर समान हुन्थ्यो, यो नभएका कारण पृथ्वीको ‘इक्वेटोरियल’ र ‘पोलर’ व्यासमा भिन्नता छ, जुन क्रमशः १२ हजार ७५६ किमि एवम् १२ हजार ७१२ किमि रहेको छ ।

गोलाइलाई व्यास (डायमिटर) भनी यस भकुन्डोको कुल क्षेत्रफल मापन गर्ने हो भने जवाफ हुन आउँछ, ५१ करोड ७२ हजार वर्ग किमि । यस कुल क्षेत्रफलमध्येको  ७०.८  प्रतिशत भागमा पानी नै पानीले भरिएका महासागर रहेका छन् ।

महासागरले यस भकुन्डोको कुल क्षेत्रफलमध्ये ३६ करोड ११ लाख ३२ हजार वर्ग किमि भाग ओगटेको छ । बाँकीको क्षेत्रफल भने भूमि हो । भूमिको  कुल क्षेत्रफल २९.२ अर्थात् जम्मा १४ करोड ८९ लाख ४० हजार वर्ग किमि मात्र छ पृथ्वीरूपी हाम्रो भकुन्डोमा ।

गणितले हिसाब किताब गर्दा पृथ्वीरूपी यस भकुन्डोको परिधि (सर्कमफ्रेन्स) ४० हजार ७५ किमि हुन आउँछ । यसको अर्थ पृथ्वीमा कुनै स्थानमा रहेको एक बिन्दुबाट अर्को बिन्दुको अधिकतम दूरी २० हजार ३७.५  किमि हुन्छ । यस भकुन्डोमा कुनै दुई स्थानबीच योभन्दा बढी दूरी हुन सक्दैन ।   

यसअनुसार यस भकुन्डोमा अंकित  काठमाडौंरूपी बिन्दुबाट  सबैभन्दा दूरीमा रहेको स्थान कुन हुन्छ ? यसरी हेर्दा काठमाडौंदेखि सबैभन्दा टाढाको देश चिली रहेको छ । चिलीस्थित ‘इस्टर आइसल्याण्ड’ र काठमाडौंबीचको दूरी १८ हजार ५८० किमि रहेको छ । काठमाडौंदेखि सबैभन्दा  टाढाको भूमिबिन्दु यही नै हो ।

यसैगरी संसारको सबैभन्दा बढी दूरीमा रहेका दुई भूमि बिन्दु भने  चीनको सिन्हुवा र अर्जेन्टिनाको रोजारियो हुन् । यी दुवैका बीचको दूरी १९हजार ९९६ किमि रहेको छ । टाढाको भूमि बिन्दुसम्म पुगेर यात्रा जारी राख्नुहुन्छ भने तपाईं फर्केर आउने त्यही हो, जहाँबाट यात्रा थालनी गर्नुभएको थियो ।

पृथ्वीमा रहेको जम्मा १४ करोड ८९ लाख ४० हजार वर्ग किमि भूमिमा अनेकौँ देश छन् । तपाईंलाई लाग्दैन– एउटा भकुन्डोका यतिका धेरै दावेदार ! किन भयो होला यस्तो ?
संयुक्त राष्ट्रसंघका सदस्य रहेका देशको संख्या १९३  रहेको छ ।  यीमध्ये केही देशले यस भकुन्डोको अति बढी क्षेत्रफल ओगटेका छन् । विश्वका १० ठूला देशले पृथ्वीको कुल क्षेत्रफलको झण्डै ४९ प्रतिशत क्षेत्रफल ओगटेका छन् । हेर्नुहोस्, यी हुन् विश्वका १० ठूला देश ।

ठूलो भूभाग ओगट्ने पंक्तिमा विश्वको दशौँ नम्बरको देश अल्जेरिया हो । २३ लाख ८१ हजार ७४१ वर्ग किमि भूमि ओगटेको अल्जेरियाको जनसंख्या ४ करोड २२ लाख रहेको छ । जनसंख्याका दृष्टिकोणले भने यसको स्थान ३२औँ रहेको छ ।  उत्तर अमेरिकामा पर्ने यस मुस्लिम देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) ३०० अर्ब डलर छ, जुन विश्वका १९३ देशमध्ये ५३औँ स्थानमा पर्छ ।  यहाँको प्रतिव्यक्ति आय ४ हजार २२९ अमेरिकी डलर रहेको छ । यो विश्वका अन्य देशमध्ये १०९औँ नम्बरमा आउँछ ।

आकारको हिसाबले नवौँ नम्बरको देश कजाकस्तान हो । २५ अक्टोबर १९९० देखि रुसबाट स्वतन्त्र भएको यसको क्षेत्रफल २७ लाख २४ हजार ९०० वर्ग किमि रहेको छ । यहाँको जनसंख्या भने एक करोड ८४ लाख ४८ हजार छ भने यहाँ ७० प्रतिशत मुस्लिम तथा २६ प्रतिशत इसाई धर्म मान्ने मानिस छन् ।

जनसंख्याका दृष्टिकोणले यसको स्थान ६३औँ नम्बरमा आउँछ ।  १६४ अर्ब डलरको जीडीपी भएको यहाँको प्रति व्यक्ति आय ८ हजार ७६३ डलर रहेको छ । जीडीपीमा यो विश्वको ५४औँ देश र प्रति व्यक्ति आयमा भने यसको नम्बर ७१औँ रहेको छ ।

आठौँ नम्बरको ठूलो देशमा अर्जेन्टिना आउँछ । यसले  ओगटेको भूमिको क्षेत्रफल २७ लाख ८० हजार ४०० वर्ग किमि रहेको छ । अर्जेन्टिनाको जनसंख्या भने चार करोड ४९  लाख ३८  हजार छ । जनसंख्याका हिसाबले यो ३२औँ नम्बरमा आउाछ ।

यहाँको  प्रति व्यक्ति आय भने १० हजार ६०४ डलर रहेको छ, जुन विश्वमा ५९औँ नम्बरमा पर्छ । ४७७ अर्ब डलरको जीडीपीले यसलाई ३०औँ स्थानमा राखेको छ ।

सातौँ नम्बरको ठूलो देशमा भारतको नाम आउँछ । भारतसँग भूमिको क्षेत्रफल भने ३२ लाख ८७ हजार २६३ वर्ग किमि छ । जनसंख्यामा भने यो विश्वकै दोस्रो स्थानमा पर्छ । सन् २०१६  को जनगणनाअनुसार भारतको जनसंख्या एक अर्ब ३२ करोड ४१ लाख ७१ हजार पुगेको छ ।

यहाँको प्रति व्यक्ति आय भने सन् २०१९ को सर्भेक्षणअनुसार दुई हजार १९९ डलर पुगेको छ । यो भनेको विश्वमा १४२औँ स्थानको प्रति व्यक्ति आय हो ।
२०१९ मा भारतको जीडीपी २.९७ ट्रिलियन पुगेको छ । यो विश्वको ५औँ नम्बरको स्थान हो । विश्वमा सबैभन्दा बढी हिन्दु धर्मावलम्बी भारतमै (७९.८ प्रतिशत) रहेका छन् ।

क्षेत्रफलको दृष्टिकोणले विश्वको छैटौँ ठूलो देश अस्ट्रेलिया हो । यसले पृथ्वीको कुल क्षेत्रफलमध्ये ७६ लाख ९२ हजार २४ वर्ग किमि भूमि ओगटेको छ । सन् २०१९ को जनगणनाअनुसार यहाँको जनसंख्या दुई करोड ५५ लाख ६ हजार रहेको छ ।

जनसंख्यामा यसको स्थान विश्वका सबै देशमध्ये ५१औँ नम्बरमा आउँछ । यहाँको जीडीपी १.५ ट्रिलियन डलर छ, जुन विश्वको १३औँ नम्बरको जीडीपी हो । यहाँको प्रति व्यक्ति आय भने ५३ हजार ७९९ डलर छ, जुन १०औँ नम्बरको आयमा पर्छ   ।

विश्वको पाँचौँ ठूलो देश ब्राजिल हो । ब्राजिलसँग ८५ लाख १५ हजार ७६७ वर्ग किमि क्षेत्रफल रहेको छ । सन् २०१९ को जनगणनाअनुसार यहाँको जनसंख्या २१ करोड एक लाख ४७ हजार रहेको छ । यो विश्वको पाँचौँ नम्बरको ठूलो जनसंख्या हो । चीन, भारत, अमेरिका र इन्डोनेसियापछि ब्राजिलको जनसंख्या सर्वाधिक रहेको छ ।

यहाँको प्रति व्यक्ति आय भने नौ हजार ३४३ डलर रहेको छ । प्रति व्यक्ति आयमा ब्राजिल ७३औँ नम्बरमा आउँछ । १.९६ ट्रिलियनको जीडीपी रहेको ब्राजिलको ठूलो जीडीपीमा नवौँ स्थानमा रहेको छ ।   

नेपालको उत्तरी छिमेकी चीन भने विश्वको चौथो ठूलो देश हो  । यहाँको कुल क्षेत्रफल ९५ लाख ९६ हजार ९६१ वर्ग किमि छ । जनसंख्यामा भने यो विश्वकै एक नम्बरको देश हो । चीनको जनसंख्या  एक अर्ब ४० करोड ३५ लाख रहेको छ ।

आउने केही वर्षभित्र भारतले जनसंख्यामा चीनलाई उछिन्न गइरहेको छ । चीनको जीडीपी १४.२१६ ट्रिलियन छ, जुन विश्वको दोस्रो ठूलो जीडीपी हो । चीनभन्दा जीडीपीमा अमेरिका मात्रै अगाडि छ । चीनको प्रति व्यक्ति आय भने १० हजार १५३  डलर पुगेको छ । प्रति व्यक्ति आयमा भने चीन ६७औँ नम्बरमा पर्छ ।

विश्वको तेस्रो नम्बरको सर्वाधिक क्षेत्रफल ओगट्ने देशमा ‘सुपरपावर’ अमेरिका पर्छ । यहाँको कुल क्षेत्रफल ९८ लाख ३३ हजार ५२० वर्ग किमि छ । युनाइटेड स्टेट अफ अमेरिकाको नामले विख्यात यहाँको जनसंख्या भने विश्वकै तेस्रो नम्बरको जनसंख्या हो ।

सन् २०१८ को जनगणनाअनुसार यहाँको जनसंख्या ३२ करोड ७१ लाख ६७ हजार रहेको छ । यो भनेको विश्वको तेस्रो नम्बरको जनसंख्या हो । तर, पहिलो र दोस्रो (चीन र भारत)को  तुलनामा भने यो एक चौथाई पनि होइन ।

२०.४९४ ट्रिलियनको जीडीपी रहेको अमेरिका विश्वकै पहिलो नम्बरको जीडीपी भएको राष्ट्र हो । विश्वका अर्थशास्त्रीहरूका अनुसार सन् २०५० सम्म जीडीपीमा कुनै पनि राष्ट्रले अमेरिकालाई दोस्रो बनाउन सक्दैनन् । यसमा पनि चीनबाहेक अन्य कुनै राष्ट्र आउने संभावना छैन ।

अमेरिकाको प्रति व्यक्ति आय भने सन् २०१८ को सर्भेक्षणअनुसार ६२ हजार ६०६ डलर रहेको छ । यो भनेको विश्वको ८औँ नम्बरमा पर्ने आय हो ।

विश्वको सबैभन्दा बढी प्रति व्यक्ति आय हुने १० देश यी हुन् (अमेरिकी डलरमा):

१. लक्जम्बर्ग– एक लाख १४ हजार २३४
२. स्विट्जरल्याण्ड– ८२ हजार ९५०
३. नर्वे– ८१ हजार ६९५
४. आयरल्याण्ड– ७६ हजार ९९
५. आइसल्याण्ड– ७४ हजार २७८  
६. कतार– ७० हजार ७८०
७. सिंगापुर– ६४ हजार ४१
८. अमेरिका– ६२ हजार ६०६
९. डेनमार्क– ६० हजार ६९२
१०. अस्ट्रेलिया– ५६ हजार ३५२

विश्वको दोस्रो सबैभन्दा ठूलो देशमा क्यानडाको नाम आउँछ । क्यानडाले ९९ लाख ८४ हजार ६७० वर्ग किमि क्षेत्रफल ओगटेको छ । सन् २०१९ को जनगणनाले यहाँको जनसंख्या तीन करोड ७६ लाख दुई हजार १०० पुगेको देखाएको छ ।

जनसंख्याका आधारमा क्यानडा विश्वको ३८औँ नम्बरको जनसंख्या भएको मुलुक हो । क्षेत्रफलमा विश्वको दोस्रो ठूलो देश तर जनसंख्यामा भने ३८औँ नम्बरको देश हो यो ।
क्यानडाको प्रति व्यक्ति आय भने सन् २०१९ को सर्भेले ४८ हजार ६०१ डलर पुगेको देखाएको छ । विश्वमा प्रति व्यक्ति आयमा क्यानडा १५औँ नम्बरमा पर्छ । यसको जीडीपी १.८२ ट्रिलियन रहेको छ । क्यानडा विश्वको १०औँ ठूलो जीडीपी भएको मुलुक हो ।

विश्वको सबैभन्दा ठूलो देश हुने गौरव भने रुससँग रहेको छ । यस देशले एक करोड ७० लाख ९८ हजार २४६ वर्ग किमि भूमि ओगटेको छ । सन् २०१९ को जनगणनाअनुसार यहाँको जनसंख्या १४ करोड ६७  लाख ९३ हजार पुगेको देखाएको छ ।

यहाँको प्रति व्यक्ति आय भने ११ हजार १९१ डलर रहेको छ, जुन विश्वको ६०औँ नम्बरमा पर्छ । रुसको जीडीपी भने विश्व को ११औँ नम्बरको ठूलो जीडीपी हो । सन् २०१९ मा यसको जीडीपी १.६१ ट्रिलियन रहेको थियो ।

यसै क्रममा नेपालबारे पनि जानी राखौँ । विश्वका ठूला देशको क्रममा नेपाल ९३औँ नम्बरमा पर्छ । नेपालको कुुल क्षेत्रफल एक लाख ४७ हजार १८१ वर्ग किमि छ ।

पछिल्लो जनगणनाअनुसार यहाँको जनसंख्या दुई करोड ८९ लाख ८२ हजार रहेको छ । जनसंख्याका दृष्टिकोणले नेपाल विश्वको ४८औँ नम्बरमा पर्छ । सन् २०१९ को तथ्यांकअनुसार यहाँको प्रति व्यक्ति आय एक हजार ३४ डलर पुगेको छ ।  यो भनेको विश्वका सबै राष्ट्रमध्ये १६०औँ ।

दक्षिण एसियाली देशहरूमा अफगानिस्तान मात्र नेपालभन्दा पछि रहेको छ । यस पंक्तिमा श्रीलंका ११२औँ (४,०६८ डलर), भूटान १२६औँ स्थानमा (३,१०४ डलर), भारत १४२औँ स्थानमा (२,१९९ डलर), बंगलादेश १४४औँ स्थानमा (१,७४५ डलर), पाकिस्तान १४८औँ स्थानमा (१,५५५ डलर) र  म्यान्मार १५४औँ स्थानमा (१,२९८ डलर) रहेका छन् ।