अन्तत: हार्‍यो नैतिकता

अन्तत: हार्‍यो नैतिकता

अनुरोध शर्मा  |  दृष्टिकोण  |  माघ ६, २०७६

नेपाल कम्युनिस्ट पार्टीभित्रकै दुई टाउकाको खिचातानीले अन्ततः नेकपाको नैतिक हार भएको छ ।

प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार काण्डमा परेर पदबाट राजीनामा दिएपछि खालि रहेको सभामुख पदका लागि नेकपाले लामो कसरत र रस्साकस्सीपछि अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

स्वाभाविक हो, संसदमा ठूलो दल नेकपाले पक्कै सभामुख आफ्नै दलबाट बनाउँछ । र, सभामुख कसलाई बनाउने भन्ने निर्णय गर्ने पनि उसैले हो ।

तर, प्रश्न यहाँ छ कि सोही दलबाटै उपसभामुख रहेकी एक महिला, जो शैक्षिक, व्यावहारिक, राजनीतिक र उक्त पदका लागि प्रशिक्षित पनि थिइन्, डा. शिवमाया तुम्बाहाम्फे, उनलाई जबर्जस्त पाखा लगाएर अर्को व्यक्ति खडा गर्नुले नेकपाको इमान, आदर्श र नैतिकतामाथि गम्भीर प्रश्न खडा गरेको छ ।

नेकपा भर्खरै दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकीकरणपश्चात् नवसंयोजित पार्टी हो । कम्युनिस्ट चरित्रका र समाजवादलाई लक्ष्य बनाएका यी दुई पार्टीबीच एकीकरणको प्रक्रिया जारी रहँदा वास्तविक एकीकरणको संभावना भने क्षीण देखिन्छ । उनीहरूमा अझै पनि दुई पार्टीको मानसिकता बाँकी नै छ । यसकै परिणाम एक सशक्त, योग्य र सक्षम महिला, जो जनजातिकी प्रतिनिधि पनि हुन्, उनले ‘शहीद’ बन्नुपरेको छ ।

नेकपा नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णयले केही सवाल झनै व्यापक उठाएको छ । एकातर्फ बलात्कारको आरोपमा बहालवाला सभामुख जेलमा छन् भने अर्कातर्फ त्यही सभामुख पदका लागि अर्का हत्या आरोपी नेता नेकपाले उम्मेदवार बनाएको छ ।

उनको मुद्दा किनारा लागिसकेको अवस्था भए यो स्वाभाविक थियो तर मुद्दाको पेसी आगामी २२ वैशाखमा रहेको छ र यता हतारमा सापकोटालाई सभामुख बनाउने निर्णय नेकपाले गरेको छ ।

बलात्कार अभियोगमा रहेका जेलमा, हत्या अभियोग भएका सभामुखमा ! क्या गज्जबको दृश्य अब देखिनेछ नेपाली राजनीतिमा ।

भलै, सापकोटा अन्य हिसाबले सभामुखका लागि योग्य होलान् तर हत्या जस्तो जघन्य अपराधमा मुछिएका र मुद्दा खेपिरहेका कसैलाई पनि ‘सम्माननीय’ पदका लागि उम्मेदवार बनाइनु नेकपा अथवा जोकोहीका लागि गम्भीर नैतिक प्रश्न हो ।

नेकपा धेरै कुरामा चुकिरहेको छ पछिल्लो समय । कुनै अमुक व्यक्ति वा समूहको स्वार्थको चङ्गुलमा परेर आफ्नो इमान, आदर्श र नैतिकतालाई तिलान्जलि दिनु नेकपाका निम्ति हितकर होइन । राज्य र जनताका लागि पनि यो दुर्भाग्य हो ।

बरु तेस्रो व्यक्तिलाई अघि सारेको भए नेकपा नैतिक संकटमा पर्ने थिएन । तर, नेकपाभित्रै विगतका एमाले र माओवादी हावी भइरहनुको परिणाम तेस्रो व्यक्तिको छनोटमा अवरोध भएको हुन सक्छ ।

उसो त माओवादीबाटै जनार्दन शर्मा थिए, देव गुरुङ थिए र अन्य धेरै थिए, जो सभामुखका लागि योग्य र इमान्दार पनि थिए ।

तर, टाउकाको स्वार्थ नै संस्था, संगठन वा निकायमा सर्वोपरि हुने हाम्रो जस्तो राज्य र समाजमा अरू कुरा तपशील बने । इमान्दार, नैतिकवान्, क्षमतावान्, असल र अनुभवीहरू पाखामा धकेलिए ।

व्यक्ति पुजक, बेइमान र अनैतिक अनि भ्रष्टहरू सत्ता स्वादमा चुर्लुम्म डुब्ने अवसर पाइरहे ।

र, फेरि एक पटक नेकपा नराम्ररी नैतिक हार व्यहोर्दै छ– इतिहासले यसको मूल्यांकन अवश्य गर्ला ।

शिवमाया ! तिम्रो विश्वासमा, तिम्रो क्षमता र योग्यतामा, तिम्रो निष्ठामा नेकपाले पारेको चोटलाई कुनै सिर्जनशील कर्मले पुर्ने प्रयास गर ।