छोरी छोरी नै हो, बुहारी बुहारी नै ! सोचमा परिवर्तन नभई व्यवहारको खोजी ?

छोरी छोरी नै हो, बुहारी बुहारी नै ! सोचमा परिवर्तन नभई व्यवहारको खोजी ?

निर्जला कक्षपति  |  दृष्टिकोण  |  माघ ७, २०७६

छोराको बिहे अगाडि धेरैले भन्ने गरेको सुनेकी छु, ‘म त बुहारीलाई पनि छोरीलाई जस्तै व्यवहार गर्ने हो ।’

एक जना मात्र छोरा भएकाहरू त के सम्मन भन्ने गर्छन् भने मेरो त छोरी भनेकै बुहारी हो । तर, जब विवाहपछि सासूससुरा, छोराबुहारी एक ठाउँमा बस्छन्, बुहारी बुहारी नै हुन्छिन् अर्थात् बुहारी भएपछि छोरीले जस्तो हर्कत् देखाउँछिन्, बुहारीले त्यस्तो हर्कत् देखाएको सासूससुरालाई फिटिक्कै मनपर्दैन ।

एक जना आइएनजीओमा काम गर्ने दिदी थिइन् । उनको एक मात्र छोरा । छोराको पनि युएनमा राम्रो जागिर थियो । छोराको विवाह गर्ने कुरा भयो । काठमाडौंको खानदानी परिवारबाट पढेलेखेकी बुहारी भित्र्याउने निधो भयो । विवाहमा पनि सक्दो खर्च गरे ।

दुलहीलाई इण्डियामा नै एक लाख भारु पर्ने लेहेंगा किनेर ल्याएका छन् भनेर नेपालमा निकै नै हल्ला भयो । ती आइएनजीओमा काम गर्ने दिदीले पनि विवाह गरेर बुहारी नभित्र्याउँदासम्म ‘मेरो त एक्लो छोरा हो, छोरी छैन, बुहारी नै छोरी हो । म त छोरीलाई जति माया गरिन्छ, त्यति नै माया गर्छु’ भन्ने गर्थिन् ।

जब छोराको विवाह गरेर बुहारी भित्र्याइयो, त्यसको केही दिनपछि ती दिदी निकै नै निन्याउरो अनुहारमा देखिइन् । ‘के भो दिदी ?’ भनेर सोध्दा त आफ्नी बुहारी यस्ती छ, उस्ती छ, बिहान अबेर उठ्छे, आफू मात्र कफी बनाएर खान्छे, हामीलाई सोध्दा पनि सोध्दिन । अफिसबाट अबेर घर फर्किन्छे, घर फर्किने कुनै निश्चित समय हुँदैन । हामीलाई नसोधी जहाँ मनलाग्यो, त्यहीँ जान्छे आदि यस्तै खाले लामो गन्थन गरी हालिन् । गन्थन गरेको केही महिनापछि त छोरा र बुहारीबीच पारपाचुके भएछ ।

विवाह गर्नु अगाडि त बुहारीलाई छोरीलाई जस्तै व्यवहार गर्छु भन्नेले आज विवाह गरेपछि बुहारीकै भूमिका खोजेको देखेर म त तीनछक परेँ । आज पनि मुखले बुहारीलाई छोरी नै हो भन्ने तर व्यवहारले भने अर्कै गर्ने सासूआमाहरू हाम्रो समाजमा धेरै छन् । सोच परिवर्तन नभईकन व्यवहार परिवर्तन हुँदैन ।

अझ पनि समाजले बुहारी भन्नेवित्तिकै परम्परागत शैली अपनाएको नै रुचाउँछ । घरको काम सम्हाल्ने, सबैलाई मान गरेर बस्ने, घरका सबै समस्या समाधान गर्ने, यस्तै गुण भएकी बुहारी नै रुचाइन्छ । बिहान उठेर टक्क आफूलाई मात्र कफी बनाएर पिउने बुहारी कसरी सासूससुराको प्रिय बन्न सक्छन् र ?

हाम्रो समाज पितृसत्ताले गाँजेको समाज हो । छोरा र छोरीबीच त थुप्रै असमानता र विभेदहरू छन् भने छोरी र बुहारीबीच विभेद नहुने कुरै भएन । एक जना छोरी बिहान उठनेवित्तिकै चियाको कप समातेर पढ्न बस्न सक्छिन् । बुहारीले यो सुविधा कहाँ पाउनु ? बुहारी त कुचो समातेर घरधन्दा गर्नुपर्ने अनि सासूससुराको खुट्टामा ढोग्नुपर्ने, घरका सबै सदस्यलाई चिया खान दिएपछि बल्ल आफूले चिया खानुपर्ने हुन्छ ।

यस्ता थुप्रै कुराहरू छन् छोरीलाई छुट दिइएको कुरा बुहारीले गर्न सक्दैनन् । कसैकसैले अपवादको रूपमा बुहारी भएर पनि छोरीले जत्तिकै माया पाएका होलान्, होइन भने बुहारीले पनि त्यतिकै माया, अवसर र सम्मान पाएका भए परिवारबीच बेमेलका कुरा पनि सुन्नुपर्दैनथ्यो होला । 

समय धेरै बदलिएको छ । बुहारीलाई मात्र कामको बोझ थप्नु अनि बुहारी अर्काकी छोरी भनेर उसलाई माया नगर्नु भनेको सासूससुराको पनि कमजोरी हो । तर, सासूससुराले बुहारीबाट छोरीले दिने माया खोज्नु भनेको भ्रम मात्र हो किनभने जोसँग लामो समय बसिन्छ, उसकै माया लाग्ने हुन्छ ।

हाम्रो समाजमा पुरुष भनेको शान हो– कमाएर खुवाउन सक्ने । यसरी लिने गरिएको छ । महिला भनेको अर्काको घर जाने जात । शदियौँदेखि यही रूपमा लिइन्छ । महिला, पुरुष दुवै भनेका मानिस हुन्, लैंगिक हिसाबले मात्र फरक हुन् भन्ने सोच मानिसमा नआउँदा साह्रै दिक्क लाग्नु स्वाभाविक नै हो । त्यसमाथि बुहारी । बुहारी त अर्काको घरबाट आएकी भइहालिन् । पहिलेदेखि अर्काको घर रिझाएर खानुपर्ने । शदियौँदेखि चलेको चलन र सोचमा फिटिक्कै परिवर्तन हुन सकेको छैन ।

केही वर्ष अगाडिसम्म कसले बढी काम गर्न सक्छ, भनेको मान्ने स्वभाव छ कि छैन, त्यो हेरेर बुहारी खोज्ने चलन थियो । आजको दिनसम्म आइपुग्दा कसले घाँसको भारी ठूलो बोक्न सक्छ भनेर नहेरिए पनि घर गरेर खान्छे कि खाँदिन, सासूससुरालाई इज्जत गर्छे कि गर्दिन ? यो भने अवश्य हेरिन्छ ।

सासूससुरालाई इज्जत र मान गर्नु राम्रो कुरा हो तर बुहारीलाई घरमा काम गर्न राखिएको मानिसको विकल्पको रूपमा हेर्नु भनेको ठूलो कमजोरी हो ।

अहिले धेरै मानिसको घरमा बुहारी ठीक भइन भन्ने धेरै सासूससुराको गुनासो छ । बुहारी छोरी जस्ती भइन भनेर धेरैले गुनासो  गर्छन् । छोरी छोरी नै हो, बुहारी बुहारी नै हो । छोरी जस्ती बुहारी कहिल्यै हँुदिनन् र कहिल्यै बन्न पनि सक्दिनन् ।

विवाह नगर्दासम्म छोरी बाबुआमाकै काखमा हुन्छिन् । समयक्रमले गर्दा अहिलेका छोरीहरू आफ्नो करियर बनाएर मात्र विवाह गर्छन् । त्यसैले पनि बाबुआमासँगको सामीप्य छोरीको बढी हुने गर्छ । फेरि छोरीको स्वभाव नै हुन्छ बाबुआमालाई माया गर्ने, केयर गर्ने, बाबुआमाको दुःखलाई कसरी पार लागाउने भन्ने सोच्ने । यी सब स्वभाव छोरीमा हुने गर्छन् ।

बुहारीसँग, छोरीजति नजिकको सामीप्य बाबुआमाको हुँदैन । फेरि व्यक्तिव्यक्तिबीच फरक फरक स्वभाव हुने गर्छ । यसले गर्दा पनि बुहारी छोरी जस्तो हुन कठिन पर्छ ।

समय धेरै बदलिएको छ । बुहारीलाई मात्र कामको बोझ थप्नु अनि बुहारी अर्काकी छोरी भनेर उसलाई माया नगर्नु भनेको सासूससुराको पनि कमजोरी हो । तर, सासूससुराले बुहारीबाट छोरीले दिने माया खोज्नु भनेको भ्रम मात्र हो किनभने जोसँग लामो समय बसिन्छ, उसकै माया लाग्ने हुन्छ ।

बाबुआमाले त छोरीलाई जन्माएका हुन्छन्, हुर्काएका हुन्छन्, पढाएका हुन्छन् । त्यसैले पनि बाबुआमासँगको सम्बन्ध छोरीको नजिकको हुन्छ । बुहारी त धेरै पछि भित्रिएकी हुन्छिन् । त्यसैले  बुहारी छोरी जस्तो कहिल्यै बन्न सक्दिनन् ।

छोरी छोरी नै हो, बुहारी बुहारी नै हो ।