कांग्रेसलाई लाग्छ- 'बाजेले घीउ खाएका थिए, मेरा तिघ्रा बलियै छन् ।'

कांग्रेसलाई लाग्छ- 'बाजेले घीउ खाएका थिए, मेरा तिघ्रा बलियै छन् ।'

लोकसंवाद संवाददाता  |  दृष्टिकोण  |  माघ ७, २०७६

नेपाली राजनीतिमा इतिहासमै अहिले जस्तो निरीह र विचरा प्रतिपक्ष थियो । लोकतन्त्रको सौन्दर्य सशक्त प्रतिपक्ष र उसले सरकारलाई गर्ने वाञ्छनीय नियन्त्रण हो । तर, हामीकहाँ अहिले प्रतिपक्ष यति कमजोर र अस्थिर भयो कि ऊसँग लोकतान्त्रिक संसदको प्रतिपक्ष बन्ने तागत नै देखिएन ।

लोकतन्त्रमा सरकार बहुमतको हुन्छ । संसदमा सरकारप्रति समर्थन गर्ने सांसदको बाहुल्य हुन्छ । र, शक्ति र सत्ता सधैँ सही हुँदैन, सधैँ सही निर्णय गर्दैन भन्ने अघोषित मान्यताका कारण संसदमा प्रतिपक्षको प्रावधान हुन्छ ।

प्रतिपक्ष पनि एक हदसम्म सरकारकै अंग हुन्छ । यसको मतलब प्रतिपक्ष कतिपय महत्त्वपूर्ण निकाय र स्थानमा अनिवार्य रहन्छ । तथापि, उसको धर्म सरकारका सही कामको समर्थन र सहयोग अनि गलत कामको विरोध गर्नु र गलत हुनबाट जोगाउनु हो ।

हामीकहाँ आजको प्रतिपक्ष, जो सात दशक लामो राजनीतिक इतिहास पार गरेर आएको छ, जसले पटक पटक लोकतान्त्रिक संसद र सरकारको नेतृत्व गरेको छद्ध, ऊ नै वास्तविक प्रतिपक्षको भूमिकामा देखिएको छैन ।

कांग्रेससँग एउटा नराम्रो ह्याङ बाँकी नै छ, जुन अन्य दलमा पनि छ । त्यो हो– संसद अवरुद्ध गरेपछि र सडक तताएपछि सबै समस्या समाधान हुन्छन् । जादूको छडीले फु मन्तर गरेर चटक देखाएजसरी कायापलट हुन्छ भन्ने ।

यो सरासर गलत सोच हो र यस्तो सोचले मुलुकका समस्या समाधान हुँदैनन्, सत्ता वा सरकारलाई ‘चेक एण्ड ब्यालेन्स’ हुँदैन । बरु प्रतिपक्षले संसदमा शानपूर्वक, शालीन ढंगले आफ्ना कुरा र विरोध अनि असहमति राख्नुपर्छ । विभिन्न मंचहरूमा, मिडियामा आफ्ना धारणा सार्वजनिक गरेर सरकारलाई ‘ट्र्याक’बाहिर जानबाट रोक्ने प्रयास गर्नुपर्छ ।

अहिले मुलुकमा व्याप्त हिंसा, भ्रष्टाचार, अविकास, अराजकता नियन्त्रणका लागि सरकार मात्र जिम्मेवार होइन, सरकारलाई आफ्ना काममा अवरोध गर्ने प्रतिपक्ष पनि उत्तिकै जिम्मेवार हो ।

अहिले सरकारका राज्यहित र जनताका आवश्यकताका काममा अवरोध गर्ने बेला होइन, बरु सकेको सहयोग गर्ने बेला हो । यस्तो बेलामा प्रतिपक्ष आफ्नै घर (पार्टी)भित्र लडाइँ खेलेर बसेको छ । गतिला तर्क र योजना प्रतिपक्षसँग देखिँदैन ।

लामो समय सत्ता स्वादमा रमाएको प्रतिपक्ष सत्ताबाहिर हुँदा छट्पटिएको पनि हुन सक्ला तर आफ्नै विगतका कारण मरिच बनेको प्रतिपक्षले अब केही समयमै हुने आमनिर्वाचनका लागि के तयारी गरेको छ ? जनविश्वास प्राप्तिको आधार के बनाएको छ ? विगतका कमी कमजोरी सुधारका कार्य के कति गरेको छ ? राष्ट्र र जनताका हितका पक्षमा के याेगदान गरेकाे छ ?

यी र यस्ता सवाल आजको हाम्रो प्रतिपक्षका सामु निकै ठूला चुनौती हुन् । यी चुनौती चिर्नका लागि प्रतिपक्ष आन्तरिक पार्टी लफडामा अल्झिएर संभव छँदै छैन ।

अर्को कुरा कृष्णबहादुर महराले बलात्कार अभियोगमा राजीनामा दिएपछि खालि रहेको सभामुख पदका लागि भर्खरै मात्र नेकपाले अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । निकै लामो समयसम्म सभामुखको उम्मेदवार नपाएर छट्पटिएको नेकपाले बल्ल सभामुखको उम्मेदवार पाएको छ । तर, एउटा बहालवाला सभामुख बलात्कार अभियोगमा जेलमा रहिरहँदा अर्का हत्या आरोपी व्यक्तिलाई सभामुखमा उम्मेदवार बनाउने निर्णय भएको छ ।

अनि यस्तो विषयमा प्रतिपक्ष गतिलो गरी बोल्न र अडान लिन सक्दैन । आफ्नोतर्फबाट सभामुखको उम्मेदवार दिन त किन सक्थ्यो समयमा !

तर, अझै पनि कांग्रेसलाई लाग्छ– बाजेले घीउ खाएका थिए, मेरा तिघ्रा बलियै छन् ।

यो उसको सबैभन्दा ठूलो र घातक भ्रम हो, जसका कारण कांग्रेस आज अत्यन्त कमजोर त बनेको छ नै आफैँमा, लोकतान्त्रिक संसद र सरकारको निरीह र विचरा प्रतिपक्ष पनि ।