डा. पवन चाम्लिङको अभ्यास र नेपालले सिक्नुपर्ने पाठ

डा. पवन चाम्लिङको अभ्यास र नेपालले सिक्नुपर्ने पाठ

बम बानियाँ  |  दृष्टिकोण  |  माघ ८, २०७६

नेपाली मूल किरात राई जातिबाट भारतको सिक्किम प्रदेशको मुख्यमन्त्री भएर २५ वर्ष शासन गरेका पवन चाम्लिङ किरात राई यायोक्खा केन्द्रीय समितिले आयोजना गरेको यले सम्वत्, ५०८० को अवसरमा सम्मानित हुन आउँदा अभिव्यक्त उहाँको मन्तव्यको आधारमा यो लेख तयार भएको छ ।

पवन चाम्लिङ बहुआयामिक व्यक्तित्व हुनुुहुन्छ । भारतीय राजनीतिमा आफूलाई सफल र अब्बल सावित गर्न सफल चाम्लिङ उत्कृष्ट कवि एवं गीतकार  पनि हुनुहुन्छ । कुनै पनि मानिस पदमा पुग्दैमा सफल मानिँदैन । त्यो पदमा पुगेर के कस्ता सफल र युगीन कामहरू गर्‍यो भन्ने पाटोबाट मानिसको सफलताको कसी लगाउन सकिन्छ । यो मामलामा धेरै पक्षमा पवन चाम्लिङ सफल देखिनुहुन्छ ।

सिक्किम डेमोक्रेटिक फ्रन्टबाट राजनीतिक यात्रा गरेका पवन चाम्लिङ भारतको सबैभन्दा बढी समय मुख्यमन्त्री भएर भारतको पहिलो अर्गानिक प्रदेश बनाउने नेता हुनुहुन्छ । सन् १९९४ देखि २०१९ सम्म उहाँ सिक्किमको मुख्यमन्त्री रहनुभयो ।

सन् २०१६ जनवरी १८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्मिलाई भारतकै पहिलो अर्गानिक प्रदेश घोषणा गर्नुभएको थियो । आज संसारले अर्गानिक चिजवस्तुहरूको आवश्यकचा र उपभोग खोजिरहेको अवस्थामा पदमा बसेर यति धेरै महत्त्वपूर्ण काम गर्नु चाम्लिङको सफल इतिहास हो । अझै उहाँको कामको महत्त्वका बारेमा थप अनुसन्धान बाँकी नै छ । 

भर्खरै संघीयतामा प्रवेश गरेको नेपाल जस्तो मुलुकलाई चाहिने पवन चाम्लिङले निकै महत्त्वपूर्ण विषयहरू राख्नुभएको हुनाले पनि विशेष गरेर नेपालको प्रदेशका मुख्यमन्त्री, स्थानिय तहका प्रमुख र उपप्रमुखलाई यो लेख सन्दर्भ सामग्री हुनसक्छ ।

उहाँले सम्बोधनको सुरुमै आफ्नो पितृदेशमा आएको, मन र भावना अनि इतिहासले नेपालीभाषी एउटै भएका, केवल भूगोलले टाढा भएको अनुभूति प्रकट गर्नुभएको थियो । उहाँले किरात राई यायोक्खाले गरेको सम्मानको प्रशंसा गर्दै एउटा पारिवारिक भेटघाटमा आएकाले कुनै राजनीतिक स्वार्थले कुनै फाइदा लिन आयो कि भनेर शंका नगर्नसमेत अनुरोध गर्नुभयो ।

नेपालीभाषी भएर आठ पटक सांसद र पाँच पटक लगातार मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने मौका पाउनुभएका र त्यो समयमा निकै ठूलो विश्वमै चकित हुने काम गरेको र नेपाली शिर उचो बनाउन उहाँले योगदान गरेको विषय महत्त्वपूर्ण छ । सिक्किममा चारधाम एकै ठाउँमा निर्माण गरिसकिएको छ ।

विश्वमा जैविक खेतीको सुरुवात गर्ने भारतको पहिलो प्रदेश सिक्किम हो । सिक्किम पहिलो राज्य हो भारतको, जहाँ शत प्रतिशत साक्षरता छ । २५ वर्ष अगाडि ५६ प्रतिशत साक्षरता थियो । दोस्रो केरला, तेस्रो मिजोरम बनेको छ । यो अनिकालमुक्त राज्य पनि हो । यो पहिलो आधारभूत आवश्यकता पूरा भएको राज्य हो ।

साधारण जनता सबैले निःशुल्क कलेजसम्मको शिक्षा पाउँछन् । औषधि, पानी निःशुल्क पाउँछन् । खाद्य सामग्री निःशुल्क पाउँछन् । यति भन्दाभन्दै केही भावुक बनेर नेपालका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईतर्फ हेर्दै आग्रह चाम्लिङले भन्नुभयो, ‘उहाँको कार्यकालमा सबैभन्दा बढी प्रथामिकता जनताको आधारभूत  आवश्यकतामा हुनुपर्छ । गास, बास, कपास, शिक्षा, स्वस्थ्य आदि । हरेक गरिबभन्दा गरिब जनताका छोराछोरीले पनि कलेजसम्मको शिक्षा निःशुल्क पढ्न पाऊन् । यसलाई भन्नुपर्छ शैक्षिक सुरक्षा । त्यस्तै, प्रत्येक जनताले बिहान, बेलुका खान पाऊन्, पत्येक गरिबभन्दा गरिबले दबाइ–पानी निःशुल्क पाऊन्, त्यसलाई भनिन्छ स्वास्थ्य सुरक्षा ।’

उहाँले भन्नुभयो, ‘तपाईंहरूकहाँ डेमोक्रेसी आयो । डेमोक्रेसीलाई हामी लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र आदि भनेर बुझाउँछौँ । हामी जनतालाई विभिन्न तरिकाले बुझाउँछौँ । डेमोक्रेसीले जनतालाई समान अधिकार दिन्छ र नेपालमा पनि यसबारेमा अभ्यास भइरहेको छ । नेपालमा पनि जन्मसिद्ध अधिकारको कुरा हुन्छ । त्यो पनि पायो । तर, समान अधिकारको साथमा जनताले बुझ्नुपर्‍यो कि समान जिम्मेबारी पनि सँंगै आउँछ अनि अधिकार त्यसले बढी पाउँछ, जसले बढी जिम्मेवारी लिन्छ ।’

प्रत्येक व्यक्तिले जिम्मेवारी लिने, प्रत्येकले अधिकार खोज्ने उहाँको मत थियो । ‘सिक्किममा पनि एउटा राजा थिए, नेपालमा पनि एउटा राजा थिए । उनीहरू हटेपछि जनता नै समान हक अधिकारसहितका राजा हुन् तर जिम्मेवारी लिन सक्नुपर्छ’, चाम्लिङको भनाइ थियो, ‘राजाको अधिकार पनि जनताले पाए, राजाको जिम्मेवारी पनि जनताले पाए । हामी नेपालीले अधिकार त निकै खोजेका छौँ तर जिम्मेवारी कति पूरा गरेका छौँ, आफैँले सोच्ने समय पनि आएको देखिन्छ ।’

‘डेमोक्रेसीले समान हक दिन्छ तर समान प्रतिफल दिँदैन । प्रजातन्त्रको यो एउटा विडम्बना नै हो । अब्राहम लिङ्कनदेखि हेरा लास्कीसम्मले पनि यो बुझेर पनि जनतालाई ने छोडिदिए होलान् तर प्रतिफलका लागिचाहिँ जनताले काम गर्नुपर्छ ।  यो जमाना भनेको सकारात्मक सोच्ने समय हो । ‘कन्स्ट्रक्टिभ’ हुने समय हो । ‘डिस्ट्रक्टिभ’ भएर सोच्ने समय होइन’, चाम्लिङको थप धारणा थियो, ‘आज हाम्रो प्रतिस्पर्धा भनेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’सँग हो । मानवसँगभन्दा अब हामी आर्टिफिसियल इन्टेलिजेन्ससँग प्रतिस्पर्धा गर्नुपर्छ । अब १० वर्षभित्र हाम्रो सडकमा गाडी हुन्छ, ड्राइभर हुनेछैन । अब मान्छेले गर्दा हामी पछि पर्‍यौँ भने त हामी बर्बाद हुन्छौँ । अब मान्छेले मान्छेलाई दोष दिनु भन्दा खुला प्रतिस्प्रर्धाबाट अगाडि बढ्नु राम्रो विकल्प हो ।’

चाम्लिङको भनाइको मुख्य आसय अब नेपालमा पनि जातीय विभेदलगायत अन्य विभेदहरू छन् भनेर यी विषयमा अल्झिनुभन्दा समयको वेगलाई समातेर सबै प्रतिस्पर्धात्मक रूपमा अगाडि बढ्नु भन्ने बुझिन्छ ।

हामी नेपाली हाम्रो आफ्नै पोल आफैँ अरूलाई खोल्छौँ । हाम्रो बानीचाहिँ राम्रो होइन । गँगटे प्रवृत्ति छ । यसबाट हामी मुक्त हुनुपर्छ भन्ने उहाँको सुझाव पनि उपयुक्त नै हो । अंग्रेजले सारा संसार जित्दा पनि नेपाल जित्न सकेको थिएन । नेपाली संसार जित्ने जाति हौँ । हामी वीर जाति हौँ । जर्मनका सम्राट जर्ज विलियमले भनेका थिए, ‘गोरखाको नाम सुन्नासथ मेरो मुटु काँप्छ ।’ संसारका सबैभन्दा बढी भिक्टोरिया क्रस नेपालीले नै प्राप्त गरेका थिए । यो डिजिटल युगमा पनि हामी वीर नै रहनुपर्छ भन्ने चाम्लिङको आसय थियो ।

नेपाललाई पनि अर्गानिक देश बनाउन सकिन्छ । यसका लागि सबैभन्दा पहिला नेपाल सरकारले रसायनिक मल, बिषादी, रसायनिक बिष जति बन्द गर्ने र सरकारले ती चिजमा दिने सुविधा अर्गानिक कृषिमा दिने हो भने देश नै अगार्निक बन्न कुनै समय नलाग्ने उहाँको भनाइ थियो ।

यसरी सोच्ने र गर्ने हो भने नेपाल विश्वकै पहिलो अर्गानिक देश बन्ने, अर्गानिक देश बन्नासाथ नेपाल विश्वको गन्तव्य हुने उहाँको सन्देश साँच्चै मननयोग्य हो । यसो भएमा बृहत् पर्यटन बढेर जान्छ । यो नै नेपाल संसारको उत्कृष्ट मुलुक बन्ने बाटो हुन सक्छ ।

नेपालका नेताहरूले उहाँबाट सिक्नुपर्ने मुख्य तीनवटा कुराहरू देखिन्छ । पहिलो सुशासन, कामलाई महत्त्व दिने । दोस्रो मानव-मानवबीच प्रतिस्पर्धा नभएर आधुनिक युग या प्रविधिसँग प्रतिस्पर्धा गर्ने, भ्रष्टाचारमुक्त र प्राकृतिक जीवनमा विश्वास गर्ने देखिन्छ ।

कताकता शासन शैलीमा केही फरक भए पनि आधुनिक सिंगापुरका निर्माता ली क्वान यू र सिक्किमका विकासवादी नेता पवन चाम्लिङललाई तुलना गर्न सकिन्छ ।

पवन चाम्लिङले नेपालमा आएर बोल्दै गर्दा म पछाडि बसेर सुन्दै गएँ । उहाँले भाषणको अन्तिममा भन्नुभएको थियो, ‘मेरो जीउ मात्रै यहाँ छ, मन त सिक्किममै छ । अहिले पनि म सिक्किमका जनता नै सम्झिरहेको छु । तपाईंहरू नेपाली हो, म भारतीय नै हो । तपाईंहरूले नेपाल बनाउनुपर्छ, मैले भारत नै बनाउनुपर्छ ।’

यी  कुराहरू सुन्दै गर्दा जोडिँदै गएका मनहरू कताकता छुटेर चसक्क दुखेको पनि थियो । किरात राई यायोक्खाले आयोजना गरेको यो भव्य समारोहमा नेपालका आमकिरातीहरूको व्यापक उपस्थिति थियो । केही मात्रामा गैरकिरातीहरू पनि थिए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि किरात नै भएकाले हुन सक्छ, उहाँको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । मेरो सोचमा यो कार्यक्रम यायोक्खाले नै आयोजना गरे पनि नेपालका सबै प्रदेशका मुख्यमन्त्री र नेपालका प्रधानमन्त्रीसम्मको उपस्थितिमा भइदिएको भए हुन्थ्यो भन्ने पनि लागेको थियो ।

पवन चाम्लिङबाट सिक्नुपर्ने सामान्य तर ज्यादै महत्त्वपूर्ण विषयहरू हाम्रा नेताहरूले सिक्नुपर्ने प्रकृतिका थुप्रै थिए । सबैभन्दा महत्त्वपूर्ण कुरा जैविक प्रदेशकै थियो । किनभने नेपाल पनि त्यो संभावना बोकेको मुलुक हो । र, पवन चाम्लिङ जस्ता जैविक विषयमा सफल मान्छेबाट नेपालले निकै सहयोग लिन सक्नुपर्ने हो ।

यति हुँदाहुदै पनि राजनीतिमा कसलाई हार मीठो लाग्छ र ! पवन चाम्लिङले २५ वर्षको लामो शासनकालपछि यस पटक सिक्किम क्रान्तिकारी मोर्चाका नेता प्रेमसिंह तामाङको पार्टीबाट पराजय व्यहोर्नुभयो । यति धेरै उल्लेखनीय काम गर्दा पनि जनताले किन हराए ? भन्ने एउटा जिज्ञासाको बिषय बनेको छ ।

उहाँले विकास र सेवा सबै जनतालाई दिए पनि विचार, दृष्टिकोण जनतामा दिन नसकेका कारण नै उहाँको हार भएको हो भन्ने मेरो ठम्याइ हो । भौतिक, आधारभूत सबै सुविधा भए पनि जबसम्म जनता वैचारिक रूपमा समृद्ध हुँदैनन्, तबसम्म कुनै पनि प्रजातान्त्रिक नेताको राजनीतिमा खाल्डो पर्न सक्छ भन्ने पाठ पनि हामीले सिक्नु जरुरी छ ।

अर्को, आत्मसम्मानको कुरा गर्ने हो भने यति धेरै ऐतिहासिक काम गर्ने नेतालाई अहिलेका मुख्यमन्त्रीले सुरक्षा सुविधासमेत दिएका छैनन् । यो एउटा नेपालीभाषीका लागि अपमानको विषय पनि हुन सक्छ । हामी नेपाली संसारका कुनै ठाउँमा गएर ठूलाठूला योगदानहरू गरेका छौँ । तीमध्ये भारतमा गएर भारतकै उन्नतिमा योगदान गर्ने पवन चाम्लिङ पनि एक हुनुहुन्छ तर उहाँ आफैँ भारतबाटै कति सम्मानित हुनुहुन्छ भन्ने अर्को प्रश्न पनि हामीमा उठ्ने गर्छ ।

अन्तमा, हाम्रै पूर्वी नेपालको खोटाङ जिल्ला, हाल दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, निर्मलीडाँडा लामाखुका रानाहँछा पाछाका पवन चाम्लिङ आज विश्वका एक अध्ययन गर्नलायक नेता हुनुहुन्छ । उहाँले कम्युनिष्टहरू नेताहरूको मात्र इतिहास लेखिने गरेको तर प्रजातान्त्रिक नेताको खासै नलेखिने गुनासो गर्दै तर अबको यहाँकै भाषामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’को युगमा त्यसो मात्रै पनि नहुने विश्वास व्यक्त गर्नुभयो ।

‘विश्व मानवतावादले गाँसेको सम्बन्ध कुनै पर्खालहरूले छेक्ने छैनन् । नेपाललाई पनि जैविक देश निर्माण गर्न यहाँको अमूल्य योगदान कुनै भूगोलको घेराबन्दीले छेक्नेछैन’, भन्ने उहाँको विश्वास थियो ।

लेखक : स्मार्ट माइक्रो रिसर्चका अभियन्ता हुनुहुन्छ ।