प्रज्ञा–प्रतिष्ठान र  हिब्रु लेखक सङ्घबिच सांस्कृतिक समझदारी पत्रमा हस्ताक्षर

प्रज्ञा–प्रतिष्ठान र  हिब्रु लेखक सङ्घबिच सांस्कृतिक समझदारी पत्रमा हस्ताक्षर

लोकसंवाद संवाददाता  |  साहित्य  |  माघ ९, २०७६

काठमाडाैँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र इजरायलको हिब्रु राइटर्स एसोसिएसनबिच द्विपक्षीय साहित्यिक तथा सांस्कृतिक सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । हिब्रु राइटर्स एसोसिएसन, इजरायलको निमन्त्रणामा इजरायल भ्रमणमा रहनुभएका नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र हिब्रु राइटर्स एसोसिएसन, इजरायलका उपाध्यक्ष अजमौन एनिभले नेपाली राजदूताबास तेलअबिभमा आयोजित एक समारोहमा द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।  

उक्त समारोहमा इजरायलका लागि नेपाली राजदूत डा। अञ्जान शाक्य,  कुलपति उप्रेतीको नेतृत्वमा इजरायल भ्रमण दलमा संलग्न नेपाल प्रज्ञा–प्रतिष्ठानका  प्राज्ञपरिषद् सदस्य डा। देवी नेपाल र त्रिभुवन विश्वविद्यालय, अङ्ग्रेजी विभागका पूर्वप्रमुख प्रा।डा। अम्मराज जोशीका साथै इजरायल सरकार परराष्ट्र मन्त्रालयका दक्षिणपूर्व एसिया शाखाका निर्देशक एवम् नेपालका लागि इजरायली पूर्वराजदूत यारोन माएर, परराष्ट्र मन्त्रालयका सांस्कृतिक कूटनीति ब्युरोका प्रमुख जिवनेवो कुलमान तथा विभिन्न कूटनीतिक नियोगका सदस्यहरूको उपस्थिति रहेको थियो ।

द्विपक्षीय समझदारीपत्रमा दुई देशबिच साहित्यिक तथा प्राज्ञिक आदान प्रदान एवम् सद्भाव भ्रमण गर्ने, साहित्य तथा संस्कृति सम्मेलन आयोजना गर्ने, कृति अनुवाद तथा प्रकाशन गर्ने लगायतका बुँदाहरू समेटिएका छन् ।      

उक्त अवसरमा बोल्दै कुलपति उप्रेतीले यस समझदारीले नेपाल र इजरायलबिच साहित्यिक तथा सांस्कृतिक प्रवद्र्धनका लागि नयाँ ढोका खोलेको उल्लेख गर्दै दुई देशबिचको सांस्कृतिक सम्बन्धले थप उचाई पाउने विश्वास व्यक्त गर्नुभयो । कुलपति उप्रेतीले नेपाल नयाँ युगमा प्रवेश गरेको चर्चा गर्नुभयो । उहाँले भाषा, साहित्य, कला र संस्कृतिको सर्वोच्च निकाय भएको हुनाले नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपालको सांस्कृतिक समृद्धिको गहन जिम्मेवारी बहन गरिरहेको सुनाउनुभयो । उहाँले भन्नुभयो– 'यो सम्झौताले हाम्रा सांस्कृतिक गतिविधिहरूलाई विश्वव्यापीकरण गर्न र विश्वका भाइचारा सम्बन्ध भएका देशका सिर्जनात्मक गतिविधिहरूलाई नेपालीसमक्ष पुर्‍याउने कार्यमा थप उपलब्धि हासिल गर्ने छ ।'  उहाँले यस सम्झौतापछि नेपाली भाषामा प्रकाशित युगीन सिर्जनाहरु हिब्रु भाषामा र हिब्रु भाषामा प्रकाशित कृतिहरू नेपाली भाषामा अनुवाद हुनुका साथै दुबै देशबिच संस्थागत प्रतिनिधि मण्डलको आदान प्रदान हुने बताउनुभयो ।

हस्ताक्षर कार्यक्रममा इजरायलका लागि नेपाली राजदूत डा। अन्जान शाक्यले नेपालको भौगोलिक, प्राकृतिक एवम् सांस्कृतिक विविधतापूर्ण सौन्दर्यको व्याख्या गर्दै अहिले नेपालमा पर्यटन वर्ष २०२० चलिरहेको हुनाले सम्पूर्ण इजरायली नागरिकहरूलाई नेपाल भ्रमण गर्नका लागि आग्रह गर्नुभयो ।

समारोहमा हिब्रु राइटर्स एसोसिएसनका उपाध्यक्ष अजमौनले यस समझदारीपछि नेपाल र इजरायलबिचमा सांस्कृतिक बन्धुत्वको नाता जोडिएको हुनाले चाँडै एउटा प्रतिनिधि मण्डल नेपाल आउने र समग्र इजरायलीहरूमा यो सन्देश प्रवाह गर्ने बताउनुभयो ।

कार्यक्रममा आमन्त्रित दुवै पक्षका अतिथिहरूको स्वागत तथा सम्मानमा राजदूत डा। शाक्यले नेपाली दूतावासमा रात्रिभोजको आयोजना गर्नुभएको थियो । यसै गरी नेपाली प्रतिनिधि मण्डलको स्वागत र सम्मानमा हिब्रु राइटर्स एसोसिएसनले दिउँसो दिवाभोजसहित एक विशेष काव्यविमर्श कार्यक्रमको आयोजना गरेको थियो ।