दुरा समुदायमा रहेको सम्मान र विनयशीलता दर्साउने लोबारे खाने चलन सङ्कटमा

दुरा समुदायमा रहेको सम्मान र विनयशीलता दर्साउने  लोबारे खाने चलन सङ्कटमा

यमबहादुर दुरा  |  दृष्टिकोण  |  माघ १०, २०७६

‘लोबारे खाने’ शब्दावलीसँग धेरै जना अपरिचित हुन सक्छन् । यो शब्दावलीले दुरा समुदाय र कृषि प्रणालीबीचको सम्बन्धलाई दर्शाउँछ । ‘लोबारे खाने’ चलनबारे कुरा गर्दा कृषिप्रधान समाजको आधारभूत चरित्र थाहा पाउन आवश्यक छ ।

कृषिप्रधान श्रमप्रधान समाज हो । कृषिकर्ममा शारीरिक श्रमको महत्त्व उच्च छ । आधुनिक यन्त्र–उपकरणको प्रवेश नभएको समयमा कर्मशील जनशक्ति अर्थात् जाँगरिलो पाखुराबाट कृषिकर्म संभव थिएन । अर्को कुरा, विगतमा अहिलेको श्रम बिक्रीमा थिएन न त मानिससँग श्रम खरिद गर्ने पर्याप्त पैसा थियो ।

आफूलाई आवश्यक पर्ने श्रम आफँले जोहो गर्नुपर्थ्याे । श्रमसम्बन्धी आवश्यकता पूरा गर्न स्थानीय एउटा थिति बसाले । यसअनुरूप समुदायका सदस्यहरू पालैपालो गरी एकअर्काको खेतबारीमा गएर काम गर्थे । अर्को शब्दमा भन्दा एक–आपसमा पाखुरा साटासाट गरेर जनजीवनलाई जीवन्त राख्थे । यसरी एकअर्काको श्रमको खाँचो पूरा गर्थे ।

नेपाली समाजमा श्रम आदान–प्रदानका अनेकन् रूप र प्रवृत्तिहरू छन् । जस्तै  झारा, गुहार, पर्म आदि ।

बाटोघाटो, कुलो, पाटीपौवा, पँधेरा जस्ता सार्वजनिक महत्त्वको काममा गरिने सामूहिक श्रमदानलाई झारा भनिन्छ ।

‘पर्म’मा पनि नयाँ पिँढीकोे प्रवेश पनि एउटा स्वाभाविक रीत हो । नवप्रवेशीहरू सुरुमै काममा पारङ्गत हुँदैनन्, सिकारु हुन्छन् । पर्ममा सामेल हुनु नवप्रवेशीहरूका लागि नयाँ कुरा सिक्ने बाटोमा अघि बढ्नु हो । यसलाई अहिले भाषामा ‘इन्टर्नसीप’ भन्न सकिन्छ ।

गाउँका श्रम गर्न नसक्ने अशक्त वा सहाय व्यक्तिलाई खेतीपाती लगाउन वा बालीनाली थन्क्याउन गरिने श्रम सहयोगलाई ‘गुहार’ भनिन्छ ।

आपसी सरसहयोगको आधारमा एकआपसमा श्रम आदान प्रदान गर्ने कार्यलाई ‘पर्म’ भनिन्छ, जुन दूरदराजका गाउँवस्तीमा अझै प्रचलनमा छ । ‘पर्म’ सामूहिक जीवनशैलीको एक हिस्सा मानिन्छ ।

दुरा समुदायमा हिउँद–बर्खा दुवै ऋतुमा पर्म लगाउने चलन छ । कोदो रोप्दा, कोदो गोड्दा, धान गोड्दा, दाउरा काट्दा, दाउरा बोक्दा, खेतबारीमा मल हाल्दा, मकै गोड्दा, धान काट्दा–थन्क्याउँदा खेतमा आली खन्दा पर्म लगाउने चलन छ । गाउँको कृषि–चक्र र जीवन–चक्रलाई जीवन्त बनाउने क्रममा आवश्यकताअनुसार यो सूची अरू लम्बिन सक्छ ।

‘पर्म’मा सामेल हुनेहरू खेताला वा पर्मेली नामले परिचित छन् । उनीहरूको कतैकतै हुरी भन्ने चलन पनि छ । ‘पर्म’ प्रणालीमा पाखुरामा तागत भएका कर्मजीवीहरूको सहभागिता रहन्छ । अरू पेसा–व्यावसायमा जस्तै ‘पर्म’मा पनि हरेक वर्ष नयाँ पिँढीको प्रवेश हुन्छ ।  

‘पर्म’मा पनि नयाँ पिँढीकोे प्रवेश पनि एउटा स्वाभाविक रीत हो । नवप्रवेशीहरू सुरुमै काममा पारङ्गत हुँदैनन्, सिकारु हुन्छन् । पर्ममा सामेल हुनु नवप्रवेशीहरूका लागि नयाँ कुरा सिक्ने बाटोमा अघि बढ्नु हो । यसलाई अहिले भाषामा ‘इन्टर्नसीप’ भन्न सकिन्छ ।

नवप्रवेशीहरूले खेतालाका लागि आवश्यक पानी पर्दा शरीरलाई पानीबाट जोगाउन चाहिने ओढो (स्याखु, बर्साती अदि) ओसार्ने, खेतालालाई पानी ल्याएर खुवाउने, कोदो बिउ ओसार्नेजस्ता काम पनि गर्नुपर्ने हुन्छ । यसका अतिरिक्त टोली नेताले अह्राएका अरू काम पनि गर्नुपर्ने हुन्छ ।

‘पर्म’मा सामेल भएपछि उनीहरूले क्रमिक रूपमा काम सिक्दै जान्छन् । समय बित्दै जाँदा उनीहरू कृषिकर्मका लागि आवश्यक ज्ञान र सीप हासिल गर्दै जान्छन्, काममा अभ्यस्त हुँदै जान्छन् ।

‘पर्म’मा क्रियाशील रहँदा नवप्रवेशीहरूले कृषिकर्मसम्बन्धी ज्ञान र सीप मात्र सिक्दैनन्, अरू थुप्रै सांस्कृतिक रीतभाँत पनि सिक्छन् । ‘पर्म’मा रहँदा उनीहरूले ग्रामीण समाजमा प्रचलित किस्सा–कहानी, हाँसोठट्टा, लोकगीतलगायत लोकअभिव्यक्ति र लोकाचारका तमाम आयामबारे ज्ञान हासिल गर्छन् ।

उनीहरू तततत् विषयमा पारङ्गत भएर निस्कन्छन् । समयक्रममा खेतीपातीसम्बन्धी ज्ञान र सीपका अतिरिक्त सांस्कृतिक रीतभाँतसम्बन्धी ज्ञान र सीपले भरिपूर्ण व्यक्ति भएर निस्कन्छन् ।

असोजताका बर्खे पर्म सकिने बेला आउँछ । त्यसबेला पर्मेली टोलीले गाउँमा भोज आयोजना गर्छन् । सामान्यता यो भोज दशैँभन्दा अघि नै आयोजना गरिन्छ । यसलाई रिसियाँ भन्ने गरिन्छ । भोजमा नाचगान चल्छ । यसले आमोदप्रमोदपूर्ण वातावरण निम्त्याउँछ ।

त्यही आमोदप्रमोदपूर्ण वातावरणमा अर्को आयाम थपिन्छ । त्यो हो, ‘लोबारे खाने’ । रिसियाँ  खाने क्रममा ‘पर्म’मा सामेल भएका नवप्रवेशीहरूले आफ्ना अग्रज दाइदिदीलाई दूध, दही, केरा जस्ता स्थानीय रूपमा उपलब्ध खानेकुरा खुवाउँदै आदरभाव प्रकट गर्छन् ।

पर्ममा पहिलो पटक सामेल हुने नवप्रवेशीहरूले आफ्ना अग्रज समक्ष प्रकट गर्ने सम्मान र विनयशीलतालाई नै ‘लोबारे खाने’ भनिन्छ । तर, नेपाली समाज कृषिप्रधान समाजबाट आधुनिक समाजतर्फ रूपान्तरण हुँदै गर्दै ‘पर्म’ प्रणाली तीव्र क्षय हुन थालेकोे छ । यही क्षयीकरणसँगै दुरा समुदायमा ‘लोबारे खाने’ इतिहास बनिसकेको छ ।