सीताराम नेपालका लघुकथा

सीताराम नेपालका लघुकथा

सीताराम नेपाल  |  साहित्य  |  माघ १०, २०७६

दशैँ कि दशा ?

यो दशैँले दौलतप्रसाद शर्माको बेचैनी बढायो । दशैँ नजिकिएसंँगै उसलाई चिन्ताले घप्लक्कै छोप्यो ।
- 'पोहोर परारदेखिको ऋण तिर्न नसकेर ब्याजले सांँवालाई उछिनिसक्यो, के ऋण माग्नु ? ऋण लिन नसके कसरी परिवारलाई दशैँ आ'को आभास दिनु ? '

दौलतले बलपूर्वक लाज पचाउने र नकचरो बनेर साहुहरूको गाली सहने आँट बटुल्यो । सापटी माग्न गयो । सापटी दिन सक्ने सबैसंँग घेरो फाटेको टोपी कन्याउंँदै पैसा माग्यो । 'पहिलेकै ऋण नतिर्ने लाज नभएको नकचरो' भनेर सबैले हकारेर रित्तै फर्काए । बेलुका थकित भई गुंँडमा फर्क्यो ।

उसको बचेको एक मात्र बचेरोले उसलाई देख्नासाथ च्याँच्याँ गर्न थाल्यो । हुर्किसकेको ठूलो चैंँलाई पैसाको अभावले परार टाइफाइडले लगेको सम्झेर तुरुक्क आँसु झार्‍यो । त्यो छोराको उपचारका लागि पैसा सापटी माग्न जाँदा दशैँमा लगेको ऋण तिर भन्ने साहुहरूको एउटै वाणीले दौलत थचक्कै थला परेको थियो ।

- 'बाबा ! बाबा ! मेलो भिमे, काले, किस्ने साथीहलुको घलमा दशैँ आइछक्यो । म्याम्या गलेल दशैँ त कलाउंँदो लछ बाई । हाम्लोमा कहिले ल्याउने दशैँ भन्नुस् न बाबा ! यसपालि त प्यान्ट पनि लाउने म त ।'
- 'ए बूढा ! तिम्रो पनि थोत्रा लुगा फेर्न पाए हुन्थ्यो नि !' उसकी श्रीमतीले उसको हालत देखेर आफ्नो ब्लाउजको फाटेको प्वाल हातले छोप्दै बोली ।
'धन्य छ बूढी तेरो सहनशीलता ! म दशैँको जोहो गर्न हिँडे । तिमीहरू ढुक्क भएर बस ल ।' केहीबेर चुकघोप्टेको अनुहार लगाएर सोचेपछि दौलत निस्कियो ।

उसकी श्रीमति सुशीलाले लोग्नेको अनुहार, दह्रो अठोट र भावुक मनलाई पढी ।

'कता जाँदै हुनुहुन्छ बेला न कुबेला ?', झस्केर फोन गरेर सोधी । दौलतले अस्पताल भर्ना भएको साथी धनराजलाई हेर्न अस्पताल जाँदै छु भन्यो । धनराजको नाम सुन्नासाथ सुशीला आत्तिएर अस्पताल हान्निई । अप्रेसन थिएटरमा लगिरहेको अवस्थामा दौलतलाई भेटी र स्याँस्याँ गर्दै भनी, 'तिम्रो पाखुरा चलाई हाम्रो प्राण भर्ने मिर्गौला नबेच बिन्ती बरु मेरोचाहिँ बेचम्ला परेको बेलामा । अहिले बेला भैसक्या छैन । दशैँ किन मनाउनुपर्‍यो पैसा नहुनेले ?'

श्रीमतीको दृढताको सामु दौलत लतक्क लत्र्यो र भावविह्वल भएर श्रीमतीलाई गम्लङ्ग अँगालो हाल्यो । त्यो दम्पतीको कारुणिक कथा देखेका डाक्टर, नर्सहरूले चन्दा उठाई दशैँको खर्च जुटाइदिए ।

जीवनको उकाली चढ्दै गर्दा                                                

‘यसपालि पनि किशोरीले नै स्कूल टप गर्छे ।’

‘हो, उसको अगाडि कसैको दैया चल्दैन बाई ।’

रिजल्ट सुन्न उपस्थित मेरो अभिभावक, शिक्षक सबैले भनिरहेका थिए तर नतिजाले सबैको आशामा तुषारापात पार्‍यो । म पासको पुछारमा झुण्डिन पुगेँ । त्यो अनपेक्षित परिणामले तिलमिलाएका मेरा अभिभावकले मलाई ‘किन, कसरी’ जस्ता प्रश्नैप्रश्नले टोक्न थाले । उसै त टाउको दुःखेर हैरान भइरहेकी म निसासिएर केही बोल्न सकिनँ ।

मलाई भने मेरो रिजल्ट राम्रो हुँदैन भन्ने लागेको थियो किनकि मैले राम्रो तयारी गरेकी थिइनँ । स्कुलमा पनि पढाएको बुझ्दिनथेँ । होमवर्क टन्न बाँकी रहन्थ्यो । कैयौँ दिनदेखि मेरो मनमा अनेक कुरा खेलेर टाउको दुख्न थालेको थियो । हुँदाहुँदा निद्राा र  भोक हरायो । म दुब्लाउँदै गएको थिएँ ।

केही महिनादेखि लाजका कारणले भन्न नमिल्ने कुराहरू मेरो शरीरमा देखिएका थिए । साथीहरूले हामी केटीहरू मात्र भएको बेलामा त्यस्ता कुराहरू कोट्याउँथे, ‘यो त केटीहरूको शारीरिक विकासको संकेत हो रे बाबै ! अब महिनावारी हुन्छ रे मोरी हो !’ भनेर खितखिताएका थिए । तर, किन केटीहरूमा यस्तो हुन्छ भन्ने मेरो जिज्ञासा झन् बढ्यो । कतैबाट जवाफ नपाएकीले म उकुसमुकुस भएर छटपटाउन थालेँ ।

मैले आमालाई मेरो कुरा सोध्न धेरै प्रयास गरेँ । आमाले झर्किंदै ‘तेरो ध्यान उत्ताउली केटीको जस्तो बढेको शरीरमा होइन, पढाइमा हुनुपर्छ बुझिस्’ भनेपछि म झन् निराशिएँ । मेरो टाउको दुख्न बढ्यो । म बेहोस भएछु ।

अस्पतालमा होस् फिर्‍यो मेरो । डाक्टरले ‘सी इज वेल इन हेल्थ । केही कमजोरी छ, राम्रो खानपिन र आरामले ठीक भैहाल्छ' भने । मैले डा.लाई हिम्मत गरेर मेरो दिमागमा गढेर रहेका सबै कुरा बेलीविस्तार लगाएँ । डा.ले 'यो त हिस्टेरियाको संकेत हो । तुरुन्त मानसिक अस्पतालमा उपचार गर्नु, नत्र जीवन बर्बाद होला’ भने ।

आमाले मलाई मानसिक अस्पतालमा उपचार गराउनुभयो । अब मेरी आमाले मेरो प्रत्येक जिज्ञासा पूरा गर्न थाल्नुभयो । एक वर्ष ढिलो भएर के भयो र आखिर मैले एसईईमा ए प्लस ल्याएर स्कुल र जिल्ला टप गरिहालेँ क्यारे !

विकृति नै विकृति

माइतीघर मण्डलामा सदाझैँ नारा घन्कियो, 'बाल अधिकार जिन्दावाद, जिन्दावाद',
'बालबालिका अवभिभावकका रोबोट होइनन्- रोबोट होइनन् ।'
'बालबालिकालाई मानवीय व्यवहार गरियोस्-गरियोस् ।'
'उनीहरूको स्वतन्त्रता नखोसियोस्- नखोसियोस् ।'
'हप्काउन, चड्काउन पाइँदैन- पाइँदैन ।'

बालअधिकारवादीहरूले हातका प्लेकार्डहरू उचाल्दै नारा घन्काइरहेका थिए । स्वदेशी विदेशी पत्रकारहरूले पनि कसैले समाचार टिप्दै थिए, कोही भिडियो खिचिरहेका थिए, कसैले प्रत्यक्ष प्रसारण गर्दै थिए।

फुर्सदिला मान्छेहरू रमिता हेर्न थाले । बालक वृद्ध सबैखाले बेकारीहरू त्यहाँ पुगे । एकछिन हेरेपछि किशोर वयका पाँच जना केटाकेटीहरू एक छेउमा जम्मा भएर साउती गर्न लागे-  'हेर त ऊ त्यो उफ्रीउफ्री नारा लगाउने जुँँगेले मलाई पढाउँछु भनेर गाउँबाट ल्याई काममा जोत्यो अनि खानलाउन नदिएर कुटेर लखेट्यो बाबै ! त्यसले मेरो पक्ष लियो भनेर आफ्नु छोरालाई कस्तरी कुटेको ! असत्ती निर्दयी !'

अर्कोले पनि आफ्नो पीडा पोख्यो- 'ऊ त्यो माइकमा बोल्ने टाउकामा कालो गगल्स लाउने मोटीले मलाई रातोदिन काममा जोत्थी अनि घरमा कोहीी नभएको बेलामा जीउमा मालिस गराउँथी र तेस्तोबेलामा मेरो हात समातेर छातीमा पुर्‍याउँथी । मैले नमानेपछि मलाई चोर दोष लगाएर निकाल्दी । तेरिमा नकचरी ।'

'मैले काम बिगारेेँ भनेर मेरो दाहिने हातको चोर औँला भाँच्ने मूर्दार पनि नारा लगाइरहेको छ, ऊ त्यो हेर त ।' तेस्रोले बाङ्गिएको चोर औँलोले देखाउँदै भन्यो ।

'हाम्रो रिपोर्टमा प्रहरीले केही नगरे पनि पत्रकारहरूलाई भनेर यी नकचरा बज्या बजिनीहरूको भन्डाफोर गर्नुपर्छ ।' 

तिनीहरू पत्रकारहरूको नजिकै पुग्दा किशोरीले सलले मुख छोप्दै साथीसँग साउती गरी- 'ला, ह्याँ त मलाई घरेलु कामदारमा राखेर बलात्कार गर्न खोज्ने बोका पनि पत्रकार भएर आको रै'छ यार !'

ती किशोर किशोरीले अलिक अग्लो पेटीमा उभिएर सुसेले अनि ताली पिटेर मानिसहरूको ध्यान ताने । ती बालअधिकारवादीहरूले बालबालिकालाई घरेलु काममा राखी शोषण गरेको कुराको भण्डाफोर गर्दै गर्दा तिनै किशोर किशोरीको उजुरीको आधारमा प्रहरीले ती बालअधिकारवादीहरूलाई गिरफ्तार गर्‍यो । गिरफ्तारीमा परेपछि तिनीहरूले सरकारको विरोधमा नारा लगाउन थाले ।