देवेन्द्र के.सी. 'देवु'का चार मुक्तक

देवेन्द्र के.सी. 'देवु'का चार मुक्तक

देवेन्द्र केसी 'देवु'  |  साहित्य  |  माघ ११, २०७६

जति धनको रास बटुल्दा पनि अघाएकै छैन रे !
भन्छन् उसले रत्ति पसिना पनि बगाएकै छैन रे !
बंगला कार जायजेथाको लेखाजोखा नहुँदा पनि
छरछिमेकमा मर्दापर्दा गुन पनि लगाएकै छैन रे !

मन्दिरहरूमा हेर्छु माग्नेहरू छन् थरीथरी
कार्यक्षेत्रमा हेर्छु इमान दाग्नेहरू छन् थरीथरी
कोही दान माग्छन् कोही वरदान माग्छन् कठै !
जिन्दगानीमा हेर्छु पछि लाग्नेहरू छन् थरीथरी ।

भोकले गरिबीसित सोध्यो- काम कहाँ मिल्छ ?
लोभले अमीरीसित सोध्यो- दाम कहाँ मिल्छ ?
ईश्वरले चुपचाप आफ्नो सिर्जनालाई तौलिरह्यो ।
उमानले फकिरीसित सोध्यो- नाम कहाँ मिल्छ ?

मैले मेरो मुटु दिँदै दिन्न भनेँ कसैले खोस्न खोज्यो
एक थोपा रगत छउन्जेल लुकीलुकी सोस्न खोज्यो
मुटु निकालेपछि निष्प्राण हुन्छ जान्दाजान्दै कसैले
बनिबुतो गरी ठड्याएको कुटीमा आगो झोस्न खोज्यो ।