पिसाब, र्‍याल र सिँगानको उपचार : बुद्धि नहुने मान्छे र औषधि नहुने वनस्पति हुँदैन

पिसाब, र्‍याल र सिँगानको उपचार : बुद्धि नहुने मान्छे र औषधि नहुने वनस्पति हुँदैन

प्रा.डा. विद्यानाथ कोइराला  |  दृष्टिकोण  |  माघ १२, २०७६

हाम्रो उपचार गर्ने पद्धति र पश्चिमाहरूको पद्धतिमा फरक छ । हामो पद्धति शरीरसँग जोडिन्छ । प्रकृतिसँग जोडिन्छ । मनसँग जोडिन्छ । आत्मासँग जोडिन्छ । आत्मा भनेको शरीर चलाउने ऊर्जा हो ।  

जस्तो : लडेर घाउ भयो भने हामी त्यसैमा पिसाब गरिदिन्छौँ । अर्थात् आफ्नै शरीरमा भएको एसिडिटी घाउमा राखिदिन्छौँ । त्यसलाई विश्लेषण गरेर हेर्ने हो भने पिसाबमा हुने तत्त्व र टिन्चर आयोडिन तथा ब्योजनमा हुने तत्त्व भेटिन्छ । पश्चिमाले त्यसलाई वा त्यस्तैलाई प्याक गरेर बेच्न जाने । हामीले त्यसै छोडिदियौँ ।

माटोबाट पनि घाउमा राख्ने औषधि हुन्छ । अलिकति माटो छिन्केर नरम माटो त्यहाँ राखिदिनुपर्छ । त्यो भनेको प्राकृतिक चिकित्सा हो । प्रकृतिसँग पृथ्वी (माटो), अप (पानी), तेज, वायु, आकाश छ । त्यसैबाट हाम्रो शरीर बन्छ । अर्थात् प्रकृतिलाई प्रकृतिले नै औषधि गर्छ । घाउ प्रकृतिमा विकृति भएर हुन्छ । त्यही प्रकृतिको घाउ माटोले निको गराउँछ । 

हामीले माटो हाल्न जान्यौँ । माटो कहाँको हाल्नुपर्छ भन्नेचाहिँ विवादास्पद प्रश्न हो । हामीले माटोमा टिटानास हुन्छ भन्ने जान्यौँ । घाउमा माटो राख्नु गल्ती हो भन्ने जान्यौँ तर प्राकृतिक चिकित्सामा हावाबाट औषधि गर्ने विधि छ ।  पानीबाट औषधि गर्ने विधि छ । माटोले मात्रै औषधि गर्ने विधि छ । प्राकृितक चिकित्सकहरूले कहाँबाट माटो ल्याउँछन्, त्यो थाहा छैन तर हामीले माटोमा टिटानस हुन्छ भनिदियौँ ।

हामीसँगै भएको घाँसपातमा हामीले औषधि देख्यौँ । आजभन्दा २०–३० वर्ष अगाडि वनमारा थिएन । वनमारा त मेक्सिकोतिरबाट आयो । त्यसभन्दा अगाडिसम्म भृङ्गीराज थियो । धुर्सिलको पात थियो । हिमालमा, मधेसमा र पहाडमा तीनवटै ठाउँमा औषधि चिन्ने तागत थियो । पिसाब प्रयोग गर्ने तागत । माटो प्रयोग गर्ने तागत । वनस्पति प्रयोग गर्ने तागत ।

मानसिक रोगका लागि हामी धामीकहाँ जाने गर्थ्याैं। उसले फुकफाक गरेर औषधि पनि दिने गर्थ्याे । ज्वरो आयो भने जाईको पातलाई पकाएर खाऊ । तुलसीको पात खाऊ । घाँटी दुखेर हैरान भयो भने पारिजातको पात खाने । सयपत्री फूलको पात खाने । मुद्रा चिकित्सकहरूको चिन्तन हो शरीरमा पानी बढी भए अग्नि तत्त्व बढाउने । अग्नि तत्त्व बढी भए जल तत्त्व बढाउने । यस्ता अनेकन् चिन्तनहरू हामी सँगै थिए । मुद्रा चिकित्सकसँग थिए ।

आम्चीहरूको चलन चल्तीलाई हेर्न थाल्यौँ भने त्यहाँ सियो चलाउने तरिका छ । हिजोआजको भाषामा अकुपञ्चर गर्ने तरिका । सिस्नोले पोलेर जात्रा भयो भने सिँ गरेर सिँगानको लप्को लगाइदिए हुन्छ । त्यो औषधिमा पेन्सिलिन छ । अलेक्जेण्डर फ्लेमिङले सिँगानबाटै ‘पेन्सिलिन’ पत्ता लगाएका हुन् ।

हाम्रा मान्छेहरूलाई पिसाब पनि औषधि हो, सिँगान पनि औषधि हो भन्ने किसिमको चिन्तन रहेछ । नजिकै भएको झारपात पनि औषधि रहेछ भन्ने ज्ञान रहेछ ।

हामी अहिले पनि सिस्नो लाग्यो भने सिँगान दल्न छाड्दैनौँ । भनेपछि सिँगानको चिन्तन त हामीसँगै रहेछ । आगोले पोल्यो भने हत्त न पत्त आगोमै सेकाउने हाम्रो बुद्धि हो । चिल्लो लागाइदिने अर्को बुद्धि हो । घीउकुमारी दलिदिने, केही नभए अण्डा फुटाएर दलिदिने । सुपारी घोटेर लागाइदिने । यस्तो गर्दा फोका उठ्दैन, खत बस्दैन । त्यो चिन्तनको इतिहास अथर्व वेदमा छ । नपढेको मान्छेले कसरी अथर्व वेदको ज्ञान बोक्यो होला ? दिगो विकासका चिन्तक त हाम्रा पुर्खा पो रहेछन् कि त ?

पश्चिमाहरूले र हामीले दिएको औषधिमा तुलना गरेर हेरौँ । उनीहरूको औषधिले प्रतिक्रिया गर्ने रहेछ । हाम्रो औषधिले सहयोग गर्ने रहेछ । उखुको रसले पेट ढाडियो भने तातो खुदोले ठीक हुन्छ । तातो खुदोले गडबड गर्‍यो भने हल्लुँडे सख्खर खाए हुन्छ । मोही खाएर पेट ढाडियो भने दूध खाए ठीक हुन्छ । दूध खाएर पेट दुख्यो वा दिसा लाग्यो भने दही खाएर ठीक हुन्छ । अर्थात् हरेक कुरामा औषधि छ भन्ने चिन्तन रत्नसागरको हो ।

त्यही चिन्तनले ‘बुद्धि नहुने मान्छे हुँदैन, औषधि नहुने वनस्पति हुँदैन’ भनेको छ । हामी त्यसरी बुझेका मान्छेहरू हौँ तर पश्चिमाहरूले ती सबै कुराहरू काम लाग्दैनन् भने । हामीले पनि शोध गरेनौँ । परिणाम के भयो भने उनीहरूका औषधिहरू हाम्रा संस्कृतिसँग मिलेनन् । शरीरसँग मिलेनन् । डा. बीएम हेगडेको भनाइमा पश्चिमी औषधिले ‘एक्स्टाब्लिस्मेन्ट इफेक्ट’ गर्‍यो । ‘एक्स्टाब्लिस्मेन्ट इफेक्ट’ भनेको नचिनेको औषधि शरीरले बोक्दैन । त्यसलाई लगेर थुपारिदिन्छ । त्यसको असर हाम्रो निम्ति घातक हुन्छ  ।

हामी छिटोछिटो औषधि उपचार होस् भन्नेमा गयौँ । त्यसो हुनाले औषधिले काम गरेन । त्यसले हाम्रो समस्या दीर्घकालीन समयसँग मिलाउने रहेछ । शरीरसँगको औषधि एउटा तरिका हो, मनसँगको औषधि अर्काे तरिका हो । मनभित्र पसेर वा धामी झाँक्रीको तरिकाबाट औषधि तेस्रो तरिका हो ।

आत्मासँगको औषधिचाहिँ ध्यानबाट हुन्छ । ध्यान गरेर बस्ने मान्छेहरूले बाह्य ऊर्जा आर्जन गरेर शरीरमा गडबड भएको ठाउँलाई मर्मत गर्दा रहेछन् अर्थात् हाम्रा तौरतरिकाहरू तीन तरिकाका रहेछन् । आत्माको तहमा पुगेर औषधि गर्ने तेस्रो तरिका हो । ब्रह्म ऊर्जालाई उपयोग गरेर औषधि गर्ने तरीका । घाममा बसेर औषधि गर्ने तरिका ।

माघको १ गतेको दिनमा तेल लगाएर घाममा सुत्ने तरिका । सुत्केरीलाई घाममा सेकाउने तरिका । बच्चालई घाममा राख्ने तरिका । त्यो भनेको त घामबाटै औषधि गर्ने भनेको रहेछ । अर्थात् हामीसँग ब्रह्मबाट, घामबाट, वनस्पतिबाट र आफैँबाट औषधि गर्ने भन्ने चिन्तन रहेछ ।

पिसाब नै औषधि हो भनेर ऋग्वेदमा उल्लेख छ । ऋग्वेदीय ज्ञानअनुसार आफ्नो पिसाब आफैँले खाने ज्ञान । गाईको पिसाब खाने ज्ञान । अर्थात् हाम्रा मान्छेहरूलाई पिसाब पनि औषधि हो, सिँगान पनि औषधि हो भन्ने किसिमको चिन्तन रहेछ । नजिकै भएको झारपात पनि औषधि रहेछ भन्ने ज्ञान रहेछ ।

अम्बाको बोक्रा पनि औषधि हो । हामीले बालेको खरानी पनि जुका, चुर्ना मार्नका लागि औषधि हो । हरेक कुरामा औषधीय गुण छ । योयो औषधि मेरो शरीरका लागि ठीक छैन भन्ने चिन्तन उनीहरूसँगै छ । पश्चिमाहरूले औषधि बाहिर छ भनिदिए । त्यसलाई भित्र ल्याउनुपर्छ भनेर बुझाए तर उनीहरूले एउटा कुरामा चाहिँ धर्म छाडेका छैनन् । त्यो हो, औषधि त मैले दिएँ तर शरीर आफैँले ठीक गर्ने हो । ठीक पार्ने त तपाईंकै शरीरले हो । मैले त औषधि दिएको मात्र हो भन्ने गर्छन ।

त्यस किसिमको पश्चिमी चिन्तनलाई जोड्न सकिने संभावना पनि छ । तर, हाम्रा मान्छेहरूले आफ्ना औषधिहरू पनि छाड्दै गए । पश्चिमाका कुराहरू पनि जम्मै बुझेनन् । पीडा त्यहाँनेर हो ।