माघ १५-१६ मा हुने राष्ट्रिय गजल महोत्सवको तयारी पूरा

माघ १५-१६ मा हुने राष्ट्रिय गजल महोत्सवको तयारी पूरा

लोकसंवाद संवाददाता  |  साहित्य  |  माघ १२, २०७६

नेपाल प्रज्ञाप्रतिष्ठान र राष्ट्रिय युवा परिषद्वारा संयुक्त रूपमा माघ १५ र १६ गते प्रज्ञा भवनमा आयोजना गरिने राष्ट्रिय गजल महोत्सवको सबै तयारी पूरा भएको बताइएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख एवम् महोत्सवका संयोजक प्रा.डा. हेमनाथ पौडेलले प्रज्ञाप्रतिष्ठानको इतिहासमै प्रतिष्ठानको एकल पहलमा पहिलो पटक आयोजना गर्न लागिएको राष्ट्रिय गजल महोत्सवको सबै तयारी पूरा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘महोत्सवमा सहभागी हुने गजलकार, कार्यपत्र प्रस्तोता, समीक्षक र प्रतिनिधिहरूको छनोट र आवास तथा भोजन व्यवस्थापनका साथै सबै आवश्यक तयारी पूरा भएको छ ।’

पौडेलका अनुसार महोत्सवमा सातै प्रदेशबाट पाँच-पाँच जना प्रतिनिधि गजलकारका साथै उपत्यकाबाट करिब ४० गरी गरी ७५ जना प्रतिनिधि गजलकारको सहभागिता रहनेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईबाट माघ १५ गते बिहान १० बजे महोत्सवको समुद्घाटन हुनेछ । समुद्घाटन सत्रपछि प्रदेशबाट छानिएर आएका गजलकारहरूको गजल वाचन हुनेछ भने बेलुकी वरिष्ठ गजलकारहरूले गजल सुनाउनेछन् ।

महोत्सवको दोस्रो दिन माघ १६ गते पहिलो सत्रमा गजलसम्बन्धी बहस हुनेछ । बहसमा ‘नेपाली गजलः परम्परा र प्रवृत्ति’ शीर्षकमा टीकाराम उदासीले कार्यपत्र प्रस्तुत गर्नेछन् भने डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ र घनेन्द्र ओझाले ‘गजल सिद्धान्त र नेपाली गजलमा बहरको प्रयोग’ शीर्षकमा गोष्ठीपत्र प्रस्तुत गर्नेछन् ।

अर्को सत्रमा ‘आजको गजल लेखनः चुनौती र दिशा’ विषयमा परिसंवाद हुनेछ । त्यसपछि प्रादेशिक गजल लेखनको अवस्थाबारे प्रतिवेदन प्रस्तुति हुनेछ भने साँझ गजल तरन्नम् हुनेछ । तरन्नुममा नेपालगन्जका प्रसिद्ध गजलगायकका साथमा अग्रज गजलकारहरू सम्मिलित हुनेछन् । सोही साँझ गजलसम्बन्धी महत्त्वपूर्ण घोषणापत्र जारी गर्दै राष्ट्रिय गजल महोत्सवको समापन हुनेछ । महोत्सवको समापन युवा तथा खेलकुदमन्त्री जगत् विश्वकर्माबाट हुनेछ ।

उक्त महोत्सवमा उद्घाटनका दिन करिब १२ सय र दोस्रो दिन करिब ३ सय जनाको सहभागिता रहनेछ । महोत्सवका अवसरमा प्रज्ञाप्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा आधुनिक नेपाली गजल’ र ‘प्रज्ञा नेपाली बाल गजल’को लोकार्पणसमेत हुनेछ ।