‘डिलको डोब’ सार्वजनिक

‘डिलको डोब’ सार्वजनिक

लोकसंवाद संवाददाता  |  साहित्य  |  माघ १२, २०७६

साहित्यकार क्रान्ति पराजुलीद्वारा लिखित उपन्यास ‘डिलको डोब’ सार्वजनिक गरिएको छ । शनिबार नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा एक समारोहबीच उक्त कृति सार्वजनिक गरिएको हो ।

पूर्वप्रधानमन्त्री तथा गीतकार झलनाथ खनालको प्रमुख आतिथ्यमा वरिष्ठ साहित्यकार तथा प्राज्ञ माया ठकुरी, पत्रकार यशोदा तिम्सिना, समालोचक महेश पौड्याल, लेखक क्रान्ति पराजुली, प्रकाशक पुष्पराज पौडेलले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभयो ।

पूर्वप्रधानमन्त्री खनालले नेपाली साहित्यमा एउटा सशक्त उपन्यासका रूपमा डिलको डोब आएको बताउनुभयो । उहाँले यो उपन्यास बाल्यकालमा बलात्कृत नारीको संघर्षको कथा रहेको र लेखकको राम्रो प्रस्तुति, सरल लेखन रहेको बताउँदै बालबालिका, युवायुवती, अभिभावकलगायत राजनीतिज्ञ, समाजसेवी सबैले पढ्नुपर्ने सुझाव दिनुभयो ।

प्राज्ञ माया ठकुरीले उपन्यास आफ्नी छोरी पुस्ताको भएको बताउँदै पढ्दै जाँदा आँसु बगेको टिप्पणी गर्नुभयो । उपन्यासको कथाले पटक पटक आँखा रसाएको उहाँको भनाइ थियो ।

राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त तथा पत्रकार यशोदा तिम्सिनाले एउटा नारीको वेदना प्रष्ट रूपमा आएको र प्रत्येक नारी तथा पुरुषले आप्mना साथीहरूलाई यो पुस्तक उपहार दिएर पढ्न प्रेरित गर्न आग्रह गर्नुभयो ।
 
यस्तै, समालोचक महेश पौड्यालले संघर्ष र अध्ययनले मानिस यसरी सफलतातिर लम्किन्छ भन्ने प्रेरणा यस उपन्यासले दिएको बताउनुभयो ।

लेखक क्रान्ति पराजुलीले आफूले लेखनमा सक्दो इमान्दार प्रयास गरेको बताउँदै अब पाठकको प्रतिक्रियाको आशामा रहेको धारणा राख्नुभयो ।
शिखा बुक्सले बजारमा ल्याएको यस पुस्तकको मूल्य ३७५ रुपैयाँ छ ।