के भन्छन् बम आक्रमण क्षेत्रका स्थानीय ?

के भन्छन् बम आक्रमण क्षेत्रका स्थानीय ?
मोहम्मद आदिल र वाजित शाह । तस्बिर स्रोत : बिबिसी

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १४, २०७५

काठमाडौं । भारतीय वायुसेनाको ‘मिराज–२०००’ विमानले आज बिहान पाकिस्तानको बालाकोटमा जैश–ए–मुहम्मद का अखडामाथि बम आक्रमण गरेको छ । 

समाचार संस्था बिबिसीका अनुसार त्यहाँका स्थानीयले भारतीय वायुसेनाको आक्रमणलाई अत्यन्त खतरनाक भनेका छन् । एकाबिहानै भएको आक्रमणको धमाकाले सुतिरहेका मानिस ब्युँझेका थिए । 

जाबाटाप, वालाकोट निवासी मोहम्मद आदिलले बिबिसीसँग भने, ‘बमबाट भएको धमाका यति तीव्र थियो कि मलाई लाग्यो– जलजला (भूकम्प) नै आएको हो ।’ 
उनका अनुसार पाँचवटा धमाका एकैपटकमा भए । ‘यसले धेरै मानिसलाई घाइते तुल्यायो । केहीबेरपछि धमाकाको आवाज शान्त भयो र हामी बम खसेको ठाउँमा गयौं, त्यहाँ ठूल्ठूला खाल्डा बनेका थिए । धेरै घर पनि क्षतिग्रस्त भएका थिए । मैले एउटा घाइते व्यक्ति पनि देखें,’ उनले भने । 

अर्का स्थानीय बासिन्दा वाजिद शाहले तीन ठूला धमाका सुनेको बताए । 

भारत सरकारका विदेश सचिव विजय केशव गोखलेले पत्रकारहरूसँग भने, ‘यो अभियान जैश–ए–मुहम्मदका शिविरमाथि लक्षित रहेको थियो । सेनाले आम नागरिक यसको चपेटामा नआउन भन्ने विशेष ध्यान समेत राखेको थियो ।’ 

आक्रमणस्थल जंगलले घेरिएको एउटा पहाडमाथि रहेको खबर बिबिसीमा छ ।