करुणाको 'बरण्डामा तिमी'मा  एकल कविता वाचन

करुणाको 'बरण्डामा तिमी'मा  एकल कविता वाचन

लोकसंवाद संवाददाता  |  साहित्य  |  माघ १२, २०७६

 काठमाडौँ । धरानलाई कर्मथलो कर्मथलो बनाएर साहित्य सिर्जना गरिरहेकी भोजपुरकी कवि करुणा राईको एकल कविता वाचन होटल हार्दिक वागबजारमा सम्पन्न भएको छ । ‘बरण्डामा तिमी’ शीर्षकमा आयोजित एकल कविता वाचन कार्यक्रममा करूणाले आफ्ना १० थान चर्चित कविता पस्किेकी थिइन् ।

‘जुत्ता’ शीर्षक कविताबाट वाचन आरम्भ गरेकी उनले ‘आमा’, ‘दाइजो’, ‘अस्पतालमा आप्पा’, ‘भ्रम’, ‘आँसु’, ‘घाइते सम्झना’ सुनाइएर दर्र्शक तथा श्रोतालाई भावुक, नोस्टालजिक र गम्भीर बनाइन् । उनलाई कवि चन्द्र रानाहँछाले ‘मैले रित्याएको मलाई’ र रेडियोकर्मी सुष्मा राईले ‘याद’ शीर्षकको कविता वाचन गरी सघाएका थिए ।

स्थापित कवि, गीतकार, कलाकार र सञ्चारकर्मी लगायत काव्यअनुरागीहरूको उल्लेख्य उपस्थितिबिच सम्पन्न कार्यक्रमको अन्तिममा सुदीप पाख्रिनको परिकल्पना तथा वीरेन सुब्बाद्वारा निर्देशित करुणाको ‘बरन्डामा तिमी’ शीर्षक कवितामाथि निर्मित काव्य भिडियो प्रदर्शन गरिएको थियो । युनिक फोटोग्राफी धरानको प्रस्तुति रहेको काव्य भिडियोमा सन्तोष थेबे र जीना तामाङले अभिनय गरेका छन् । उक्त काव्य भिडियो कार्यक्रमको प्रमुख आकर्षण रहेको थियो ।

कार्यक्रममा कविहरू भूपाल राई, डा. विप्लव ढकाल, प्राज्ञ शशी लुमुम्बू र टीका चाम्लिङले करुणा राईको कवितामाथि समीक्षात्मक मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा भूपाल राईले करुणाका कविता परिपक्वताले पूर्ण भएको बताए । विप्लव ढकालले चाहिँ करुणाका कविता दुई चार ओटा कविता लेखेर रातारात सेलिब्रेटी हुनेका तुलनामा कैयौँ गुना अब्बल रहेको दाबी गरे । कार्यक्रम नेपाली वाङ्मय परिषद् र गोर्खा बुक्सले आयोजना गरेको थियो ।

सानैदेखि गायन, नृत्य, अभिनय र साहित्य लेखनमा लागेकी करुणाका केही फुटकर कविता प्रकाशित छन् । उनको ‘मन फुलेको बेला’ गजलकृति प्रकाशित छ भने राजु सिंहको सङ्गीत र आभा मुकारुङको स्वरमा एउटा गीत रेकर्ड भएको छ ।