नर्सरीबाटै लाखौँ आम्दानी

नर्सरीबाटै लाखौँ आम्दानी

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ १२, २०७६

बैतडी । जिल्लाको सुर्नया र दशरथचन्द नगरपालिकाका किसानहरुका लागी फलफूलका बिरुवा आम्दानीको स्रोत बन्दै गएको छ ।

दशरथचन्द नगरपालिका–१ गुरुखोला र सुर्नया गाउँपालिका–२ बासुलिङ्गका किसानले हिउँदे तथा बर्खे फलफूलका बिरुवा रोपेर किसानले आम्दानी गर्न थालेका हुन् । निजी नर्सरीमा फलफूलका बिरुवा उत्पादन गरेर यहाँका किसानले आम्दानी गर्ने गरेका हुन् । प्रत्येक वर्ष आफूले निजी नर्सरीबाट वार्षिक छ लाख रुपैयाँ भन्दा बढी कमाउने गरेको किसान देवदत्त भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो निजी नर्सरीबाट हिउँदे तथा बर्खे फलफूलका बिरुवाहरु बिक्री हुने गरेको छ ।’

निजी नर्सरी नै परिवार पाल्ने माध्यम बनेको दशरथचन्द नगरपालिका–१ कलौनका किसान परमानन्द भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो निजी नर्सरीबाट बर्सेनि देशका विभिन्न स्थानमा फलफूलका बिरुवा बिक्री हुने गरेको छ ।’ दशरथचन्द नगरपालिका–१ मा १९ र सुर्नया गाउँपालिका–२ मा तीनवटा निजी नर्सरी रहेका सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्राविधिक सहायक अर्जुन खड्काले जानकारी दिनुभयो । 

‘किसानले निजी नर्सरीबाटै लाखौँ आम्दानी गर्ने गरेको छ’, उहाँले भन्नुभयो, ‘सुख्खा फलफूल विकास केन्द्र र किसानका निजी नर्सरीबाट बर्सेनि लाखौँका बिरुवा बिक्री हुने गरेको छ ।’ हिउँदे फलफूलका बिरुवा रोप्ने समय शुरु भएकाले अहिले निजी नर्सरी तथा सुख्खा फलफूल विकास केन्द्रबाट फलफूलका बिरुवा बिक्री भइरहेको सुख्खा फलफूल विकास केन्द्र सतबाँझका निमित्त प्रमुख डम्मर भाटको भनाइ छ ।

सतबाँझमा जैतुन, कागजी बदाम, काजुलगायत फलफूलका बिरुवा उत्पादन गर्न थालिएको बताइएको छ । किसानलाई ८० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गर्ने गरिएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामध्ये बैतडीमा मात्रै फलफूलका निजी नर्सरी रहेका छन् । 

जलवायु परिवर्तनको असरले स्याउ फल्न छोडेपछि केन्द्रले अहिले फलफूलका बिरुवा उत्पादन तथा तरकारी खेती गर्न थालेको हो । केन्द्रको २९ हेक्टर जमीनमध्ये अहिले १२ हेक्टरमा फलफूल तथा तरकारी खेती गरिँदै आएको छ ।