सम्पन्न अतीत र परनिर्भरतातर्फको वर्तमान

सम्पन्न अतीत र परनिर्भरतातर्फको वर्तमान

तीर्थ प्रसाईं  |  दृष्टिकोण  |  माघ १३, २०७६

अतीत, विगत वा इतिहास जे भने पनि त्यो हरेक देशका लागि महत्त्वपूर्ण हुन्छ, त्यसमा राज्यको पहिचान रहेको हुन्छ ।

स्वीडेनका पूर्वप्रधानमन्त्री कार्ल बिल्टको लेख ‘इतिहासका बन्धक‘मा उनी भन्छन्– हालैको अमेरिका र इरानबीचको विवादका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनी इरानका ५२ ठाउँमा बम हान्न तयार रहेको ट्विट गरे । (धेरै वर्ष पहिले इरानले ५२ जना अमेरिकीलाई बन्धक बनाएकाले ५२ ठाउँ भनिएको हो ।) उनले ट्विटमा यीमध्ये केही ठेगानाहरू ‘इरानी संस्कृतिका लागि महत्त्वपूर्ण’ पनि हुन सक्ने भन्दै इरानको राष्ट्रिय सम्पदा क्षेत्रमा आक्रमण गर्न इच्छुक रहेको संकेत गरेका थिए ।

ट्रम्पको ट्विटलाई थप विश्लेषण गर्दै बिल्ट लेख्छन्– ट्रम्पको ट्विटले बताउँछ, उनको सम्पूर्ण इरान नीति अतीतमा आधारित छ । मानौँ, अहिले गरिने कारबाही धेरै वर्ष पहिले लागेको घाउको उपचार हो । त्यसो हो भने उनको प्रशासन र इरानी शासन दुवैमा अतीतमा लागेका यथार्थ र भावनात्मक चोट सम्झेर बस्ने प्रवृत्ति साझा रहेको देखिन्छ । (बाह्रखरीडटकम, २०७६ माघ ५)

बिल्टले इरानको सन्दर्भमा ट्रम्पले अतीतको राजनीति गरेको भने तापनि धेरै मामिलामा उनको अतीतको राजनीति बारबार देखिने गर्छ । उनले बेलाबखत ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने वाक्यांश प्रयोग गरिरहन्छन् । उनीभन्दा अघि बाराक ओवामाले पनि आफ्नो कार्यकाल सुरु गर्दा अमेरिकी सपनालाई पुनर्जागृत गर्दै अतीतको आशा पैदा गरेका थिए ।

मान्छेलाई आफ्नो नोस्टाल्जिया, इतिहास र विगतको कल्पना सुन्दर लाग्छ । आफ्नो अतीत सबैलाई प्रिय लाग्छ तर यसलाई देखाउनु भन्दा मनभित्र राखेर रमाउनु मान्छेको बानी बन्छ । यसको एउटा कारण हो– आफ्नो अतीत वा विगत देखाए पाखे भइने वा आधुनिक बन्न नसकेको आक्षेप लाग्ने डर । त्यसैले मान्छे आधुनिक समयको कसीमा राख्दा पनि गर्व लाग्ने कुरा मात्र बाहिर देखाउँछ र अन्य कुराहरू लुकाउँछ । 

आधुनिकता भन्ने शब्दको प्रयोग पुरानो, अविकसित भन्ने कुराको ठीक विपरीत हो भन्ने मान्यता आएको हुनाले मान्छेले आधुनिक देखिन विगतलाई बिर्सनु, लत्याउनु वा दबाउनुपर्ने हुन्छ । माथिको बिल्टको कथन हेर्दा मान्छेले कतिपय अवस्थामा आफ्नो अपमानपूर्ण, आफूलाई लज्जित बनाउने किसिमको अतीतलाई एक किसिमको बदलाको भावसहित समेत राखेको हुने रहेछ भन्ने देखिन्छ ।

अमेरिका र इरान दुवै आफ्ना अतीतको दुश्मनीको आधारमा दुश्मनी गर्दै छन् भन्ने बिल्टको दाबी हेर्ने हो भने नेपालमा युरोपियन, अमेरिकन अतीत छ कि छैन र त्यसको तिनमा कस्तो किसिमको प्रतिक्रिया, याद होलान् भनेर सोच्न सकिन्छ  । त्यसअनुसार युरोपियन, अमेरिकनले नेपालप्रति राखेका इगो, प्रतिशोधका भावना, प्रेम आदिको मूल्यांकन गर्न सकिन्छ ।

पृथ्वीनारायण शाहले धर्म प्रचार गर्न आएका क्यापुचिन पादरीहरूलाई देश निकाला गरेको हामीले बारबार सुन्ने गरेको कुरा हो । त्यसबेलाको तिनीहरूप्रतिको अपमानले नेपाली इतिहासमा नै अंग्रेजहरूले धार्नीका धार्नी नाक, कान काटिएको भन्ने बदनामीको कालो टीका लगाइदिएको देखिएको छ । तर, पछिल्लो समयमा पनि अंग्रेजहरूको नेपालमा कुनै पनि किसिमले दाल नगलेकाले तिनमा प्रतिशोधको भावना बढाएको पनि देखिन्छ ।

राजनीति गर्नेसँग सामान्य सैद्धान्तिक अडान भइदिए नेपाली जनतालाई अलिक सहज हुन्थ्यो भनेर मात्र मैले थापाको उदाहरण ल्याएको हुँ नत्र नेपाली जनताले नेपाली राजनीतिमा देखाउने र खाने दाँतको फरक प्रष्ट बुझेका छन् ।

बहादुर शाहको पालामा नेपालसँग इस्ट इन्डिया कम्पनी सरकारले वाणिज्य सन्धि गरेको र नेपालको बाटो हुँदै तिब्बतसँग व्यापार गर्न खोजेको देखिन्छ । त्यसमा भनेजस्तो सफलता नपाएपछि गीर्वाणयुद्ध वीरविक्रम शाहको पालामा कप्तान नक्स नेपाल आएका र यहाँ ३ वर्षभन्दा बढी टिक्न नसकेको देखिन्छ । अंग्रेजले त्यसको बदला नेपाल–अंग्रेज युद्धमा लिएको देखिन्छ ।

राणा शासकहरूले पनि अंग्रेजहरूलाई नेपाल हुँदै व्यापारिक गतिविधि गर्न नदिएर बरु प्रशस्त भारतीय व्यापारीलाई चाहिँ नेपालमा व्यापार गर्न प्रोत्साहन गरेको देखिन्छ । (नेपालको तथ्य इतिहास, पृ. ३२०) । चन्द्रशमशेरले खुला सिमानाको कारण हुने व्यापारिक तस्करी रोक्न व्यापारिक नियमसमेत लागू गराएका पाइन्छ ।

बिल्टले भनेजस्तो अतीतको राजनीति गर्नेले अहिले नेपालको बारेमा के सोच्दो हो ?

अतीत हरेकको पहिचानसँग जोडिएको हुन्छ, हरेकले आफूलाई आफ्नो अतीत हेरेर परिभाषित गर्छ र त्यसमा आफ्नो वर्तमानको अर्थ खोज्छ । नेपालमा अतीत लत्याउने क्रम तीव्र भएको छ । हामी के थियौँ भन्ने सोच्दैनौँ, जम्मा एउटा वीर गोर्खाको पहिचान बोकेर बसेका छौँ तर हामी तिनै अतीतको राजनीति गर्नेहरूसँग परनिर्भर भएका छौँ ।

राणा शासन त कुरै छोडौँ, राणा शासन सकिएर प्रजातन्त्र आइसकेपछि र पूरै पंचायतकालभर नै विदेशी सहयोग, अनुदान आदिमा नेपाली परनिर्भरता एकदमै न्यून देखिन्छ ।अतीतको राजनीति गरिरहेका विश्वका शक्ति राष्ट्रहरूका अघि हामी भने अतीत बिर्सेर अनुदान, ऋण जस्ता कुरामा निर्भर भएका छौँ अर्थात् हामी आधुनिक बन्दै छौँ ।

नेपाली राजनीतिमा अतीत बेच्ने नामुद व्यापारी कमल थापा हुन्, जसले गुमेको राजसंस्था र हिन्दु राज्यसहितको अतीत फर्काउन राजनीति गर्दै छु भन्ने दाबी गर्छन् । कम्युनिस्ट कित्तामा रहेकाहरू त इतिहास बदल्छौँ भनेर हाकाहाकी भन्ने जीव हुन्, उनीहरूको काम नै इतिहास लत्याउनु नै हो । तर, लज्जास्पद कुरो के छ भने अहिले कुनै एउटा अमेरिकी परियोजना नेपाल आएन भने त्यसको विरोध गर्ने नाङ्गिन्छ भनेर तिनै अतीतका व्यापारी कमल थापा कुर्लिरहेका देख्न सकिन्छ ।

अतीतको राजनीति गर्नेहरूमा आफ्नो पहिचानको राम्रो ज्ञान हुन्छ, त्यहाँ इतिहासको सम्मान हुन्छ । नेपाल विदेशीहरूसँग हदैसम्म परनिर्भर हुनुपर्ने कुन अतीत थियो नेपालको ? अहँ, थिएन अनि विदेशी अनुदानको विपक्षमा बोल्नेचाहिँ नाङ्गिने हो कि त्यसको वकालत गर्नेचाहिँ हो नाङ्गिने ?

राजनीति गर्नेसँग सामान्य सैद्धान्तिक अडान भइदिए नेपाली जनतालाई अलिक सहज हुन्थ्यो भनेर मात्र मैले थापाको उदाहरण ल्याएको हुँ नत्र नेपाली जनताले नेपाली राजनीतिमा देखाउने र खाने दाँतको फरक प्रष्ट बुझेका छन् ।

मुलुकको अहिलेको आवश्यकता अतीतको राजनीति गर्नेको हो । अमेरिका, इरान मात्र होइन, भारतसम्म पनि गुमेको हिन्दु साख फिर्ता ल्याउन अतीतको राजनीति गरिरहेको छ । अतीतको राजनीति गर्नुको अर्थ यो होइन कि नेपाल जहिल्यै पछौटे रहनुपर्छ तर यसको अर्थ के हो भने नेपालका ऐतिहासिक धरोहरलाई जोगाउँदै नेपाललाई विदेशी गुलामीबाट जोगाएर सही किसिमले विकासको मार्गतर्फ लम्काउन सक्नु आजको समयको माग हो ।

विदेशी लगानी रहेका मिडियाहरूको एकछत्र राज हुनु, राज्य र इतिहासप्रतिको चेत दिनानुदिन कमजोर बनाउँदै लैजानु, धर्म परिवर्तन गराउँदै लैजानु र नेपाली जनतालाई देशको मौलिकताबाट विमुख गर्दै लैजानु नेपालको सवालमा ‘सफ्ट’ विदेशी रणनीति देखिएको छ भने नेपालको कानुनभन्दा माथि हुने शर्तसहितका अनुदान ‘हार्ड’ विदेशी रणनीति रहेको प्रष्ट देख्न सकिन्छ ।

यो अवस्थामा नेपालको अतीतको राजनीति नगर्ने नेता देश र जनताको नेता हुन सक्दैन ।