बालक, डोको र संस्कार : बदला र प्रतिशोधको पाठ
छोराछोरीलाई कसले यस्तो बनायो ?
माघ १३, २०७६

तपाई‌ंले आफ्ना छोराछोरीहरूलाई आज कुन रूपमा चिन्नुभएको छ ? असल वा खराब ? समझदार या बदमास ? के तपाईं आजको आफ्नो सन्तानको दिनचर्या, चालढाल वा आनबानीदेखि पूर्ण रूपमा सन्तुष्ट हुनुहुन्छ ? भविष्यमा उनीहरूलाई कुन रूपमा देख्न चाहनुहुन्छ ? के तपाईंलाई त्यस्तो लाग्छ कि तिनीहरू तपाईंले चाहेजस्तै मान्छे बन्न सक्छन् ?

एक त हामीमध्ये धेरैले यस्ता प्रश्नहरूका बारेमा सोचेकै हुँदैनौँ । दोस्रो, सोचिहाले पनि धेरैको इच्छा पूरा भएको हुँदैन । फेरि एक पटक आफैँलाई सोध्नुहोस् त के तपाईंले आफ्ना नानीहरूप्रति देख्नुभएका सबै सपनाहरू पूरा भएका छन् ? धैरैको जवाफ छैन भन्ने हुन्छ ।

बच्चाहरू साना छँदा जति ठूलो सपना देखिए तापनि उनीहरू हुर्किंदै गएपछि पहिले देखिएका सपनाहरू विस्तारै मर्दै गएका  पाइन्छ । आखिर किन यस्तो हुन्छ ? तपाईंका छोराछोरीहरू आज जे छन्, जस्ता छन्, कसले यस्तो बनायो ?

माथिको प्रश्नको जवाफ खोज्नुअघि अर्को प्रश्नको जवाफ खोज्नुपर्ने हुन्छ– तपाईं आज जे हुनुहुन्छ, जस्तो हुनुहुन्छ, तपाईंलाई कसले यस्तो बनायो ? के तपाईं आफूले सोचेको जस्तो व्यक्ति बन्नुभएको छ ? आफूले चाहेको जस्तो जीवनयापन गर्न पाउनुभएको छ ? यदि छैन भने किन त्यस्तो भयो ?

मनभित्र अर्को कुरा लुके पनि बाहिर यस्तो कुरा भन्न सक्नुहुन्छ, ‘विभिन्न गल्ती र कमजोरीहरूका बाबजुद म जे जस्तो बनेँ, बनेँ । म आफ्ना सन्तानलाई त्यस्तो मात्र बनाउन चाहन्नँ ।’
यदि त्यसो हो भने आउनुहोस् तपाईं–हाम्रो टाउकोमा थोपरिएका पुस्तौँ पुस्तादेखिका संस्कारको बोझ, संगत, तपाईँ–हामी हुर्के बढेको परिवेश, हामीलाई दिइएको शिक्षा आदिले नै हामीलाई असल–खराब, विद्वान्–मूर्ख, सज्जन–दुर्जन आदि बनाउन कसरी भूमिका खेल्छ भन्ने कुरामा चर्चा गरौँं ।

हरेक अभिभावकले आफ्ना बालबालिकाहरूलाई कति महँगो खेलौना किनिदिएँ भन्नु भन्दा पनि त्यो खेलौनालाई कुन तरिकाले खेल्न सिकाइयो र त्यस खेलौनाबाट उसले कस्तो आचरणको विकास गर्दै छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । कति राम्रो नाना लागाइदिएँ भन्नु भन्दा पनि कुन तरिकाले लगाउन सिकाइयो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । कति सफल बनाइयो भन्नु भन्दा पनि कति असल बनाइयो भन्ने कुराले महत्त्व राख्छ ।

संस्कार

एकछिन सोच्नुहोस् त, जब तपाईं सानो हुनुहुन्थ्यो, तपाईं आफूभन्दा अग्रज कोही न कोहीबाट प्रभावित हुनुहुन्थ्यो । उनको बोल्ने शैली, हिँड्ने, खेल्ने, लेख्ने, पढ्ने या अन्य धेरै प्रकारका शैलीहरू जानी–नजानी तपाईंले नक्कल गर्नुभएको हुनुपर्छ ।

तपाईंको आदर्श व्यक्ति वा ‘रोल मोडल’को प्रभावले गर्दा तपाईंमा सकारात्मक या नकारात्मक बानी व्यहोराको विकास भएको हुनुपर्छ ।

त्यस्तै गरी हरेक नानीको पनि एक न एक आदर्श व्यक्ति अर्थात् रोल मोडल हुन्छ । मनोवेत्ताहरूको भनाइअनुसार लामो समयसम्म सँगै रहने पाँच व्यक्तिहरूको प्रत्यक्ष प्रभाव बालबालिकाहरूमा परेको हुन्छ । यस अर्थमा त्यस्ता पाँच व्यक्तिहरूमध्ये तपाईं एक जना हुनुहुन्छ ।

तपाईंका छोराछोरीहरूले कतै तपाईंलाई नै रोल मोडल त मानेका छैनन् ? यदि त्यसो हो भने तपाईंको हरेक क्रियाकलापको प्रत्यक्ष प्रभाव तिनमा पर्छ । तपाईंको बोल्ने शैली, हिँड्ने, खाने, बस्ने शैलीलाई तिनले नजानिँदो ढंगले नक्कल गरिरहेका हुन्छन् । थाहै नदिई तपाईंलाई सूक्ष्म ढंगले निरीक्षण र मूल्यांकन गरिरहेका हुन्छन् । यहाँनेर म हामीले सानामा सुनेको, पढेको कथा आज फेरि एक पटक प्रस्तुत गर्ने अनुमति चाहन्छु ।    

बालक र डोको

एउटा परिवार रहेछ । त्यो परिवारमा एक जना बुढा, उसका छोरा–बुहारी र सानो बालक नाति घरमा सँगै बसोवास गर्थे । वृद्ध अवस्था भएका बुढा मानिस आँखा नदेख्ने र कान नसुन्ने अवस्थाको जीवन गुजारिरहेका थिए । कमजोरीको कारण हिँडडुल पनि गर्न सक्दैनथे ।

त्यसैले छोरा–बुहारीले धेरै स्याहार गर्नुपर्थ्याे । आफ्नो काम कुरा छाडेर सधैँ बुढा मानिसको स्याहारमा समय बिताइरहनुपरेको छोरा–बुहारीलाई मनपर्दैनथ्यो । यसरी मन नपरेको विषयमा बारम्बार घरमा सरसल्लाह भइरहेको हुन्थ्यो ।

एक दिन छोरा–बुहारीले बुढालाई तीर्थ घुमाउन लैजाने वहानामा भीरबाट खसालिदिने सल्लाह गरेछन् ।

सल्लाहअनुरूप नै एक दिन बिहान सबेरै बुढालाई नुहाइधुवाइ गरेर राम्रो लुगा लगाइदिए । गाडी नचल्ने गाउँ भएकाले बुढालाई छोराचाहिँले डोकोमा बोक्यो । बुहारीचाहिँले नाटकै भए पनि पूजाका सामग्री तथा खानेकुराहरू बोकी ।

सानो बालक छोरालाई आफन्तको जिम्मा लगाएर हिँड्न मात्र के लागेका थिए, घरको सबै कुराको जानकार बालकले अकस्मात् बाबुचाहिँलाई भनेछ, ‘बुबा, तपाईंले हजुरबुबालाई भिरबाट खसाल्दा त्यो डोकोचाहिँ नफ्याँक्नुस् है किनभने पछि तपाईंहरू बुढाबुढी हुँदा त्यो डोको तपाईंहरूलाई फ्याँक्न काम लाग्छ ।’

माथिको कथाबाट यो कुरा प्रष्ट हुन्छ कि चाहे राम्रो होस् या नराम्रो, बालबालिकाहरूले ठूलाले गरेको बोली, वचन र बानी, व्यवहारको नक्कल गरेर संस्कार सिक्छन् । त्यसैको प्रभाव स्वरूप ठूलो भएपछि उनीहरू असल या खराब बन्छन् ।

एक जना बालकले गर्ने व्यवहार, उसको बोली, वचन र चाल–ढाँचालाई राम्ररी नियाल्ने हो भने उसमा उनीहरूको पुस्तौँ पुस्ताको संस्कार भेट्न सक्छौँ ।

छोराछोरीहरूले आफूलाई सम्मान गरून् भन्ने चाहना राख्नेहरू आफ्ना बाबुआमाहरूलाई हेला गरिरहेका देख्न पाइन्छ । झूठो बोल्नु पाप हो भन्नेहरू आफ्नै छोराछोरीहरूका अगाडि झूठो बोलिरहेका पाइन्छन् । उदाहरणका लागि, केटाकेटीहरू कुनै चिजमा ठोक्किएर लडे र रोए भने उनीहरूलाई फकाउन जुन चिजमा ठोक्किएको हो, त्यसैलाई कुटेर केटाकेटीहरूलाई खुसी पार्ने चलन छ ।

यसरी क्षणिक समयका लागि आफ्नो जिम्मेवारी हलुका त पारिएला तर त्यही दिनदेखि उनीहरूलाई बदला र प्रतिशोधको पाठ सिकाइरहेका हुन्छौँ । त्यस्तै व्यक्तिहरू पछि गएर समाज र देशको बोझ बन्छन् । कतिपय आमाबाबुहरू छोराछोरीहरूलाई समय दिनुपर्दा बेफुर्सदी अनुभव गर्छन् तर उनीहरू नै दिन कटाउने वहानामा विभिन्न अनुत्पादक कार्यहरूमा लागिरहेको देख्न पाइन्छ ।

आध्यात्मिक गुरु ओशोले ‘शिक्षामा क्रन्ति’ नामक आफ्नो पुस्तकमार्फत् यसो भनेका छन्, ‘एउटा सानो बच्चाको मस्तिष्कमाथि पाँच–दश हजार वर्षको संस्कारको भार छ । त्यस भारको मुनि उनीहरूको प्राण दबिएर जान्छ । त्यस भारमा उनीहरूको चेतनाको ज्योति, उनीहरूको व्यक्तित्व उठाउन असंभव छ ।’

संस्कारबाट संस्कृति बन्छ । हाम्रो देशमा विभिन्न प्राचीन परंपरा र संस्कृतिहरू अझै बाँकी छन् तर विडम्बनाको कुरा, त्यसभित्र संस्कार बाँकी छैन । त्यसैले त आजभोलि जुनसुकै चाड–पर्व, जात्रा, भोज–भतेर, धर्म–कर्म आदिमा अनावश्यक तडकभडक तथा विकृतिहरूले प्रश्रय पाइरहेका छन् ।

तसर्थ, हरेक अभिभावकले आफ्ना बालबालिकाहरूलाई कति महँगो खेलौना किनिदिएँ भन्नु भन्दा पनि त्यो खेलौनालाई कुन तरिकाले खेल्न सिकाइयो र त्यस खेलौनाबाट उसले कस्तो आचरणको विकास गर्दै छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । कति राम्रो नाना लागाइदिएँ भन्नु भन्दा पनि कुन तरिकाले लगाउन सिकाइयो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । कति सफल बनाइयो भन्नु भन्दा पनि कति असल बनाइयो भन्ने कुराले महत्त्व राख्छ ।

अब के गर्ने त ?
त्यसैले आजैबाट यी कुराहरूमा प्रण गर्नुहोस्ः

क) म आजबाट यस्तो बोली बोल्नेछु, जुन बोली मैले मेरा छोराछोरीहरूबाट अपेक्षा गरेको छु ।

ख) म आफैँ पनि लेख्न पढ्न थाल्नेछु किनकि मलाई मेरा छोछोरीहरूले पढून् भन्ने लाग्छ ।

ग) म अनावश्यक ठाउँ र क्रियाकलापमा समय खेर फाल्दिनँ किनकि मेरा सन्तानसँग गुणस्तरीय समय बिताउनु छ ।

घ) म मोबाइल र टीभीको अनावश्यक प्रयोगबाट टाढै बस्नेछु किनकि मेरा सन्तानमा यिनको लत नलागोस् भन्ने चाहन्छु ।

ङ) मेरा छोराछोरीहरू धुम्रपान, मद्यपान, जुवा, तास जस्ता कुलतबाट टाढै राख्न चाहन्छु, त्यसैले मैले यी चिजहरू नछुने प्रण गर्छु ।

च) मेरो साथ–संगत, लवाइ–खवाइ अदिलाई सधैँ अनुकरणीय बनाउनेछु । घरमा शिक्षक र विद्यालयका बारेमा नकारात्मक टिप्पणी गर्दिनँ किनकि त्यही विद्यालयको सहयोगमा मेरा सन्तानलाई हुर्काउनु छ ।


महर्जन भक्तपुरको बालकोटस्थित माउण्ट भ्यू ई. बो. स्कुलका संस्थापक प्रिन्सिपल, प्याब्सनका प्राज्ञिक सल्लाहकार र क्वेष्ट नेपालका अध्यक्ष हुनुहुन्छ ।