सुन माेहः 'रोल मोडेल' बन्नुपर्ने महिला नेतृहरूको शिरदेखि पाउसम्म गरगहना !

सुन माेहः  'रोल मोडेल' बन्नुपर्ने महिला  नेतृहरूको शिरदेखि पाउसम्म गरगहना !

निर्जला कक्षपति  |  दृष्टिकोण  |  माघ १४, २०७६

केही दिन अगाडि घर नजिकको व्यूटी पार्लरमा थ्रेडींग गर्न पर्‍यो भन्दै छिर्दै थिएँ, भर्‍यांङमा उक्लिँदै गर्दा एक जना महिलाको आवाज मेरो कानमा चस्स पर्‍यो, उनी भन्दै थिइन् हाय ...... त्यो विदेश के काम, घर भित्रै बस्या छ, कहीँ जाऊँ बाटो चिनिने होइन, कसैसँग कुरा गरौँ भाषा मिल्ने होइन । राम्रा राम्रा लुगा कपडा, गरगहनाको के काम ? यहाँ त घरबाट निस्कने बित्तिकै छिमेकी आफन्तसँग बोल्दै हिँड्ने गरिन्छ । 

आफूसँग भएका कपडा गरगहना लगायो, हिँड्यो । साथीभाइले आहा कति राम्रो लगाएकी भन्छन् । त्यो विदेशमा त सुनका गरगहनाको पनि के काम ? राम्रा कपडा हिडेनुको औचित्य पनि छैन कसैलाई देखाउन नै नपाएपछि र कसैले राम्रोको बारे प्रशंसा नै नगर्दिएपछि लगाउन पनि मन नलाग्ने हुँदो रहेछ । ती महिलाले व्यूटीपार्लरकी दिदीलाई सुनाउँदै थिइन् ।

हामी नेपालीहरू अरूको चियो गर्न निकै रुचाउँछौँ । अरूले खाएको, लाएको, हुँदाहुँदै फलानोको छोराले यसो गर्‍यो र उसो गर्‍यो रे भन्ने बानी नै छ । विवाह भोज र पार्टीहरूमा गर्‍यौं भने मानिसले लगाएका पहिरन र गरगहनाको विशेष कुराकानी हुने गर्छ । त्यसैले त गरगहना नहुनेहरूले पनि भाडामा लिएर अथवा मागेर भए पनि गरगहना लगाउने गर्छन् । किन यति धेरै गरगहनाको महत्त्व भएको होला ? सायद महँगो भएकै कारण मानिसले यति धेरै महत्त्व दिएका होलान् की ?

आजको जमानामा जोसँग ज्ञान धेरै छ उही हो सबै भन्दा धनी व्यक्ति । ज्ञान, बुद्धि र विवेक नहुनेले जत्ति नै सुन जीउमा सुन थोपरे पनि के नै अर्थ रहन्छ र ? पढेलेखेका मानिसले पित्तल नै लगाए पनि मानिसहरू सुन भनी ठान्छन् । पढेलेखेको मानिसमा पित्तललाई सुन भनेर बहस गर्ने ताकत हुन्छ , साहस हुन्छ । यद्यपि विद्धान व्यक्तिले केही नलगाउँदा पनि उसको विलक्षण प्रतिभाका कारण यति राम्रो देखिएको हुन्छ की उसलाई सुन लगाउने जरुरत नै पर्दैन ।

हामी गाउँघर तिर गयौँ भने महिलाको खुट्टामा जुत्ता हुँदैन, तर नाकमा बुलाकी, कानमा ढुङ्ग्री र घाँटीमा तिलहरी झुन्ड्याएका हुन्छन् । नाक कान र घाँटीमा सुन झण्डयाउनु भन्दा जुत्ता किनेर लाइयो भने म सुरक्षित हिँड्न सक्छु, जुत्ता नलगाई हिँड्दा मेरो खुट्टामा घाउ चोट लाग्न सक्छ भन्ने थाहा हुँदाहुँदै पनि महिला दिदी बहिनीहरू जुत्ता नलगाई जिउमा भने सुन लगाएर हिँड्ने गर्छन् ।

गरगहना भन्ने बित्तिकै महिलाको सुन्दरतासँग जोडिने विषयवस्तु हो । राम्री हुने लोभमा महिलाहले सुनका गरगहना लगाएर हिँड्ने गर्छन् तर सुन लगाएर हिँड्नै पर्छ भन्ने कहीँ कतै लेखिएको छैन । आफू सुन्दर देखिनकै लागि अत्यन्त महँगा सुन, हिरा मोती लगाएर हिँड्न पर्छ भन्ने पनि छैन । यो त एक प्रकारको आडम्वरपना हो । म अरू भन्दा पृथक् अथवा हुनेखानेकी हुँ भनेर चिनिनका लागि जीउभर गरगहना लगाएर हिँड्ने परम्परा हाम्रो पुरानै हो । यसबाट सुरक्षित पनि हुन सकिँदैन । बाहिर सभा सम्मेलनमा भाषण गर्दा सुन लगाउनु राम्रो होइन, यसले धनी र गरिब बिच खाडल ल्याउँछ भनेर हाम्रा नेताहरूले भाषण गरे पनि विवाह भोजमा जाँदा उनीहरूकै श्रीमतीहरू सुनका गरगहनाले पुरिएको देख्दा निकै नै अचम्म लाग्ने गर्छ । विवाहमा यति तोला भन्दा बढी सुन दाइजो दिन नपाइने भनेर हाम्रा नेताहरूले नियम नबनाएका पनि होइनन् ।

 तर कार्यान्वयन नै नभएपछि कसको के लाग्छ र ? अझ सार्वजनिक पद धारण गरेका महिलाहरूले नै विवाहको भोज भतेरमा सुन लगाएको देख्दा साह्रै नै असहज, असुहाउँदो र अभद्र लाग्दो रहेछ । नेतृ महिलाहरूले त झनै सबैले मार्क गर्ने गरी शिरदेखि पाउसम्म सुनका गरगहना थुपारेर भोजमा सरिक हुने गर्छन् । नेता भनेका रोल मोडेल पनि हुन् । यसरी भद्दा लाग्ने गरी सुनका गहना लगाएर भोजमा सरिक हुँदा मलाई जनताले कसरी मूल्याङ्कन गर्लान भन्नेसम्म हेक्का नराखी समारोहमा सरिक हुँदा हाम्रा महिला नेतृहरूलाई पनि लाज लाग्नु पर्ने हो । हाम्रा नेतृ तथा सार्वजनिक पद धारण गर्नेहरूलाई न त लाज लाग्छ ? न त अप्ठ्यारो नै ! जनताको सेवा गर्छु भनी नेता बनेकाहरूले यत्रो सुन किन्ने रुपैंया कहाँबाट ल्याए भन्ने प्रश्न जनताको मनमा उठ्ने गर्छ  । 

शरीरमा सुन थोपरेर हिँड्नु भनेको असमानता कायम गर्नु पनि हो । सुन लगाएर म सभ्य, म राम्रो परिवारको भनेर देखाउन खोज्नु  भनेको मुर्ख्याइँ बाहेक केही पनि होइन । सुन आडम्बरको प्रतीक पनि हो । जति सुनको भाउ महँगो हुँदै छ, त्यति नै यसको किनबेच पनि बढ्दो छ र मानिसले झनै डिजाइन डिजाइनका गहना लगाउन पनि छाडेका छैनन् । तर मानिसले बुझ्नु पर्न कुरो के हो भनिदेखिन् सुन हाम्रो लागि नुन जत्तिको महत्त्वपूर्ण पक्कै छैन । सुन छपक्कै लगाएर हिँड्ने बित्तिकै मानिस विद्धान हुने पनि होइन । 

त्यसो त आजको जमानामा जोसँग ज्ञान धेरै छ उही हो सबै भन्दा धनी व्यक्ति । ज्ञान, बुद्धि र विवेक नहुनेले जत्ति नै सुन जीउमा सुन थोपरे पनि के नै अर्थ रहन्छ र ? पढेलेखेका मानिसले पित्तल नै लगाए पनि मानिसहरू सुन भनी ठान्छन् । पढेलेखेको मानिसमा पित्तललाई सुन भनेर बहस गर्ने ताकत हुन्छ , साहस हुन्छ । यद्यपि विद्धान व्यक्तिले केही नलगाउँदा पनि उसको विलक्षण प्रतिभाका कारण यति राम्रो देखिएको हुन्छ की उसलाई सुन लगाउने जरुरत नै पर्दैन । भारतका गान्धी परिवार तथा  त्यहाँका नेता तथा महिला नेतृहरु समेत स्वदेशमै निर्मित कटनका धोती लगाउने गर्छन् । यसो गर्नुको कारण स्वदेशी उत्पादनलाई माया गर्नु हो । हाम्रा कम्युनिस्ट नेता तथा नेतृहरु सुन भन्ने कुरा सामन्तीले लगाउँछन् भन्थे तर अहिले शासन गर्न थालेपछि भने उही सामन्तीले लगाउने गरेको सुन आफ्नो जिउमा थुपारेर हिँड्ने गर्छन् । 

जे होस् सुन लगाएर हिँड्दा आफू असुरक्षित त भइन्छ नै त्यसमाथि यसले वर्ग समेत छुटाउँछ । सुन लगाएर राम्री र ठुलो मान्छे होइन्छ भनेर सोच्नुभन्दा राम्रो काम गरेर नै समाजमा इज्जत कमाउन सकिन्छ भनेर सोच्नु पर्छ ।