अवैध लागूऔषध सहित ६ पक्राउ

अवैध लागूऔषध सहित ६ पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १४, २०७६

काठमाडौं । दाङ, तुलसीपुर उपमहानगरपालिका–१२ सितलपुरबाट रुकुम मुसिकोट नगरपालिका–२ रातामाटा बस्ने २१ वर्षीय अनिल पुनमगर समेत ३ जनालाई करिब २ किलो ५ सय ग्राम लागूऔषध चरेश सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । शंकास्पदरूपमा हिँडिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

रुपन्देही, बुटवल उपमहानगरपालिका–११ मझुवा बस्ने ४२ वर्षीय राम भगत गुप्तालाई करिब ६ किलो लागूऔषध गाँजा सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट बसपार्क र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले गुप्ताको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट करिब २१ किलो लागूऔषध गाँजा सहित सुनसरी ईटहरी नगरपालिका–१५ बस्ने १८ वर्षीय सागर पाण्डे र धादिङ रोराङ नगरपालिका–१ बस्ने सोनम तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना.५ ख ४९० नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।