समयसँगै फेरिएका स्वास्थ्यका अवधारणाहरू

समयसँगै फेरिएका स्वास्थ्यका अवधारणाहरू

प्रा‍‍. डा‍‍. शरद वन्त  |  दृष्टिकोण  |  माघ १५, २०७६

स्वास्थ्यलाई हेर्ने दृष्टिकोणहरू एक समान छैनन् । बेग्लाबेग्लै चासो, स्वार्थ र जीवन दिशाबोधअनुसार स्वास्थ्यको अवधारणाबारे दृष्टिकोणहरू पनि फरक फरक छन् । आजको समाजमा यी अवधारणाहरू मोटामोटी रूपमा समानता र न्यायको तथा पुँजी र बजारका शिविरहरूमा बाँडिएर समानान्तर रूपमा अस्तित्वमा रहेका छन् । लक्ष्य र मान्यतामै विभाजित यी दृष्टिकोणहरू एकआपसमा विरोधात्मक र प्रतिस्पर्धात्मक पनि छन् ।  

१९औँ शताब्दीको पूर्वार्द्धमा नै रुडोल्फ भिर्खोव जस्ता स्वास्थ्य विशेषज्ञ चिन्तकहरूले चिकित्साशास्त्रलाई समाज विज्ञानको पङ्क्तिमा राखेर स्वास्थ्य राजनीतिक तथा सामाजिक मुद्दा भएको भाव व्यक्त गरेका थिए । तर, त्यतिबेला नीति, योजना तथा कार्यक्रममा भने यो चिन्तन सशक्त रूपमा स्थापित हुन सकेन । अभ्यासको तहमा स्वास्थ्यको अवधारणा त्यो शताब्दीभर नै प्राविधिक प्रभावमा सीमित रह्यो ।

त्यो समयमा स्वास्थ्यमा झेल्नुपरेका प्राविधिक चुनौतीहरू नै यसको एउटा प्रमुख कारण हुन सक्छ । स्वास्थ्य विज्ञान र प्रविधिको सीमित विकास अनि स्वास्थ्य समस्याका कारण, निदान तथा उपचारबारे अपर्याप्त ज्ञान भएको हुँदा मानव जीवन बचाउन पटक पटक असहाय जस्तै बन्नुपरेका चिकित्सक तथा स्वास्थ्य प्राविधिकहरूमा यो प्रभाव पर्नु अस्वाभाविक पनि होइन । त्यसपछि विज्ञान र प्रविधिको विकाससँगै रोगहरूमाथि विजय गरेर जीवन बचाउन सकिने स‌ंभावनाहरू बढ्दै जाँदा स्वास्थ्यबारे प्राविधिक अवधारणा अझ बलियो भयो र लामो समयसम्म यसको बर्चस्व कायम रह्यो । 

स्वास्थ्यमा सामाजिक मान्यताको पुन: उदय   

गएको शताब्दीको आधाआधीपछिको दशकमा आज विकासोन्मुख भनिने देशहरू औपनिवेशिक थिचोबाट मुक्त हुन थालेपछि देशहरूबीच र देशभित्रै पनि विद्यमान असमानताहरू स्पस्टसँग सतहमा आउन थाले । तिनै असमानताहरूको पङ्क्तिमा जनस्वास्थ्यका अभियन्ता र चिन्तकहरूले स्वास्थ्य सूचका‌ंकहरूमा भएका विभेदहरूलाई मसिनोसँग कोट्याउन सुरु गरे । यही खोजले स्वास्थ्य विज्ञान र प्रविधिमा तथा स्वास्थ्य विशेषज्ञहरूको उत्पादनमा उल्लेख्य विकाससँगै स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालहरूलगायत अन्य संरचनाहरूको स्थापना हुँदाहुँदै पनि जनताको ठूलो हिस्सा सेवाबाट बञ्चित हुनुपर्ने स्थितिले नै स्वास्थ्यमा असमानता जन्माएको यथार्थलाई पुष्टि गर्‍यो ।

स्वास्थ्यलाई नागरिक हकको रूपमा स्थापित गर्न बजारको अवधारणाका विरुद्ध स्वास्थ्यमा सामाजिक न्याय र समानताको लागि विश्वव्यापी तहमा नै अभियान सञ्चालन भएको छ । यो नवउदारवादको अनियन्त्रित खुला विश्व बजारको तीखो आलोचना गर्दै जनताको स्वास्थ्य समस्यालाई नाफाको खेती गर्ने उर्वर जमिन बनाउन नपाइने मान्यतालाई स्थापित गर्ने अभियान हो ।

यही बिन्दुबाट सुरु भएको स्वास्थ्यमा सामाजिक मान्यताको पुन: उदयको यात्राले आजभन्दा चार दशकअघि आल्मा आटाको घोषणापत्रमा राजनीतिक औपचारिकता पाएको हो । स्वास्थ्यमा जतिसुकै अवसरका संभावनाहरूको विकास भए तापनि समानता र न्यायमा आधारित प्रणालीको अभावमा स्वास्थ्य सेवामा सबैको पहुँच संभव नहुने भएकाले त्यस्तो प्रणाली विकास गर्नका लागि सबै राष्ट्रहरू प्रतिबद्ध हुनुपर्ने र नागरिकको स्वास्थ्यको जिम्मेवारी राज्य सरकारले लिनुपर्ने मान्यता पनि यहीँबाट जन्मिएको हो ।

यसरी स्वास्थ्यलाई प्राविधिक बाहुल्यबाट स्वतन्त्र गरेर राजनीतिक दायित्वको घेराभित्र ल्याउनुपर्ने चिन्तनसहित स्वास्थ्यको समानता र न्यायमूलक सामाजिक अवधारणा स्थापित भयो । सबैका लागि स्वास्थ्यको नारामुनि विश्व समुदायले यसलाई सिद्धान्ततः स्वीकार्‍यो । 

स्वास्थ्यको अवधारणामा बजारको प्रवेश

जुन समयमा सामाजिक अवधाराणको विकास हुँदै थियो, त्यतिबेला नै स्वास्थ्यमा बजारले प्रवेश गरिसकेको थियो । वास्तवमा स्वास्थ्यमा समानताको मान्यताको विकास स्वास्थ्यमा बजारको प्रवेशकै प्रतिक्रिया पनि हो भन्दा पनि अतिशयोक्ति हुँदैन । तर, पनि बजार त्यति आक्रामक र सशक्त भइसकेको थिएन । विश्व जनमतले नै आत्मसात् गरेको स्वास्थ्यको सामाजिक अवधारणालाई प्रतिकार गर्न बजारलाई सहज पनि थिएन ।

त्यसका लागि सैद्धान्तिक तानाबाना मिलाएर अनि शक्तिशाली वित्तीय संस्थाहरूसँग सहकार्य गर्दै विश्वव्यापी सञ्जालको विकास गरेर आफ्नो धरातल बलियो बनाउनु बजारका लागि जरुरी थियो । स्वास्थ्यको निजीकरणलाई प्रवेश बिन्दु बनाएर यिनै वित्तीय संस्थाहरूबाट संरचनागत समायोजन (स्ट्रक्चरल स्टेटमेन्ट) कार्यक्रमले स्वास्थ्यलाई अनुत्पादक क्षेत्रको पङ्क्तिमा राखेर त्यस्तो क्षेत्रमा सरकारको लगानी कटौती गर्नुपर्ने शर्त राख्यो र यो कार्यक्रममार्फत् स्वास्थ्यमा राज्यको दायित्व न्यून गराउँदै निजी क्षेत्रको भूमिका बढाउने अभियान सुरु भयो ।

यति मात्र होइन, यस अभियानलाई टेवा दिन अथवा यस अभियानकै परिपूरकको रूपमा बामाको पहल (बामा इनिसियटिभ)अन्तर्गत नागरिकले बजारबाट खरिद गरेजस्तै राज्यको स्वामित्वमा भएको स्वास्थ्य संरचनामा पनि सेवाको मूल्य तिर्नुपर्ने प्रावधान निर्माण गरियो । जनता स्वास्थ्य सेवा खरिद गर्न इच्छुक र सक्षम छन् भन्ने मान्यतालाई स्थापित गर्नु यो प्रावधानको मूल उद्देश्य थियो । र, यस मान्यतालाई नै स्वाथ्यलाई निजीकरण गर्ने औचित्यको रूपमा प्रयोग गरियो । 

स्वास्थ्यमा बजारको सशक्त प्रवेशका लागि आधार तयार हुँदै जाँदा आल्मा आटाको घोषणापत्रको स्वास्थ्यमा समानता र न्याय, राज्यको दायित्व जस्ता मान्यता र मर्म क्रमशः ओझेलमा पर्दै गए र बजारीकरणको दौडमा कोशेढु‌ंगाको रूपमा स्वास्थ्यमा लगानीको सिद्धान्त प्रतिपादन गरियो । स्पष्ट हुनु जरुरी छ कि यो स्वास्थ्यका लागि गर्ने लगानी होइन, स्वास्थ्यमा गर्ने लगानीको सिद्धान्त हो । स्वास्थ्यमा लगानीको सिद्धान्तले स्वास्थ्यलाई अन्य क्षेत्रहरू जस्तै नाफा र व्यवसायको क्षेत्रको रूपमा स्थापित त गर्‍यो नै, स्वास्थ्यमा गरिएको लगानीमा हुने नाफाको सुनिश्चितताको दाबीसमेत गर्‍यो ।

विडम्बना त के भने स्वास्थ्यमा बजारको प्रवेश त्यसबेला आक्रामक बन्यो, जतिबेला विश्वव्यापी रूपमा भइरहेको सबैका लागि स्वास्थ्यको नाराले आधा बाटो पनि पार गर्न पाएको थिएन । 

स्वास्थ्य लगानीको क्षेत्र भएपछि स्वास्थ्य सेवामा बजारका सूत्रहरू क्रियाशील हुने नै भए । बजारका सूत्रहरू स्वास्थ्यको अवधारणामा पनि अभिव्यक्त हुन थाले । स्वास्थ्य सेवा खरिद बिक्री र उपभोगका लागि बजारमा राखिएका अन्य वस्तु सरह बजारको वस्तुमा रूपान्तरित भयो अनि बिरामी नागरिक अथवा सेवाग्राहीचाहिँ उपभोक्ता अथवा ग्राहक बन्न गए । स्वास्थ्य सेवाको मूल्य बजारले निर्धारण गर्ने भयो र स्वास्थ्य सेवाको उपभोग जनताको आवश्यकताले होइन, उसको क्रय शक्तिले निश्चित गर्ने भयो । 

त्यसबाहेक स्वास्थ्यलाई आवश्यकताभन्दा बढी प्रविधीकरण गरियो । स्वास्थ्यका समस्याहरूलाई प्रविधिले मात्र हल गर्ने चिन्तनले बजारलाई नै प्रवर्द्धन गर्ने मात्र नभएर स्वास्थ्य सेवामा स्वास्थ्य प्रविधिको अत्यधिक प्रयोग हुन थाल्यो र स्वास्थ्य सेवा ज्यादै महँगो हुन गयो । अर्कातर्फ बजार प्रवर्द्धनले गर्दा सेवाग्राहीबाट नै प्राविधिक सेवाहरूको माग बढेर स्वास्थ्यमा उपभोगवादको विकासको सुरुवात पनि हुन थाल्यो ।   

स्वास्थ्यको अवधारणामा द्वन्द्व

बजारले विकास गरेको स्वास्थ्यको अवधारणाले आर्थिक रूपमा कमजोर र क्रय शक्ति नभएको जनताको ठूलो समूहलाई स्वास्थ्य सेवाको पहुँचबाट बञ्चित गरायो । परिणाम स्वरूप विश्वका धेरै देशहरूको सरदर स्वास्थ्य सूचकांकमा उल्लेख्य प्रगति त भयो तर त्यो प्रगति सबै नागरिकहरूमा समान भएन । विभिन्न समूहहरूबीच सूचकांकहरूमा भिन्नता भने कायम नै रह्यो । बजारको अवधारणाले सम्पन्नहरूका लागि मात्र अवसरका ढोकाहरू खोल्ने भएकाले स्वास्थ्यमा भएको विभेदलाई कम गर्ने संभावना पनि थिएन । 

स्वास्थ्यमा भएको विभेदका विरुद्ध विगतमा उठेका आवाजहरू फेरि सशक्त हुन थालेका छन् । हुनत ती आवाजहरू सेलाएका थिएनन्, मात्र बजारले छायामा पारेको थियो । स्वास्थ्यलाई नागरिक हकको रूपमा स्थापित गर्न बजारको अवधारणाका विरुद्ध स्वास्थ्यमा सामाजिक न्याय र समानताका लागि विश्वव्यापी तहमा नै अभियान सञ्चालन भएको छ ।

यो नवउदारवादको अनियन्त्रित खुला विश्व बजारको तीखो आलोचना गर्दै जनताको स्वास्थ्य समस्यालाई नाफाको खेती गर्ने उर्वर जमिन बनाउन नपाइने मान्यतालाई स्थापित गर्ने अभियान हो । यो अभियान नाफाको लागि स्वास्थ्यमा लगानी होइन, स्वास्थ्यका लागि जनतामा लगानी गर्नुपर्ने मागको अभियान हो ।

यतिबेला स्वास्थ्यमा बजार र समानताका दुवै अवधारणाहरू अस्तित्वमा छन् । मूल मान्यतामै फरक र विरोधात्मक दृष्टिकोण राख्ने यी अवधारणाहरू एकअर्काका प्रतिद्वन्द्वी हुन् । एउटाले बजार र नाफाको प्रतिनिधित्व गर्छ भने अर्कोले जनता र समानताको प्रतिनिधित्व गर्छ । हामी विश्वस्त छौँ, जनता नै सत्य हो र सत्यकै अन्तिम जीत हुन्छ ।