कर्णाली एक्स्पोमा सेल्फी जोन निर्माण गरिने

कर्णाली एक्स्पोमा सेल्फी जोन निर्माण गरिने

लोकसंवाद संवाददाता  |  समाज  |  माघ १६, २०७६

सुर्खेत । कर्णाली प्रदेश सरकार र निजी क्षेत्रको साझेदारीमा वीरेन्द्रनगरमा अर्गानिक कृषि, उद्योग, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव–२०७६ आयोजना हुने भएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, सामाजिक विकास मन्त्रालय र सुर्खेत उद्योग वाणिज्य सङ्घको संयुक्त साझेदारीमा अगामी फागुन ६ देखि १७ गतेसम्म दोस्रो चरणको कर्णाली एक्स्पो आयोजना हुन लागेको हो । 

सङ्घका अध्यक्ष धनबहादुर रावतले महोत्सवमा कृषिलाई विशेष ग्राहयता दिनुका साथै कर्णालीको पहिचान एवं पर्यटन प्रवद्र्धनलाई मुख्य आधार बनाइने जानकारी दिनुभयो । उहाँका अनुसार प्राङ्गारिक कृषिसँग सम्बन्धित मात्रै १०० प्रदर्शनी कक्ष रहने छ । बेलायतको लण्डन ब्रिजको संरचनाअनुसारको मूल गेट,  दुबईको बुर्ज खलिफा र मलेसियाको ट्विन टावरस्वरुपका संरचना बनाई सेल्फी जोन निर्माण गरिनेछ । 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले एक्स्पोमा कृषि सम्मेलनको पनि आयोजना गर्ने बताउनुभयो । प्राङ्गारिक कृषि, जैविक विविधताको संरक्षण, जैविक विषादी, जैविक मल, रैथाने बाली संरक्षणका लागि विज्ञसहित सरोकारवालाको सहभागिता रहने गरी टक सो कार्यक्रम सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।

कर्णालीका १० वटै जिल्लाबाट प्राङ्गारिक कृषि तथा जडीबुटी उत्पादन, लघु उद्यमीका उत्पादन प्रदर्शनी कक्ष रहने छन् ।  महोत्सवमा करिब ५०० व्यावसायिक प्रदर्शनी कक्ष , करिब पाँच करोड रुपैयाँको व्यावसायिक कारोवार हुने र तीन लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । सङ्घले हरेक तीन वर्षमा एकपटक महोत्सव सञ्चालन गर्दै आएको छ । सङ्घले एक्स्पोबाट प्राप्त आम्दानीको ५० लाख रुपैयाँको अक्षयकोष बनाई प्रकोप पीडितलाई राहत दिने लक्ष्य लिएको छ ।