सुनको मूल्य माघयताकै उच्च बिन्दुमा

सुनको मूल्य माघयताकै उच्च बिन्दुमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ १६, २०७६

काठमाडाैं । निकै उतारचढावका बीच कारोबार हुँदै आएको पहेँलो धातुको मूल्य स्थानीय बजारमा माघयता उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ पुगेको छ । 

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो । यही सोमबार र मङ्गलबार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य बुधबार सामान्य घटेर प्रतितोला ७५ हजार ६०० रुपैयाँ पुगेको थियो । सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ । नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला ८८० रुपैयाँ पुगेको छ ।

यसअघि गत पुस २३ गते नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । सो दिन छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २०० रुपैयाँ पुगेको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्ने क्रममा छ । विश्वबजारमा आज सुनको मूल्य प्रतिऔँसत एक हजार ५८२ अमेरिकी डलर पुगेको छ ।