१२औँ जनगणनाको तयारी पर्वतमा पनि शुरु

१२औँ जनगणनाको तयारी पर्वतमा पनि शुरु

लोकसंवाद संवाददाता  |  समाज  |  माघ १६, २०७६

पर्वत । सरकारले हरेक १०/१० वर्षमा गर्ने राष्ट्रिय जनगणना फेरि शुरु हुँदैछ । विसं २०७८ मा गरिने १२औँ जनगणनाको तयारी पर्वतमा पनि शुरु भएको छ । कोही नछुटुन्, कोही नदोहोरिउन् भन्ने उद्देश्यले ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नाराका साथ जनगणना गरिँदै छ ।
 
जनगणना आउन एक वर्षभन्दा बढी बाँकी छँदै यसलाई प्रभावकारी बनाउने उद्देश्यले छलफल तथा अन्तरक्रिया र प्रचारप्रसार थालिएको छ । आगामी जनगणनाको सन्दर्भमा तथ्याङ्क कार्यालय स्याङ्जा, पर्वतको आयोजनामा बुधबार कुश्माबजारमा आयोजित अन्तरक्रिया कार्यक्रममा जनगणना कार्यलाई प्रभावकारी बनाउन र नागरिकको पूर्ण विवरण सङ्कलनमा सबैको सहभागिता जुटोस् भन्ने उद्देश्यले तयारी थालिएको जनाइएको छ । 

यस वर्ष विगतका जस्तो ‘स्याम्पल’ गणना नगरी पूर्ण गणना गरिने भएको छ । जनगणना विसं २०५८ र २०६८ भन्दा पनि विस्तृतरूपले गरिने तथ्याङ्क कार्यालयका अधिकृत शारदा शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसपटक बहु मोडेल दृष्टिकोण अपनाइने भएको छ ।’ महानगर, उपमहानगर र ठूला नगरपालिकामा ट्याबलेट र कागजी दुवै प्रश्नावलीको प्रयोग गरिने छ भने अन्यमा परम्परागत तरिकाबाटै सङ्कलन गरिने छ । विदेशस्थित कूटनीतिक नियोगमा विद्युतीय माध्यमबाट गणना गरिने भएको छ । 

अधिकृत शर्माका अनुसार जनगणनामा सबैको सहभागिता जुटाउन प्रचारप्रसारलाई तीव्रता दिइने भएको छ भने अहिले कार्यालयगत तयारीको काम भइरहेको छ । जनगणनाका लागि प्रदेश तथा जिल्ला र स्थानीय तहका कार्यालय स्थापना, गणना सामग्री ढुवानी, विभिन्न तालीम सञ्चालन, लगत सूची सङ्कलन गर्ने काम भइरहेको पनि शर्माले जानकारी दिनुभयो । 

अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक मनोहर बी पौडेलले प्रत्येक नागरिकका घरमा राज्यको अनिवार्य उपस्थिति हुने जनगणनाको कामलाई प्रभावकारी बनाउन तीनै तहका सरकार र जनप्रतिनिधिको सक्रियता आवश्यक रहेको बताउनुभयो । उहाँले पर्वत जिल्लामा जनगणनालाई प्रभावकारी बनाउन सबै पक्ष एकजुट भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले जिल्लामा तथ्याङ्क कार्यालय नभएकाले आगामी जनगणना अघि स्थायी प्रकृतिको कार्यालय स्थापना गर्न सके अन्य पटकलाई पनि सहज हुने बताउनुभयो । 

कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसाल, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललगायतले जनगणनालाई प्रत्येक नागरिकको पहुँचमा पु¥याउन आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । कृषि ज्ञान केन्द्र प्रमुख वासुदेव रेग्मी र जिल्ला समन्वय अधिकारी चिरञ्जीवी सापकोटाले तथ्याङ्क सङ्कलनलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधिका बारेमा सुझाव दिनुभएको थियो ।