तिनीहरू कहाँ गए होलान् : ग्रामीण समाजको वास्तविकता

तिनीहरू कहाँ गए होलान् : ग्रामीण समाजको वास्तविकता
तस्बिर : पुप्पराज अवस्थीको फेसबुकबाट ।

लक्ष्मण ओझा  |  लोकरञ्जन  |  फाल्गुन १५, २०७५

काठमाडौं । बेहोश भएकी आमाको उपचारका लागि चिकित्सकलाई घर लैजान एक युवक स्वास्थ्यचौकी पुग्छन् । र, चिकित्सकलाई घर गइदिन आग्रह गर्छन् । त्यतिबेला चिकित्सक लमीले देखाएको केटीको तस्बिर हेरेरै मग्न हुन्छन् । र, युवकको युवकको आग्रह नकार्छन् । युवकको निकै अनुनयविनय गर्छन् । अन्ततः चिकित्सक पारिश्रमिक लिने सर्तमा उपचार गर्न जान सहमत हुन्छन् । 

युवकको घर पुगेर चिकित्सकले युवककी आमाको चेकजाँच गर्छन् । र, कमजोरीले बेहोश भएको ‘डाइग्नोसिस’ गर्छन् । र, बिरामीलाई आवश्यक औषधी लेखिदिन्छन् । 

युवक औषधी लिन बजार जान्छन् । यता युवकका बुबाले श्रीमतीलाई सन्चो नभएको भन्दै घरमा तीन धामी बोलाउँछन् । धामी छुट्टाछुट्टै रूपमा काम्न सुरु गर्छन् । पहिलो धामीले ‘बोक्सी’ लागेको बताउँछन् । र, भेटी दिन सुझाउँछन् । दोस्रोले ‘भूत’ लागेको भन्दै कालो बोका माग्छन् भने तेस्रोले ‘पिचास’ले छोएको भन्दै रातो भाले दिनुपर्ने बताउँछन् । सबै धामीले भने अनुसार गरिन्छ । तर, बिरामीको होश खुल्दैन । 

धामीको उपचारले सन्चो नभएपछि पुनः चिकित्सकलाई बोलाइन्छ । त्यतिबेलासम्म युवक औषधी ल्याएर घर पुगिसकेका हुन्छन् । चिकित्सकले उपचार गरेको केही समयपछि बिरामीको होस खुल्छ । 

यो दृश्य हो, केही दिनअघि थापागाउँस्थित कुञ्ज थिएटरमा मञ्चन गरिएको नाटक ‘तिनीहरू कहाँ गए होलान्’को । नाटकमा अझै समाजमा धामीझाँक्रीप्रति अन्धविश्वास कायम भएको देखाइएको छ । 

नाटक लेखक विजयराज आचार्य आफ्नै गाउँको घटनालाई चित्रण गरेर नाटक लेखिएको बताउँछन् । ‘यो मेरो बाल्यकालको घटनालाई नाटक लेखेको हुँ,’ उनी भन्छन् । 

नाटकको निर्देशन पुष्पराज अवस्थीले गरेका थिए । 

नाटकमा सञ्चालनका लागि शुभकामना एकेडेमी, काठमाडौँले लगानी गरेको थियो । एकेडेमीका प्रधानाध्यापकसमेत रहेका आचार्यले नाटकका लागि दुई लाख लगानी लागेको बताउँछन् ।

नाटकमा एकेडेमीका कक्षा ४ देखि ८ सम्मका विद्यार्थीले अभिनय गरेका थिए । जसमा मोनिका रोक्का, सुवर्णविक्रम नगरकोटी, आँचल आचार्य, दिलिस केसी, बिगिन वञ्जाडे, प्रणय सुवेदी, सनिप कार्की, विवेचना आचार्य, सिद्धान्त शर्मा, सिद्धार्थ भुसाल, उमंग नेपाल, ऋतुल नेपाल, गीता मल्ल, सञ्जु महर्जन, मदन बस्नेत, सुशील बिक, श्याम कुँवर, प्रकृति थापा, प्रज्ञान बुढाथोकी र संयोग थापा छन् । 

आइतबारदेखि तीन दिन मञ्चन गरिएको नाटक काठमाडौँ, भक्तपुर र ललितपुरका १५ विद्यालयमा मञ्चन गरिएको थियो । नाटक झण्डै एक हजार विद्यार्थीले अवलोकन गरेका आयोजकले जनाएको छ ।