‘लभ डायरिज’ नेपाल सँगै अष्ट्रेलियामा पनि रिलिज हुने

‘लभ डायरिज’ नेपाल सँगै अष्ट्रेलियामा पनि रिलिज हुने

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ १७, २०७६

काठमाडौं । आउँदो फागुन २ गतेबाट अर्थात प्रेम दिवसको अवसर पारेर देशव्यापी प्रदर्शनमा आउन लागेको अभिनेता सुशील श्रेष्ठ र नव अभिनेत्री रुविना थापा स्टारर चलचित्र ‘लभ डायरिज’ को अष्ट्रेलियामा पनि रिलिज हुने टुंगो लागेको छ । 

चलचित्र  ‘लभ डायरिज’ नेपालसँगै अस्ट्रेलियामा पनि एकसाथ प्रदर्शन हुने निर्देशक सौरभ चौधरीले जानकारी दिनुभयो । ट्रेलर रिलिजपछि विदेशमा चलचित्रको माग बढेको उहाँको भनाइ छ । 
 
अस्ट्रेलियामा नाइन मेल क्याफे र सल्भ एजुकेशन कन्सलटेन्सीले चलचित्र प्रदर्शन गर्न लागेको हो । फागुन २ अर्थात् फेब्रुअरी १४ मा मेलबर्नस्थित चाइना टाउन सिनेमामा ‘लभ डायरिज’ प्रदर्शन तय भएको निर्माता विनोद सापकोटाले जानकारी दिनुभयो । अन्य देशमा पनि चलचित्र प्रदर्शनका लागि छलफल भैरहेको जानकारी गराउनुभयो ।
 
चलचित्रमा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ । युवा–युवतीबीचको माया–प्रेम र कमेडीलाई चलचित्रमा देख्न सकिने निर्देशक चौधरी बताउनुभयो । चलचित्र मनोरञ्जनात्मक मात्र नभएर सन्देशमुलक पनि रहेको उहाँको भनाइ छ ।
 
चलचित्रमा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ । भने, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन पोखरेलले संगीत भरेका छन् ।