विवाह संस्कारः सम्बन्ध गाँस्ने कि ‘नवधनाढ्य’को सम्पति प्रदर्शन गर्ने !

विवाह संस्कारः सम्बन्ध गाँस्ने कि ‘नवधनाढ्य’को सम्पति प्रदर्शन गर्ने !

शर्मिला खड्का  |  दृष्टिकोण  |  माघ १७, २०७६

कुरा केही हप्ता अगाडिको हो । काम विशेषले शहरदेखि गाउँको घरसम्म गएकी थिएँ । शहरमा रहेकाले एउटा सुन्दर सामान पठाएका रहेछन् । आहा ! कति आकर्षक देखिन्थ्यो ।

सबै छरछिमेकी जम्मा भई ओल्टाइपल्टाई गरेर हेरियो । खोलेर हेर्दा थाहा भयो, त्यो सुन्दर वस्तु त विवाहको निमन्त्रणा कार्ड रहेछ । सुनौलो मेटलको लामो बुट्टेदार डन्डी जस्तो अनौठो मुख खोलेर हेर्दा भित्र कार्ड भेटियो, जहाँ विवाहको विवरण सुन्दर अक्षरमा लेखिएको थियो ।

त्यो आकर्षक वस्तुु निमणन्त्रणा कार्ड हो भन्ने थाहा पाएपछि छिमेकीहरूबीच छलफल हुनु स्वाभाविक थियो र छलफल चल्न थल्यो । एक जनाले यसलाई कति पर्‍यो होला ? भन्ने प्रश्न गरे । केही समयमा गाउँमा बसिरहेका एक जना छिमेकी दाजुले भने यो एउटा कार्डको कम्तीमा ३५ सय रूपैयाँ पर्ने अनुमान लगाए ।

सबैको हाँसो भयो । कार्ड पठाउने आफन्तको विगतको आर्थिक अवस्था र निमणन्त्रणा कार्डको तुलना हुनु स्वाभाविक थियो । सबैले चर्चा गर्न थाले ।  

कतिपयले विवाहका कार्ड पनि कस्ताकस्ता आउन थाले भने भने कतिले कार्ड नै यस्तो छ, विवाह कस्तो होला ? कतिले यस्तो कार्ड बाँडेर विवाह गरेको घरबार भएन भने के होला ? यस्तै तर्क र बितर्कले स्थान पाउन थाल्यो । 

यो बहस सुन्दा लाथ्यो, विवाहको परंपरा, संस्कार  अवधारणालाई चुनौती नै दिइरहेको थियो । अहिले भइरहेको अभ्यासमाथि अनेक तर्क बितर्क हुन थाले । विवाह कसका लागि ? अरू कसैलाई देखाउनका लागि या आफ्ना लागि ? अहिले यतिको खर्च गरेर बाँडिएको कार्डले भोलिको विवाहमा ती दुलहा–दुलहीको जीवनमा के अर्थ राख्छ ?

एउटा सुपाडीको टुक्रा दिएर विवाहको निमन्त्रणा गर्ने गाउँको परंपरालाई त्यग्दै आधुनिक, त्यो पनि शहरमा नवधनाढ्य विकृति गाउँबस्तीमा पुगेको थियो । यति ठूलो खर्च गरेर मानिसले आफ्ना सन्तानको विवाह गर्ने परिपाटी कसरी धान्ने होला ? अव्यक्त तर सबै गाउँलेहरूले खोजेको जवाफ थियो । तर, कसैसँग पनि यसको जवाफ थिएन । 

यसो हेर्दा हाम्रा कतिपय सांस्कृतिक परंपरा परिर्वतन भई सहज हुनुपर्ने थियो । त्यो सहज परिवर्तनतर्फभन्दा जटिलतातर्फ गएको सबैको निष्कर्ष थियो । ठूलो राजनीतिक परिर्वतनले सांस्कृतिक परिवर्तन ल्याउने अपेक्षा गरेका गाउँलेहरूले शहरको विकृत संस्कृति गाउँ भित्रिएकामा चिन्ता व्यक्त गर्ने काम भयो । त्यसबाहेक गाउँमा रहेका आफन्तसँग विकल्प पनि थिएन । 

विगतमा पार्टीमा मुठ्ठी उठाएर मञ्चमा एक चिम्टी सिन्दूर र एउटा साधारण मालाले विवाह गरेका ती ‘कामरेड’ले नै अहिले यति महँगो कार्ड ! हजारौँको संख्यामा मान्छे बोलाएर भोजभतेर ? 

उनीहरू अझै केसम्म भन्न थाले भने एक जुनी विवाह गर्नु छ, खर्च गर्नै पर्‍यो भन्ने कमरेडहरूको शहर होस् वा गाउँ, कहीँ पनि हिजोआज कमी छैन । उनीहरूले गर्ने व्यवहार र सजाउने मण्डप हेर्दा कुनै राजा महाराजाको भन्दा कम देखिँदैन ।

समाज परिर्वतनको जिम्मेवारी सबैको हो । यो जिम्मेवारी कुनै वर्ग, समुदाय या राजनीति गर्ने व्यक्तिको मात्रै होइन । तर, समाज र देशकै नेतृत्व गर्छु भन्ने राजनीतिक नेता तथा कार्यकर्ताले समाजमा स्वाभाविक रूपमा नै उदाहरण बनेर देखाउनुुपर्ने दायित्व  भने हुन्छ ।

त्यसो नगरी राजनीतिलाई ‘सेवा’भन्दा पनि ‘पेसा’ बनाई धन आर्जन गरेका व्यक्तिहरूले नै शहरमा भएको विकृत संस्कार गाउँमा पुर्‍याउने अगुवाइ गरिरहेका छन् । अथवा, शहरमा देखाउन नसकेको नवधनाढ्य ‘रवाफ’ गाउँमा प्रस्तुत गर्ने क्रममा राजनीतिक कार्यकर्ता दुुई कदम अगाडि देखिएका छन् । 

सम्धी-सम्धिनीको मुख हेर्ने, ढोगभेट गर्ने त छोरा र छोरी दुवै पक्षका लागि महत्त्वपूर्ण पक्ष छँदै छ तर दुलही पक्षबाट गहना, लुगाकपडा अन्य सामग्री दिनै पर्ने बाध्यात्मक अवस्था सम्धी–सम्धिनी भेटघाट ‘सम्बन्ध’ भन्दा पनि दुलहा पक्षलाई आर्जनको माध्यम र दुलही पक्षका लागि थप बोझको विषय बन्ने गरेको छ ।

सम्धी-सम्धिनीको मुख हेर्ने, ढोगभेट गर्ने त छोरा र छोरी दुवै पक्षका लागि महत्त्वपूर्ण पक्ष छँदै छ तर दुलही पक्षबाट गहना, लुगाकपडा अन्य सामग्री दिनै पर्ने बाध्यात्मक अवस्था सम्धी–सम्धिनी भेटघाट ‘सम्बन्ध’ भन्दा पनि दुलहा पक्षलाई आर्जनको माध्यम र दुलही पक्षका लागि थप बोझको विषय बन्ने गरेको छ ।

विवाह, ब्रतवन्ध, पास्नी, जन्म जस्ता कुरा मानिसका नितान्त पारिवारिक र आफ्नो वरिपरिका मानिसहरूबीच मनाइने सांस्कृतिक उत्सव हो । आफ्नो या व्यक्तिको खुसीमा परिवारका सदस्य, आफन्त, नातेदार, साथी, संगीन जम्मा भएर खुसी साट्नु स्वाभाविक हो र स्वभाविक रूपमा लिइने परंपरा हो ।

दःुखमा साथ सहयोग चाहिने आफन्त नै हुन् तर हामीकहाँ दिन प्रतिदिन विभिन्न विवाह, ब्रतवन्ध, पास्नी, जन्म जस्ता कार्यक्रमका ‘भोज’हरू, जो कसैका लागि ठूलो चुनौतीका रूपमा देखा पर्न थालेका छन् । तल्लो र मध्यम वर्गले धान्ने नसक्ने यस्ता कार्यक्रम आयोजनाले के हुन्छ ? कस्तो सन्देश दिन्छ ?

विवाह पहिलाको जस्तो सजिलो पनि छैन र गाह्रो पनि छैन ।  सहज यस अर्थमा छैन कि ठूलो धनराशि खर्चेका विवाहहरू टुट्ने क्रममा दिनहँु वृद्धि भइरहेको पाइन्छ । गाह्रो यस अर्थमा कि पहिलाको जस्तो घर, थर, कुलखान्दान, आफन्त हेरेर सोधीखोजी गरेर लामो प्रक्रियामा जाने गरिन्थ्यो । अहिले भने सामाजिक संजालको सामान्य भेटघाटको आधारमा विवाह हुन थालेका छन् ।

छोटो समयमा सामाजिक स‌ंजालमार्फत् गाँसिएको सम्बन्ध र विवाह समाज र परिवाररका लागि ‘चुनौती’का रूपमा देखा पर्न थालेका छन् ।

विवाह किन गर्ने ? जीवनभर साथका लागि ? धन सम्पति संरक्षणका लागि ? शारीरिक, मानसिक, मनोवैज्ञानिक सम्बन्धका लागि ? सृष्टि परंपरा धान्नका लागि ? केका लागि ?

यी र यस्ता कुराहरूमा स्पष्ट नभईकन गरिने विवाहहरू ‘भ्रममा’ बसुन्जेल ठीक, सम्बन्ध टुटेपछि बेठीक भन्नेहरूको संख्या समाजमा धेरै नै रहेको छ । विवाह भावावेशमा गर्ने निर्णय होइन, यो सुझबुझका साथ गरिने कार्य हो भन्ने नबुझ्दा पनि समस्या भएको हो ।

कतिपय पुरुषहरूले विवाहपछि श्रीमतीले खाना बनाएर खुवाउँछिन्, परिवार सबैलाई माया गर्छिन्, घर सम्हाल्छिन् भनेर गरिएको विवाह भोलि तिनले नसक्दा के गर्ने ? धनसम्पति वा जीवनभर साथ दिन्छ भनेर गरिएको विवाहमा यी दुवै कुरा प्राप्त गर्न नसक्ने अवस्था आएमा के गर्ने ?

विवाहमा जेजे गरे पनि परिणामचाहिँ दुवै जनाले भोग्नुपर्ने हो । राम्रो, नराम्रो, दुःख, सुख जे आइपर्छ, सामना गर्न मानसिक तयारीले नै विवाहपछिको जीवन ‘सफल’ वा असफल भन्ने कुरा निर्धारण हुन्छ ।

विवाहपछि धेरै पे्रम सम्बन्धहरू सम्बन्धविहीनतमा परिणत बन्न  पुगेका छन् भने औपचारिक विवाह सम्बन्ध नटुट्ने, आफ्ना लागि नभएर समाजका लागि जीवित छन् । सन्तानका लागि भविष्य बिग्रिएला भनेर आफ्नो वर्तमान नबाँच्नेहरूको संख्या हाम्रो समाजमा दिन प्रतिदिन बढिरहेको छ ।

विवाहलाई सामान्यतया पति–पत्नीबीचको सम्झौताका रूपमा लिने गरिन्छ । सम्झौता हो, यस्तै त हो, सबैको यस्तै देख्छु, को पो खुसी छन् र ? यति धेरै बितिसक्यो, जीवनभर पृथ्वीको परिक्रमा एक्लै गर्न सकिएला र ? होइन, बुढेसकालमा त साथी चाहिन्छ ।

यस्तैयस्तै सोचेर टुट्न लागेको वैवाहिक सम्बन्धलाई जोडेर बस्नेहरू हाम्रो समाजमा धेरै छन् । एकअर्काको स्वतन्त्र अस्तित्वलाई स्वीकार गरेर अघि बढ्न सक्यो भने विवाह समाजको सबैभन्दा सुन्दर पक्ष पनि हो ।

यस्ता सुन्दर रीतिरिवाजहरू देखावटी नभएर व्यावहारिक हुन जरुरी छ । विवाहको सन्दर्भमा चर्चा गर्नै पर्ने अर्को पक्ष दाइजो पनि हो । शहरमा दाइजोका रूपमा अहिले फर्निचर, हीरामोती, सुन, चाँदीका गरगहनाका अलावा फ्रिज, वासिङ मेसिन, टीभी, मोटरसाइकल, गाडी दिने कुरा समान्य हुन थालेको छ ।

सुत्ने खाट दुलहीले माइतबाट ल्याउनुपर्छ भन्ने चिन्तन बोकिरहने हो भने दुलहाको आत्मसम्मान कहाँ रहन्छ ? पुरुषहरूले पनि यसबारेमा सोच्नुपर्ने होइन र ? के पुरुषले दाइजो लिन्न भन्न सक्नुपर्ने होइन र ?

विवाह संस्कारलाई सम्धी–सम्धिनी भेटघाटको नाटकले झनै बोझिलो र पीडादायी  बनाउन थालेको छ । सम्धी-सम्धिनीको मुख हेर्ने, ढोगभेट गर्ने त छोरा र छोरी दुवै पक्षका लागि महत्त्वपूर्ण पक्ष छँदै छ तर दुलही पक्षबाट गहना, लुगाकपडा अन्य सामग्री दिनै पर्ने बाध्यात्मक अवस्था सम्धी–सम्धिनी भेटघाट ‘सम्बन्ध’ भन्दा पनि दुलहा पक्षलाई आर्जनको माध्यम र दुलही पक्षका लागि थप बोझको विषय बन्ने गरेको छ । 

विवाह अरूलाई देखाउनका लागि नभएर आफैँलाई हो भन्ने चेतनाका रूपमा विकास गरिनुपर्छ ।