मलाई मृत घोषणा गरेको दिन

मलाई मृत घोषणा गरेको दिन

राजु खप्तडी बस्नेत  |  साहित्य  |  माघ १८, २०७६

मलाई मृत घोषणा गरेको दिन
म शैय्याबाट उठ्नेछु 
मलाई निःशब्दताले मौन बनाएको दिन 
म भीषण नाद गर्नेछु 
यी झिनामसिना दिनरातका के कुरा गर्छ्यौ दिल 
यी धर्साहरू जूनका मुलायम किरण होलान् 
म अस्ताएको दिन घामका रश्मि भएर उदाउनेछु  ।

प्रश्न जन्मिछन् कतै, हुर्किन्छन् कतै
अनि टुङ्गिन्छन कतै 
यो  सीमित या अनन्त हिँड्दाहिँड्दै 
जवाफ बद्लिन्छन् कतै 
साससम्म या प्राणसम्म जोड्दाजोड्दै 
सम्बन्ध चुँडिन्छन् कतै ।

मलाई लाखौँ अंकगणितले घेरेको दिन 
म शून्य भएर बस्नेछु 
म हजार हिस्सामा टुक्रिएको दिन 
म एक भएरै उभिनेछु 
मलाई मृत घोषणा गरेको दिन ...।  

ओडारहरू खालि, गुफाहरू खालि 
यहाँ सुरुङभित्र जिन्दगी छ 
खरायो हो कि कछुवा हो यो 
यहाँ दुलोभित्र जिन्दगी छ 
बतासले छोएको 
त्यो आखिरी पल 
देउरालीमुनि बन्धकी छ ।

मैले तत्त्वभित्र सुरुङ खनेको दिन 
म आफूलाई पिरती लाउनेछु 
मैले यो जीवन बाँच्न जानेको दिन 
म आफैँसँग फर्की आउनेछु 
मलाई मृत गरेको दिन ।