विलासी राता बाकस

विलासी राता बाकस

प्रशान्त उप्रेती  |  साहित्य  |  माघ १८, २०७६

हरिया राहदानी बोकेर
राता नोट कमाउन दिवा सपना पालेर
स्टकोटमा दुई-चार खल्ती थपेर
हिँडेको म
के थाहा
नाबालक सन्तानलाई कहिल्यै नभेट्ने गरी
अर्धांगिनीको सिउँदो धोएर
मेरा सपनाभन्दा ठूला 
गगनचुम्बी महलहरूलाई
पैतालाभन्दा मुनि राखेर
वायुपंखी जहाजमा
राता बाकसमा कहिल्यै नउठ्ने गरी
फर्किन्छु भनेर ।

राता बाकस मेरो सुत्ने पलङभन्दा
विलासी देखिएपछि
बुझ्नेले, हेर्नेले, मलाई चिन्नेले
मेरो भाग्य बलियो देखेपछि
मलामीका भीडले मलाई 
भाग्यमानीको संज्ञा दिए रे !
किनकि
देशमा कात्रो नभेट्ने
अनगिन्ती भेटिन्छन रे !

हरिया राहदानीको व्यंग्य
हरिया बाँसको डोली
अनि राता धनको अर्थ
राता विलासी बाकसहरू
बुझ्न यहाँ
समाजले शताब्दी खर्चेर पो 
मलाई यो अहोभाग्य मिलेको रहेछ
अहो, म अझै ऋणी पो रहेछु
यो समाजको ।

आमाको मजेत्रो, बाबुको जनैमा बेरेको
छोरोको खुत्रुके वा दिदीको पेवाको बाख्रा बेचेर
मेरा माझी औँलामा भिरेको
स्वयंवरको औँठीले
तिरिदिनू त्यो कर्जा ।

जीवन मर्नेलाई भन्दा
यहाँ बाँच्नेलाई गाह्रो छ
भन्ने बुझेर नै
म परदेशिएको थिएँ 
सपना पालेर, जहान छोडेर, ऋण काढेर
तर योचाहिँ नभुल्नू नि
माटोको सुगन्ध, अगाध प्रेम
भुल्न नसकेर
बन्द बाकसमा भए पनि
स्वदेश नै फर्केको छु
सपना भुलेर
खल्ती च्यातेर
कात्रो ओढेर
कहिल्यै असन्तुष्टि
नपोख्ने गरी
कहिल्यै नविदेशिने गरी
नउठ्ने  गरी
नरुने गरी
बन्द राता विलासी बाकसमा ।

(वैदेशिक रोजगारीमा ज्यान गुमाउनुहुने परिचित, अपरिचित व्यक्तिहरूप्रति समर्पित)