पश्चिमा प्रभावमा हराउँदै गएका हाम्रा परंपरागत ज्ञान

पश्चिमा प्रभावमा हराउँदै गएका हाम्रा परंपरागत ज्ञान

प्रा.डा. विद्यानाथ कोइराला  |  दृष्टिकोण  |  माघ १९, २०७६

धेरै मान्छेहरूमा विश्लेषणात्मक तागत छ । हामीले काठले दाँत माझ्यौँ । त्यो बाँसको कर्ची हुन सक्ला, पैलेटी हुन सक्ला, पिठौली होला वा निम हुन सक्ला । दाँत माझ्ने क्रममा पहिले त्यसलाई चपाउँदारहेछौँ । चपाउँदाखेरि बंगारा चलिरहन्छ ।

मेडिकल डाक्टरले पनि चुइङ्गम खाई बंगारा चलाऊ भनेका हुन्छन् । त्यो कुरा त बाँसको कर्ची, पैलेटी, पिठौली वा निमको कर्ची टोक्ने हाम्रा मान्छेहरूले पहिले नै बुझेका रहेछन् । बंगारा चलाउनका लागि उनीहरूले पहिला कर्ची चपाए तर अहिले ब्रस त चपाउन मिल्दैन । त्यो त घोट्ने मात्र भयो ।

हाम्रा मान्छेले पहिले घोट्ने होइन है चपाउनुपर्छ भने । पछि घोटे । मधेसमा त दाँत माझ्दै जाँदाखेरि दाँतलाई थिच्नुपर्ने रहेछ । त्यो थिच्दा दाँत बाहिरपट्टि निस्कने डर हुँदैन । अर्थात् छ्वाके हुने संभावना कम हुनेरहेछ । अहिले दाँत बाँध्ने मान्छेहरूको जमात छ । त्यो जमातलाई औषधि गर्ने तरिका मधेसमा रहेछ ।

हाम्रो चिन्तनमा त बिहानै दाँत माझ्नुपर्छ भन्ने हो । बिहान दाँत माझ्ने गर्दा दाँत कमजोर हुन्छ, कमजोर दाँतलाई थिचिदिने हो भने पनि त्यो साइजमा आउँछ । अहिलेको मेडिकल साइन्स वा पश्चिमाहरूले भने खाएपछि मात्र दाँत माझ्नुपर्छ । बिहान माझ्नुहुँदैन । जबकि हाम्रो चिन्तन त बढो ठीक थियो । किनभने बिहानै दाँत माझ्दा कर्ची चपाउनाले बंगारा ठीक हुन्छ । थिच्दा दाँत बाहिर निस्कने संभावना घट्छ । सफा पनि हुन्छ ।

हिजोकै ब्रस आज पनि दलेकै छ, भोलि पनि दलेकै छ । फेरि मेडिकल डक्टरहरूले के भनेका छन् भने, तीन महिनाभन्दा बढी एउटा ब्रस चलाउनुहुँदैन । हामी त कति वर्षसम्म त्यही रूखको हाँगो काट्दै दाँत मझ्ने मान्छे हौँ नि त । फेरि अहिले बनाएको प्लास्टिकको ब्रसले त प्रकृतिलाई गडबड गर्छ ।

हामीले त काठ ल्याउँथ्यौँ र त्यही उपयोग गर्ने गर्थ्यौं । त्यसो हुँदा प्रकृतिसँग नजिक पनि थियौँ र यो उपायबाट हाम्रा मान्छेहरूले दाँतको सफाइ गर्थे ।

मुस्लिमहरूको ढंगलाई हेर्दा झन् अचम्मको छ । उनीहरूको चलन पनि अचम्मको छ । नमाज पढ्ने बेलामा उनीहरू बजु गर्छन । त्यो भनेको कहाँदेखि कतिसम्म धुनुपर्छ भन्ने हो । हातमा कति धुने ? कुहिनादेखि तलपट्टि कति धुने ? अर्थात् घुँडाभन्दा तल धुने, मुखमा माथिल्लो घाँटीदेखि लिएर दाँत धुने । दाँतको पल्लो छेउसम्म कहीँ केही अड्केको छ भने त्यो सफा गर्ने, जिब्रोलाई खकाल्नुपर्ने ।

हामीलाई त पश्चिमी हावा लागेको हुनाले ख्वाकखुक गर्नुहुँदैन भन्ने गर्छाैं । त्यसो गरेर जिब्रो खकाल्नुहुँदैन भन्ने गरेका छौँ । अहिले के भन्ने गरेका छौँ भने, जिब्रोमा धेरैभन्दा धेरै किटाणु बस्छन् । त्यसैले बेलाबेलामा सफा गर्नुपर्छ । हिजो त हामीले जिब्री लगाउने गर्थ्यौं । त्यो जिब्री केही नभए बाँसकै वा पैलेटीकै हुन्थ्यो । त्यो किसिमको जिब्रीको चलन बजारी जिब्री आएपछि बन्द भयो ।

शास्त्रीय ज्ञान हामीसँगै रहेछ । त्यो ज्ञान विस्तारै हामीले मार्‍यौँ । उल्टै नेपालीले त हात धुन पनि राम्रोसँग जान्दैनन् भन्यौँ । भनायौँ । यस अर्थमा हामीले नचाहिने कुरा गर्‍यौँ ।

बजारी जिब्रीले दाँतलाई असर पर्‍यो, जिब्रोलाई असर पर्‍यो भनेर त्यो जिब्री हरायौँ । अहिले आएर जिब्रो सफा गर्नुपर्छ भन्ने चिन्तन बजारमा आयो । हाम्रा मान्छेहरूले कानलाई सफा गर्ने कनकर्नाे चलाए । विज्ञले हुँदैन भने ।

हामीले नाक सफा गर्न एउटा नाकको प्वालबाट पानी राखेर अर्को नाकको प्वालबाट बाहिर निकाल्नुपर्छ भन्ने सिक्यौँ । सिकायौँ । धोती प्रक्रिया । हाम्रा मान्छेहरूलाई यो प्रक्रिया सिकाइएको थियो । मुस्लिमहरूलाई पनि बजु गर्दा त्यही कुरा सिकाइएको थियो । 

दुई दाँतको बीचमा भएको दाँते गुहु कोट्टयाएर घाउमा अलिकति टाँसिदिने चलन चल्ती थियो । त्यो औषधि हुनेरहेछ । अहिले वैज्ञानिकहरूले के भनेका छन् भने, बिहानै मुख नधोईकन पानी खानुहोस् । बिहान खाएको पानी असाध्य राम्रो हुन्छ किनभने र्‍यालमा पर्याप्त मात्रामा शरीरलाई चाहिने पोषक तत्त्वहरू हुन्छन । यसरी हेर्दा हाम्रा मान्छेहरूले के गडबड गरेका थिए त ? उल्टै हामीले गरेको कुरालाई होइन है यो त भनिदियौँ ।

हात धुनलाई एनजीओ, आइएनजीओहरूले विभिन्न तरिका सिकाए जबकि हाम्रा धार्मिक किताबहरूमा पनि हात धुने तरिकाहरू लेखिएका छन् । तिनमा लेखिएका छन्, दिसा धुनुपर्‍यो भने सात पटक खाली पानीले मात्र दिसा धुनुपर्छ । त्यसपछि फेरि हातमा तीन पटक माटोमा दलेर धुनुपर्छ अनि हावामा सुकाउनुपर्छ । किनभने हावाबाट पनि हात सफा हुन्छ ।

यसको अर्थ हो, शास्त्रीय ज्ञान हामीसँगै रहेछ । त्यो ज्ञान विस्तारै हामीले मार्‍यौँ । उल्टै नेपालीले त हात धुन पनि राम्रोसँग जान्दैनन् भन्यौँ । भनायौँ । यस अर्थमा हामीले नचाहिने कुरा गर्‍यौँ ।

हामीले आफ्ना परंपरागत संस्कारमा भएका ज्ञानहरूको खोजी गरेनौँ । आधुनिक ज्ञानसँग तुलना गरेर कुन ज्ञान ठीक छन्, कुन ठीक छैनन् भनेनौँ । उनका ज्ञानमा के ठीक, हाम्रा ज्ञानमा के ठीक ? भनेनौँ । यस कारण हाम्रा ज्ञान विस्तारै मरे । मारिए ।

आज विस्तारै त्रिकाल सन्ध्या हाम्रो निम्ति गाह्रो हुँदै गयो । किनभने पानी चिसो छ, हावापानी परिवर्तन भएको छ । त्यसो भनेपछि पश्चिमाहरूले गरेको जस्तो तातो पानी र चिसो पानीको चिन्तन जरुरी होला ।

त्यसो गरे हाम्रा पुर्खाको चिन्तन पनि मर्दैन । विकल्प पनि हामीले नै भेट्टाउँछौँ । उदाहरणका लागि पानीले दिसा धुनुपर्छ भनेर हामीले सिकाइरह्यौँ । त्यो नचाहिने कुरामध्येको हो किनभने, पानीको कमी भएको ठाउँमा के गर्छन् ? त्यहाँ ढुंगााले पुछ्दाखेरि हुँदैन भन्ने हामी को हौँ ? कागजले पुछ्दाखेरि ठीक हुन्छ भन्ने कुरा पश्चिमाले भन्यो । उसकहाँ कागज छ, त्यसैले पुछ्यो तर हामीकहाँ कागजलाई दिसा गर्ने ठाउँमा वा पिसाब गर्ने ठाउँमा राख्न पाप लाग्छ भन्ने विश्वास छ ।

त्यहीँनेर हामीले प्रश्न गरेनौँ । पश्चिमाले कागजले दिसा पुछ्दा हुने, हामीले पानी नै चाहिन्छ भन्ने किन हो ? ढुंगाले पुछ्नुहुँदैन भन्ने किन हो ? अर्थात् हामीले के जानेनौँ भने, हाम्रो आफ्नो संस्कृतिसँग जोड्दै पश्चिमा कुरा ल्याउँदै गरेको भए सहकार्य गर्न सक्ने बिन्दुहरू भेटिन्थे । त्यसो गरेको भए हामीले पश्चिमाहरूलाई पनि सिकाउँथ्यौँ । हामी पनि सिक्थ्यौँ । त्यसो गर्दा सबैलाई न्याय हुन्थ्यो भन्ने मलाई लाग्छ ।

हाम्रा मान्छेहरूलाई त्रिकाल सन्ध्याको चिन्तन छ । त्रिकाल भनेको बिहान, दिउँसो र बेलुकाको सन्ध्याको चिन्तन हो । त्यो मधेसको चिन्तन हो । जाडो छैन, पानी तातो छ । त्यसैले गर्दा कुनै समस्या थिएन हिजोको चिन्तनमा । आज विस्तारै त्रिकाल सन्ध्या हाम्रो निम्ति गाह्रो हुँदै गयो । किनभने पानी चिसो छ, हावापानी परिवर्तन भएको छ । त्यसो भनेपछि पश्चिमाहरूले गरेको जस्तो तातो पानी र चिसो पानीको चिन्तन जरुरी होला ।

त्यसो भएपछि उनका चिन्तनहरू बोकौँला । त्रिकाल सन्ध्यामा पनि तातो पानीले नुहाउने भन्ने किसिमको कुराकानी गरौँला वा तातो पानीले र चिसो पानीले नुहाउँदा शरीरमा हुने फरकहरू के हुन् त ? चिसो पानीले नुहायो भने जहाँसुकै समावेश होला, तातो पानीले नुहायो भने जहाँ पनि पाइँदैन होला ।

त्यसो भएदेखि के गर्ने भन्नेमा हाम्रा मान्छेहरूको अर्को चिन्तन रहेछ । कुनै पनि ठाउँमा पानीमा नुहाउनुपर्‍यो भने पहिले नै गएर सोझै ननुहाऊ भन्छन् । पहिले पानी छोएर आँखामा लगाऊ, त्यसपछि हातमा, त्यसपछि खुट्टामा, त्यसपछि शरीरमा छर्क । त्यति गरिसकेपछि मात्र नुहाऊ भनेका छन् ।

त्यसो हुँदा पश्चिमी भाषामा ‘एक्लामाटाइजेसन’ हुन्छ । त्यो भनेको बानी पार्दै जाने भनेको हो । शरीर विस्तारै त्यो कुरासँग बानी पर्छ । यो चलन चल्ती उनीहरूले जहाँ पनि बनाएका छन् । तर, हामीले के गर्‍यौँ भन्दा, हवात्तै गएर नुहाउने किसिमको ढंगमा पुर्‍याइदियौँ ।

त्यस्तै, हात मिलाउने हाम्रो चलन होइन । हात मिलाउँदा रोग सर्छ भन्ने ज्ञान उनमा आउँदै छ । हामी हात मिलाउन आतुर भयौँ, केटासँग, केटीसँग ।

यसरी हेर्दा हाम्रा ज्ञानहरूमा ठूलो तागत छ । नुहाउने बेलामा होस् वा मुख धुनेबेलामा होस् । अन्य कुरामा होस् । बिहानै मुख धुनुपर्ने किन हो ? भनेर पश्चिमाहरूलाई भन्यो भने उनीहरू बुझ्दैनन् किनकि बिहानै मुख धुनुपर्छ भन्ने उनीहरूको चिन्तन होइन । जुरुक्क उठेर उनीहरूले हिँड्न पनि सक्छन् र खान पनि सक्छन् । हामी मुख धुन्छौँ ।

बिहानै उठ्दाखेरि हाम्रा आँखामा कचेरा लाग्यो होला । त्यो कचेरा हामीसँग किन टाँसिएको होला ? हाम्रो भूगोलमा आद्र्रता बढी छ । उनीहरूकहाँ सुख्खा छ । त्यस्तै, हामीले कानेगुजी कनकर्नोले झिक्नुपर्छ भन्ने जान्यौँ । पश्चिमी दुनियाँमा पढेका डाक्टरहरूले भने होइन, कनकर्नो प्रयोग गर्नु पनि हँुदैन । उनीहरूले कान बिग्रिन्छ किन भने भन्दा सुख्खा हावापानीमा कानेगुजी स्वतः झर्छ । हाम्रो त चिसो हावा, पानीमा आद्र्रता छ । त्यसले हाम्रो कानेगुजी डल्लो पर्छ । डल्लो पर्ने कानेगुजी निकाल्न त कनकर्नो नै चाहियो ।

अहिले डाक्टरहरूले तपाईं कनकर्नाे नचलाउनुहोला, हामीकहाँ आउनुुहोस्, हामी पानी हालेर कान सफा गरिदिन्छौँ भन्छन् ।  हाम्रा मान्छेहरूले के भनेका थिए भने पानी हालेर सफा गर्नुहुँदैन । कनकर्नोले सफा गर्नुपर्छ । पानी राख्दा कानमा समस्या हुन्छ भनेर हामी कान उल्टोपुल्टो पार्ने गर्थ्यौं ।

यो स्थितिमा मैले के देख्छु भने, पश्चिमी ज्ञानले हामीलाई धेरै खायो । पूर्वीय ज्ञानलाई हामीले धेरै अगाडि बढाउन सकेनौँ । न जोड्न सक्यौँ, न त खोज्न सक्यौँ । अबको संभावना हो ज्ञान जोड्ने र खोज्ने । त्यसैमा मानव जातिको कल्याण छ ।