भरतपुर अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामीलाई  उपचार कक्ष

भरतपुर अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामीलाई  उपचार कक्ष

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  माघ १९, २०७६

भरतपुर । भरतपुर अस्पतालमा बहिरङ्ग सेवामा उपचारका लागि आएका रुघाखोकी र ज्वरोका बिरामीलाई टिकट काट्ने र स्वास्थ्य परीक्षण गर्ने ठाउँ पाँच वटा टिकट काउण्टरमध्येको एउटा काउण्टरमा त्यस्ता बिरामीको टिकट काट्ने र छुट्टै कक्षमा परीक्षण गराउने व्यवस्था मिलाएको छ । 

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सोमबारदेखि अस्पताल छिर्ने रुघाखोकी र ज्वरोका बिरामीलाई सबै परीक्षण अलगरुपमा गर्ने व्यवस्था मिलाइएको छ । कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने भन्दै उच्च सतर्कता अपनाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिनुभयो । 

उपचारसँगै सचेतनामा पनि अस्पताल जुटेको छ । कोरोना भाइरसको सङ्क्रमण हुन नदिन सचेतना जगाउने उद्देश्यले आज अस्पताल परिसरमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले मास्क लगाएर नमस्कार गर्दै सन्देश प्रवाह गरेका छन् । कार्यालय समय शुरु हुने समयमा बिहान १० बजे पछि सबै अस्पताल बाहिर भेला भएर एकै साथ मुखमा मास्क लगाएर दुई हात जोडी नमस्ते गरेका थिए । 

सो अवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट तिवारीले हात नमिलाऔँ दिल खोलेर नमस्ते गरौँ भन्ने आम नागरिकलाई सन्देश प्रवाह गर्न छोटो कार्यक्रम गरिएको बताउनुभयो । बिरामीको उच्च चाप हुने समयमा सबैलाई सचेतना जगाउने गरी भिडभाडमा मास्क लगाउन र हात नमिलाउन सन्देश प्रवाह भएको उहाँले जानकारी दिनुभयो । 

आफूलाई जचाउने चिकित्सक कर्मचारी नै उभिएर नमस्ते गरेपछि उपचारका लागि आएका बिरामी र तीनका आफन्तले अस्पतालको दृश्य हेरेर त्यसको कारणबारे सोधपुछसमेत गरेका थिए । प्रमुख तिवारीले चिकित्सक, कर्मचारीलाई उपचारका क्रममा उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । 
 
अस्पतालमा पाँच श्ययाको विशेष (आइसोलेसन) कक्ष स्थापना गरिसकिएको छ । अस्पतालका दुई जना विशेषज्ञ फिजिसियनलाई सो कक्षको जिम्मेवारीसमेत दिइएको छ । अस्पतालले त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसँग कोरोना भाइरसका विषयमा विशेष अन्तक्र्रियासमेत गर्ने जनाएको छ ।   

केन्द्रीय अस्पतालका रुपमा रहेको भरतपुर अस्पतालमा चितवनसहित १९ भन्दाबढी जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । गत वर्ष तीन लाखभन्दा बढी बिरामीले अस्पतालबाट सेवा लिएका थिए । हाल दैनिक एक हजार २०० हाराहारी बिरामी बहिरङ्ग सेवामा उपचारका लागि आउने गर्दछन् । यसमध्ये झण्डै ७० जना  रुघाखोकी र ज्वरोको हुने गरेको अस्पतालले जनाएको छ ।