सवारी दुर्घटनामा ९ जनाको ज्यान गयाे

सवारी दुर्घटनामा ९ जनाको ज्यान गयाे

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १९, २०७६

काठमाडौं । सर्लाही, चितवन, बाँके, सप्तरी, काठमाडौं र बर्दीयामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । 

सर्लाही, गोडैता नगरपालिका–७ मोहन चोकमा हाल नम्बरको नखुलेको गाडीले आइतबार बिहान बीआर ३० एच ६७९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक मलंगवा नगरपालिका(२ बस्ने २० वर्षीय उपेन्द्र सोनारको घटनास्थलमै तथा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय राजेन्द्र यादवको जिल्ला अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै सर्लाही, लालबन्दी नगरपालिका–१६ भोर्लेनीस्थित सडकमा शनिबार साँझ ना.१९ प २१६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही स्थान बस्ने ७० वर्षीया जोक कुमारी थापाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी थापाको लालबन्दीस्थित हेल्थ केयर प्रालिमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

चितवन, खैरहनी नगरपालिका–३ तरकारी चोकमा ना.७ ख ३२४८ नम्बरको बसले ना.६ ख १५०६ नम्बरको ट्रकलाई ठक्कर दिई आइतबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका बसमा सवार महोत्तरी बृर्ता नगरपालिका बस्ने ८ महिनाको सत्यम मण्डलको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ५ जनाको नयाँ मेडिकल कलेज र ४ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई फरार रहेका बस चालकको खोजी गरिरहेको छ । 

यसैगरी चितवन, रत्ननगर नगरपालिका–३ तरकारी चोकमा बा.४ ख ९५०९ नम्बरको बसले ना.३९ प १९२४ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुषको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिई हाल फरार रहेका उक्त बसका चालकको खोजी कार्य गरिरहेको छ । 

बाँके, बैजनाथ गाउँपालिका–५ न्यू सिटिस्थित सडकमा शनिबार राति बा.१५ च ७४६१ नम्बरको जिपको ठक्करबाट हाल नाम,थर,वतन नखुलेका पुरुष साईकल यात्रीको मृत्यु भएको छ । गम्भीर घाइते भएका ती पुरुषको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सप्तरी, रुपनी गाउँपालिका–१ स्थित सडकमा ना.७ ख ५७०३ नम्बरको बसले ना.५० प ८६२६ नम्बरको मोटरसाइकललाई शनिबार बेलुका ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका करिब २० वर्षीय पुरुषको युनिक अस्पताल रुपनी हुँदै थप उपचारको लागि विराटनगरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका करिब २२ वर्षीय पुरुषको युनिक अस्पताल रुपनीमा उपचार भईरहेको छ । बस, बस चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं, काठमाडौं महानगरपालिका–१४ कलंकी खसीबजारस्थित सडकमा बा.४ ख ३६६९ नम्बरको टिपरमा बा.६६ प ४४९० नम्बरको मोटरसाइकल पछाडीबाट ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका मच्छेगाउँ बस्ने ३० वर्षीय शैलेस बस्नेतको उपचारको लागि बयोधा अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै फरार रहेका टिपर चालकको खोजी कार्य गरिरहेको छ ।  

बर्दिया, बढैयाताल गाउँपालिका–७ पचासास्थित सडकमा भे.१ ख १६९४ नम्बरको बसले भे.१० प ३१५१ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही गाउँपालिका–७ बस्ने ३६ वर्षीया कृष्णा महतको नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बाँसगढी नगरपालिका–१ बस्ने ३७ वर्षीय कुल प्रसाद शर्माको उपचार भईरहेको छ । फरार रहेका बस चालकलाई प्रहरीले खोजी गरिरहेको छ । 

दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले उद्धार एवम् दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।